ललितपुर:= ललितपुरको पाटन औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन ग्यास प्लान्टमा विस्फोट हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य ६ जना घाइते भएका छन् । बिहीबार बिहान १० बजे आसपासको समयमा प्लान्टमा ग्यास विस्फोट भएको प्रहरीले जनाएको हो । प्राविधिक कमजोरीका कारण विस्फोट भएको बताइएको छ । घटना हुँदा मजदुरहरू सिलिण्डरमा ग्यास भरिरहेका थिए ।
मृत्यु हुनेमा प्लान्टमा कार्यरत श्रमिक ४५ वर्षीय बृजमोहन महतो र २५ वर्षीय राजकुमार महतो रहनुभएको छ । दुवै भारतीय नागरिक हुन् । बृज मोहनको घटनास्थलमा र राजकुमारको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
घटनास्थलमा प्रहरी पुग्दा मृतक महतोको शरीर क्षतविक्षत अवस्थामा फेला परेको ललितपुर प्रहरी परिसर प्रवक्ता एसपी सिद्धिविक्रम शाहले बताउनुभयो । ‘उहाँले भन्नुभयो, ‘ठूलो दुर्घटना भएको छ । मानिसको मृत्यु भएको छ । मृतकका शरीर क्षतविक्षत अवस्थामा भेटिएका छन् । हामी घटनास्थल पुग्दा अवस्था भयानक थियो । धन्न आगलागी भएन, आगलागी भएको भए कल्पना गरेको भन्दा बढी क्षति हुने देखिन्थ्यो ।’
उहाँ थप्नुहुन्छ, ‘हामी अनुसन्धानकै क्रममा छौँ, सबै कुरा अनुसन्धानपछि मात्र थाहा हुन्छ । टेक्निकल कुरा भएकाले हामीले अहिले नै यसो भयो भन्न मिल्दैन । तर, हेर्दा मानवीय त्रुटि देखिएको छ । क्षतिको यकिन गर्ने काम भइरहेको छ ।’ नेपाल प्रहरीको विपद् व्यवस्थापन टिमले सुरुवाती अनुसन्धान गरिरहेको र अनुसन्धानपछि यसको विस्तृत अनुसन्धान हुने एसपी शाहले हिमालय टाइम्सलाई बताउनुभयो ।
घाइते राजकुमारको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । अन्य घाइतेहरूमध्ये चन्द्रागिरि नगरपालिका-२ दहचोकका ४९ वर्षीय गंगाराज शर्माको पनि बिएण्डबी अस्पतालमा उपचार भइरहेको छ । यता, घटनापछि थप उपचारका लागि पाटन अस्पतालमा लगिएका सबै जनालाई बिहीबार नै डिस्चार्ज गरिएको अस्पताल प्रशासनले जनाएको छ।
घाइते हुनेमा पर्सा घर भई लुबु चागाथली बस्दै आउनुभएका ४३ वर्षीय रमेश अधिकारी, महालक्ष्मी नगरपालिका-८ का ३६ वर्षीया दुर्गा पुरी, गोदावरी नगरपालिका–९ का १९ वर्षीय सुदीप तिमिल्सेना, महांकाल गाउँपालिका-५ चन्द्रपुरका २२ वर्षीय ईश्वर बजगाई, ओखलढुंगा घर भई महालक्ष्मीस्थान बस्दै आउनुभएकी २० वर्षीया अन्जना पौडेल रहनुभएको छ ।विस्फोटबाट छिमेकीको घरहरूमा पनि क्षति पुगेको छ । बाक्लो बस्तीबीचमा रहेको प्लान्टमा भएको विस्फोटको कारण आसपासका घरहरूको सिसा फुटेको स्थानीय बताउँछन् ।
विस्फोटबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन
गृहमन्त्री बालकृष्ण खाँणले ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा भएको विस्फोटको छानबिन गर्न निर्देशन दिनुभएको छ । उहाँले गृहसचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेल र सशस्त्र प्रहरीका ललितपुर प्रमुख उपरीक्षक विकास घिमिरेलाई घटनाको छानबिन गर्न निर्देशन दिनुभएको हो । घाइतेहरूलाई तत्काल उपचारको व्यवस्था मिलाउन पनि गृहमन्त्री खाँणको निर्देशन दिनुभएको छ ।
त्यस्तै, दुर्घटनास्थलको निरीक्षणका लागि पुग्नुभएका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले मृतकको परिवारले पाउने राहत सरकारले तत्काल दिने बताउनुभयो । उहाँले घाइतेलाई सरकारले उपचार गर्ने पनि प्रतिबद्धता जनाउनुभयो । मन्त्री बडूले अक्सिजन भर्ने क्रममा यसरी विस्फोट हुनु साधारण नभएको भन्दै यसलाई गहन अनुसन्धान गर्ने बताउनुभयो । उहाँले सरकारले यो विषयलाई प्राथमिकताका साथ राखेर प्राविधिकहरूलाई बोलाएरै अनुसन्धान गर्ने बताउनुभयो ।




















