म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलाई थप पाँच वर्षको जेल।

यांगुन:= म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलाई थप पाँच वर्षको जेल सजाय सुनाइएको छ । सेनाले शासन चलाइरहेको म्यानमारको एक अदालतले प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलाई थप पाँच वर्षको जेल सजाय सुनाएको हो।

अदालतले भ्रष्टाचारको आरोपमा ७६ वर्षीया सुकीलाई दोषी ठहर गर्दै उक्त जेल सजाय सुनाएको बताइएको छ । यससँगै सुकीको समग्र जेल सजाय ११ वर्ष पुगेको छ । यसअघि गत डिसेम्बरमा सुकीलाई कोभिड-१९ विरुद्धको नियम उल्लंघन गरेको आरोपमा ६ वर्षको जेल सजाय सुनाएको थियो।

सुकीमाथि नगद र सुनमार्फत करिब ६ लाख डलरबराबरको घुस लिएको आरोप छ । सुकीलाई न्यपेतस्थित अदालतले बन्द कोठाभित्रको सुनुवाइपछि उक्त सजाय सुनाएको हो।

अझै पनि सुकीमाथि थप १० ओटा भ्रष्टाचारका मुद्दा छन् । जसमा उहाँलाई अधिकतम १५ वर्षसम्मको जेल सजाय हुन सक्छ । सबै मुद्दामा सुकी दोषी ठहर भएको खण्डमा उहाँलाई १९० वर्षसम्मको जेल सजाय हुन सक्ने आँकलन गरिएको छ।

सुकीमाथि विभिन्न आपराधिक गतिविधिमा संलग्न भएको भन्दै मुद्दा लगाइएको छ । यद्यपि, उहाँले सबै आरोप अस्वीकार गर्दै आउनुभएको छ।