क्यान इन्फोटेक मेलामा इन्नोभेसनको आकर्षण।

काठमाडौं:= आइएमई पे क्यान इन्फोटेक २०२२ इन एसोसिएसन विथ एससिटी स्मार्ट क्युआरमा सूचना तथा सञ्चार प्रविधिसम्बन्धी प्रोडक्ट लन्चिङ र तथा इन्नोभेसनलगायतका स्टलमा आकर्षण देखिएको छ ।

बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको क्यान इन्फोटेकको तेस्रो दिन शुक्रबार खराब मौसमका बाबजुद पनि अवलोकनकर्ताको आकर्षण देखिएको आयोजकले जनाएको छ ।  शुक्रबार कलाकार स्वस्तिमा खड्का र निश्चल बस्नेतले पनि क्यान इन्फोटेकको अवलोकन गर्नुभएको छ ।

विगतका इन्फोटेकमा कम्प्युटर, ल्यापटप, मोबाइल र अन्य आइसिटी एक्सेसोरिजका स्टलमा उल्लेख्य भिड देखिने गरेको भए पनि यसपटक ब्रान्डिङ, फिनटेक, स्टार्टअप, इन्नोभेसन तथा प्रोडक्ट लन्चिङमा अवलोकनकर्ताको आकर्षण देखिएको आयोजकले जनाएको छ ।

आयोजकका अनुसार शुक्रबार आइएमई-पे, सनवे कलेज, भायानेट, वल्र्डलिंक, नमस्ते-पे, एससिटी स्मार्ट क्युआर, डिसहोम फाइबर नेट, नेपाल क्लियरिङ हाउस (एनसिएलएल) र सफ्टवेरिका कलेज, सनराइज बैंक, ग्लोबल आइएमई बैंक र एनआइसी एसिया बैंकका स्टलमा अवलोकनकर्ताको भिड लागेको थियो ।

क्यान इन्फोटेकको २७औँ संस्करणको प्रमुख प्रायोजक आइएमई-पेले आफ्नो स्टलमा निःशुल्क भिसा कार्डका साथै आइएमई-पे वालेटमा भएको ब्यालेन्समा वार्षिक छ प्रतिशत व्याज पनि दिने व्यवस्था गरेका कारण पनि आकर्षण बढेको आयोजक संस्था कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ) का अध्यक्ष नवराज कुँवरले बताउनुभएको छ ।

दोस्रो दिन बिहीबार विभिन्न कम्पनीका सफ्टवेयर तथा कम्प्युटर उपकरण पहिलोपटक सार्वजनिक गरिएका स्टलमा अवलोकनकर्ताको भिड देखिएको थियो । दोस्रो दिन पनि स्टार्टअप र इन्नोभेसन खण्डमा रहेका २६ स्टलमा पनि आकर्षण देखिएको महासंघका महासचिव नारायण थापाले बताउनुभएको छ ।

इन्नोभेसनका लागि क्यानले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानसँग सहकार्य गरेको छ भने स्टार्टअपका लागि क्यानले सार्वजनिक सूचना निकालेरै सम्बन्धित व्यक्ति वा संस्थालाई सहभागी हुन आहृवान गर्दै प्राप्त आवेदनबाट छनोट गरिएको थियो ।