‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सम्पन्न, टुल्कीलाई उत्कृष्ट फिचर फिल्मको अवार्ड।

काठमाडौं:= तीन दिने ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सम्पन्न भएको छ । गोरखा जिल्लाको दुर्गम मानिने धार्चे गाउँपालिका–४ लाप्राकमा सोमबारदेखि सुरु भएको महोत्सव बुधबार सकिएको हो । सेलिब्रेटी नेपालको आयोजनामा महोत्सवमा विभिन्न भाषामा बनेका सांस्कृतिक चलचित्र, वृत्तचित्र, सर्टमुभी, फिचर फिल्मसमेत गरी १६ वटा फिल्म प्रदर्शन गरिएको थियो ।

महोत्सवमा जुरी टिमले छनोट गरेका उत्कृष्ट ९ विधामा अवार्डसमेत वितरण गरियो । जसमा भाषाभाषी विधामा प्रितम गुरुङ निर्देशित तथा आइतराम गुरुङ निर्मित गुरुङ चलचित्र ‘फुङ’लाई अवार्ड प्रदान गरियो । त्यस्तै, डकुमेन्ट्री विधामा भीमलाल श्रेष्ठ निर्देशित ‘मकै विवाह’ले अवार्ड प्राप्त ग¥यो भने सर्टफिल्ट विधामा केदार श्रेष्ठ निर्देशित ‘जुनुको जुत्ता’ले अवार्ड जित्यो ।

सर्वोकृष्ट अभिनेतामा ‘चिसो आत्मा’बाट प्रवीन खतिवडा र अभिनेत्रीतर्फ ‘मौन प्रतिशोध’बाट शारदा अधिकारीले अवार्ड प्राप्त गर्नुभयो । उत्कृष्ट फिचर फिल्मतर्फ शेखर लामाको निर्माण तथा देवजंग थापा निर्देशत ‘टुल्की’ले अवार्ड प्राप्त गर्‍यो ।

‘स्क्रिन प्ले’तर्फ ‘टुल्की’बाटै शेखर लामा, उत्कृष्ट निर्देशकतर्फ ‘टिष्टापारीको साईनो’बाट खिलबहादुर गुरुङले अवार्ड प्राप्त गर्नुभयो । सिन सुमेश श्रेष्ठ निर्देशित सर्टफिल्म ‘मौन प्रतिशोध’लाई जुरी अवार्ड प्रदान गरियो । महोत्सवमा स्थानीयसँग ग्रामीण चलचित्रसम्बन्धी अन्तक्र्रियासमेत गरिएको थियो । महोत्सवका स्थानीय व्यवस्थापक राज गुरुङ, सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटा, अभिनेता गजित विष्ट, अभिनेत्री पनाह अधिकारीलगायतले उत्कृष्टलाई ट्रफी वितरण गर्नुभएको थियो ।

कलाकार रविन्द्र खड्का, लेखक एवं निर्देशक शिवम अधिकारी, सम्पादक शिव पुरी, साउण्ड एडिटर किशोर आचार्य, पत्रकार तथा निर्देशक लक्ष्मण सुवेदी महोत्सवको जुरी टिममा रहनुभएको थियो । ३५ चलचित्रमध्ये जुरी टिमले छनोट गरेका उत्कृष्ट ९ विधामा अवार्ड वितरण गरिएको हो ।

नेपाल चलचित्र विकास बोर्डसँगको सहकार्य रहेको महोत्सवको सहाअयोजकमा ‘भ्वाइस अफ नेपाल म्युजिक इण्डष्ट्रिज’ रहेको थियो । महोत्सवको डिजिटल पार्टनर डिएआर डिजिटल छ । आयोजकका अनुसार १ हजारभन्दा बढी दर्शकले महोत्सवको प्रत्यक्ष अवलोकन गरेका थिए ।