काठमाडौं := निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारलाई उम्मेदवारी फिर्ता गर्न चाहेको अवस्थामा आज अपरान्ह ५ बजेभित्र फिर्ता गर्ने समय दिएको छ ।
यही बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि गत आइतबार र सोमबार मनोनयन दर्ताको लागि आह्वान गरेको आयोगले फिर्ता गर्न चाहनेले आजसम्म उम्मेदवारी फिर्ता लिन सक्नेछन् । ७ सय ५३ पालिकाका ३५ हजार दुई सय २१ पदमा एक लाख ५३ हजार एक सय ६७ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।
मेयर पदका लागि तीन हजार पाँच सय १८, अध्यक्षका लागि तीन हजार तीन सय ९२, उपमेयरका लागि दुई हजार एक सय ७४, उपाध्यक्षका लागि दुई हजार चार सय सात, वडाध्यक्षका लागि ३५ हजार तीन सय ८७, महिला सदस्यका लागि २६ हजार पाँच सय ५८, दलित महिला सदस्यका लागि २३ हजार नौ सय ५९ र सदस्यका लागि ५५ हजार सात सय ७२ जनाको उम्मेदवारी दर्ता भएको छ । धेरै ठाउँमा स्वतन्त्र उम्मेदवारी परेको छ ।
पार्टीले उठाएका नाममा चित्त नबुझेपछि बागी उम्मेदवारी दिनेहरु धेरै छन् । बागी उम्मेदवारलाई फकाउन नेतृत्वले कसरत गरिरहे पनि केही ठाउँमा मात्रै उम्मेदवारले मनोनयन फिर्ता लिएका छन् । मनोनय दर्ता फिर्ता गर्ने समय सकिएलगत्तै आयोगले उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगको तयारी छ ।
आयोगले उम्मेदवारीमाथि परेका दाबी विरोध तथा उजुरीमाथि जाँचबुझ गरेर बिहीबार साँझ नै प्रारम्भिक नामावली प्रकाशन गरेको थियो । पूर्वनिर्धारित कार्यतालिका अनुसार आयोगले भोलि अर्थात बैशाख १७ गते उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ ।



















