धरहरा उद्घाटन मात्रै सिमित, निर्माण सम्पन्न हुन अझै एक वर्ष लाग्ने।

काठमाडौं:= भूकम्पबाट भत्किएको ऐतिहासिक सम्पदा धरहराको उद्घाटन गरेको एक वर्ष पूरा भइसक्दा पनि अझै सञ्चालनमा आउन सकेको छैन ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गत वर्ष वैशाख २०७८ साल ११ गते नै धरहराको उद्घाटन गरेको थियो । धरहराकाे हतारमा उद्घाटन गरेका कारण अहिलेसम्म पनि सर्वसाधारणका लागि खुला हुन सकेको छैन ।

धरहरा पुनर्निर्माण अन्तर्गत अहिले पनि रंगरोगन, लाइटिङलगायतका काम जारी रहेको छ । धरहराको अन्डरग्राउन्ड पार्किङसमेत सम्पन्न हुन सकेको छैन। धरहराको टावरमुनि तीनतले भूमिगत पार्किङ बनाउने काम भइरहेको छ ।

खिचापोखरीबाट टुँडिखेल जोड्ने सडक निर्माणको नयाँ योजना पनि रहेको छ । जसको काम पनि बाँकी छ। बगैंचा, पार्क निर्माणको काम समेत बाँकी रहेको छ। निर्धारित समयमा पुनर्निर्माण सम्पन्न नभएपछि उद्घाटन गरेको एक वर्षपछि धरहराको पुनर्निर्माण म्याद फेरि करिब एक वर्ष थप्न लागिएकाे छ ।