सत्ता गठबन्धन केन्द्रमा सहमति, स्थानीय तहमा कार्यकर्तामा विमति,आन्दोलित।

[ अनिल क्षेत्री ] 

काठमाडौं:= तीन दिनको लगातारको प्रयासपछि सत्तारूढ पाँच दलीय गठबन्धनले आसन्न स्थानीय तह निर्वाचनका लागि महानगर र उपमहानगरको भागबण्डा टुंगो लगाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको शीर्ष नेतासहित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको संयुक्त बैठकले ६ महानगर र ११ उपमहानगरका प्रमुख र उपप्रमुखको भागबण्डा टुंगो लगाएको हो ।

सत्तारूढ गठबन्धनका दल नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाबीच भएको भागबण्डाको लिखित सहमतिअनुसार कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरको प्रमुख तथा वीरगञ्ज, पोखरा र भरतपुर महानगरको उपमेयर पदमा उम्मेदवारी दिनेछ ।

माओवादी केन्द्रले भरतपुर महानगरको मेयर र ललितपुर महानगरको उपमेयरमा गठबन्धनबाट उम्मेदवारी दिने सहमति भएको छ । नेकपा एकीकृत समाजवादीले पोखरा महानगरको मेयर र काठमाडौं महानगरको उपमेयर पाउने सहमति भएको छ । जनता समाजवादी पार्टीले वीरगञ्जको मेयर र विराटनगरको उपमेयर पदमा गठबन्धनबाट उम्मेदवारी दिने सहमति भएको छ ।

गत निर्वाचनमा काठमाडौं महानगरमा नेकपा एमालेले मेयर र कांग्रेसले उपमेयर जितेको थियो । ललितपुर महानगरमा मेयर र उपमेयर दुवै कांग्रेसले जितेको थियो भने पोखरा महानगरको मेयर र उपमयेर दुवै एमालेले जितेको थियो । वीरगञ्ज महानगरको मेयर तत्कालीन संघीय समाजवादीले जित्दा नेपाली कांग्रेसले उपमेयर जितेको थियो ।

२०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा चितवनको भरतपुर महानगरको मेयर माओवादी केन्द्रले जितेको थियो भने उपमेयर कांग्रेसले जितेको थियो । विराटनगर महानगरको मेयर र उपमेयर दुवै कांग्रेसले जितेको थियो ।

उपमहानगरतर्फ नेपाली कांग्रेसले धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढी गरी सात उपमहानगरको मेयर तथा जितपुरसिमरा, घोराही र हेटौँडा उपमहानगरको उपमेयर पद लिने सहमति भएको छ। नेकपा माओवादी केन्द्रले जितपुरसिमरा र घोराहीको मेयर तथा धरान र धनगढी उपमहानगरको उपमेयर पद लिने सहमति भएको छ।

गठबन्धनबीच नेकपा एकीकृत समाजवादीले हेटौँडाको मेयर तथा इटहरी, बुटवल र तुलसीपुरको उपमेयर पद लिने सहमति भएको छ । जनता समाजवादी पार्टीको भागमा जनकपुर उपमहानगर तथा कलैया र नेपालगञ्जको उपमेयर पद लिने सहमति भएको छ । गठबन्धनको घटक राष्ट्रिय जनमोर्चाले भने महानगर र उपमहानगरमा दाबी गरेको थिएन ।

सहमतिपछि गठबन्धनका शीर्ष नेताहरूले संयुक्त विज्ञप्ति जारी गर्नुभएको छ । पाँच दलीय गठबन्धनले यसअघि जारी गरेको मापदण्ड, सहमतिको मर्म र भावनाअनुरूप सम्बन्धित समितिहरूको बैठक बसेर अविलम्ब सिट बाँडफाँट तथा उम्मेदवारहरूको चयन गर्न पनि निर्देशन दिएको छ । साथै, सहमति बन्न नसकेको अवस्थामा पाँच दलीय गठबन्धनभित्रै मित्रवत् प्रतिस्पर्धा गर्न सकिनेसमेत गठबन्धनमा सहमति भएको छ ।

सहमति पत्रमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गर्नुभएको छ । गठबन्धनले केन्द्रमा गरेको भागबण्डाप्रति नेपाली कांग्रेसभित्र भने चर्को असन्तुष्टि देखिएको छ ।

कांग्रेसभित्र चर्को असन्तुष्टि

सत्तारूढ गठबन्धनले केन्द्रमा महानगर र उपमहानगरमा भागबण्डा मिलाए पनि गठबन्धनको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसभित्र चर्को असन्तुष्टि देखिएको छ । भरतपुर, पोखरा, हेटौँडा लगायतबाट नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता काठमाडौं आएर पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर नेता तथा कार्यकर्ताको भावनाविपरीत निर्णय नगर्न दबाब दिएका थिए । तर, गठबन्धनले नेपाली कांग्रेसका स्थानीय पार्टी पंक्तिको भावनाविपरीत निर्णय गरेको भन्दै आक्रोशित भएका छन् ।

माओवादीका उम्मेदवारलाई सहयोग नगर्ने घोषणा

सत्ता गठबन्धनमा भरतपुर महानगरपालिकाको मेयर माओवादी केन्द्रलाई दिने निर्णय भए पनि नेपाली कांग्रेस चितवनका नेताहरूले भने भरतपुरमा कांग्रेसले माओवादी केन्द्रलाई सहयोग नगर्ने चेतावनी दिएका छन् । गत स्थानीय तह निर्वाचनमा भरतपुर महानगरको प्रमुखमा उम्मेदवारी दिनुभएका केन्द्रीय सदस्य दिनेश कोइरालाले कुनै पनि हालतमा माओवादीलाई प्रमुखमा समर्थन गर्न नसकिने अभिव्यक्ति सार्वजनिक गरी सक्नुभएको छ ।

भरतपुरको नेतृत्व माओवादीलाई दिने निर्णय सार्वजनिक भएपछि प्रतिक्रिया दिँदै कोइरालाले भन्नुभयो, ‘कांग्रेसले भरतपुरको मेयरमा माओवादीलाई समर्थन गर्दैन । चितवनका जनता तथा कांग्रेसका समस्त कार्यकर्ताको विचार र भावनालाई केन्द्रमा राखेर भरतपुर महानगरका सबै वडा समितिले मेयरमा कांग्रेसकै उम्मेदवार हुनुपर्छ भन्ने निर्णय गरिसकेको छ ।

कांग्रेस भरतपुरका २९ वटै वडा, महानगर कार्यसमिति र चितवन जिल्ला कार्यसमितिले समेत चितवनमा मेयर कांग्रेसले पाउनुपर्ने निर्णय लिएका छन् । त्यसैले कांग्रेसले नै भरतपुरको मेयर पदमा उम्मेदवारी दिन्छ । कांग्रेस केन्द्रले पनि चितवनका समस्त कांग्रेसजन र आम जनताको विचार तथा भावनाविपरीत अन्य पार्टीलाई मेयरमा समर्थन गर्न सक्दैन ।’

कास्की जिल्ला पार्टी कार्यालयमा तालाबन्दी, आफ्नै उम्मेदवार उठाउने चेतावनी

सत्तारूढ गठबन्धनमा भागबण्डा मिलाउने क्रममा पोखरा महानगरको नेतृत्व नेकपा एकीकृत समाजवादीलाई दिने निर्णय गरेपछि नेपाली कांग्रेस पोखरा महानगर समिति आन्दोलनमा उत्रिएको छ । केन्द्रको निर्णयविरुद्ध बुधबार बिहान पोखरा महानगर समितिले चिप्लेढुंगास्थित जिल्ला कार्यालयमा तालाबन्दी गरेका छन् ।

पोखरा महानगर समितिका सचिव गणेश थापाले मेयर र उपमेयर पदका उम्मेदवारको छनोट प्रक्रियामा रहेको उल्लेख गर्दै महानगरसमितिले पोखराको मेयर र उपमेयरसहित सबै वडामा आफ्नै उठाउने तयारी गरेको जानकारी दिनुभयो ।

कांग्रेस गण्डकी प्रदेश कार्यसमितिका सभापति शुक्रराज शर्माले पोखरामा एकीकृत समाजवादीलाई प्रमुख दिने निर्णय अप्रिय प्रतिक्रिया दिँदै भन्नुभयो, ‘यस्तो निर्णयले पार्टीको संगठन मात्रै नभएर प्रजातन्त्रलाई सिध्याउने खतरा हुन्छ । कांग्रेसले कम्युनिष्टहरूलाई साथमा लिएर हिँड्नुपर्नेमा कम्युनिष्टहरूले कांग्रेसलाई साथमा लिएर हिँडेका छन् । योभन्दा दुर्भाग्य अरू हुन सक्दैन ।’

वीरगञ्ज महानगरमा बागी उम्मेदवारी दिने कांग्रेसको तयारी

सत्तारूढ गठबन्धनमा वीरगञ्ज महानगरपालिका जनता समाजवादी पार्टी (जसपा)लाई दिने निर्णय भएसँगै नेपाली कांग्रेसका वीरगञ्जका नेता तथा कार्यकर्ताले चर्को असन्तुष्टि जनाएका छन् । २०७४ को निर्वाचनमा करिब दुई हजार मतान्तरले नगर प्रमुखमा पछि परेको कांग्रेस यसपटक मुख्य दाबेदार मानिएको थियो ।

कांग्रेसका केन्द्रीय सदस्य अजय द्विवेदीले गठबन्धनले गरेको निर्णय आफूहरूलाई स्वीकार नरहेको प्रतिक्रिया दिनुभएको छ । सत्तारूढ गठबन्धनले केन्द्रमा गरेको निर्णयले वीरगञ्ज महानगरपालिकामा रहेको कांग्रेसका मतदाताको अपमान भएको भन्दै नेता द्विवेदीले भन्नुभयो, ‘वीरगञ्ज महानगरपालिकामा रहेको कांग्रेसका मतदाताको अपमान भएको छ ।

आफूहरू चाँडै बसेर यसको बारेमा कुनै निर्णय लिन्छौँ । जिल्ला तथा महानगर कमिटीले समेत केन्द्रलाई कांग्रेसले एक्लै चुनाव लड्न तयार छ, र चुनाव जित्छ भन्ने जानकारी गराएको थियो । तर, यस्तो निर्णय आएको छ, यसले हामीलाई मर्माहत बनाएको छ ।’ यसअघि जसपाका जिल्ला अध्यक्ष र कांग्रेसका सभापतिबीच मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति भएको थियो ।

मेयर नपाए एकल उम्मेदवारी दिने हेटौँडा कांग्रेसको चेतावनी

स्थानीय तहको निर्वाचनमा हेटौँडा उपमहानगरपालिकाको मेयरको उम्मेदवार एकीकृत समाजवादीले लिने सत्तारूढ गठबन्धनको शीर्ष नेताको सहमतिप्रति नेपाली कांग्रेसको हेटाँैडा नगर समितिले चर्को विरोध गरेको छ । केन्द्रको सहमतिले नेपाली कांग्रेसका कार्यकर्ताको भावनामा ठेस पुगेको, गठबन्धनको आवश्यकता र औचित्य पूरा हुन नसक्ने भन्दै नगर समितिले निर्णयलाई पुनरावलोकन गरी कांग्रेसले मेयर पद पाउने गरी सहमति गर्न माग गरेको छ ।

यो निर्णयको पुनरावलोकन नभएमा हेटौँडामा गठबन्धनका दलहरूसँग मित्रवत प्रतिस्पर्धा गर्ने कांग्रेसले दाबी गरेको छ । हेटौँडा उपमहानगरपालिका समितिका नगर सभापति उत्सव इटनीले बुधबार विज्ञप्ति जारी गरी नगरसमितिका पदाधिकारी र सबै वडाका सभापतिको बैठकले मेयरको टिकट नपाए गठबन्धनका दलहरूसँग कांग्रेस मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गरेको जानकारी दिनुभएको छ ।

तर, नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले केही नेता मेयर छाड्न तयार नदेखिए पनि केन्द्रमा हुने निर्णयको कार्यान्वयन हुने जिकिर गर्नुभएको छ । केन्द्रको निर्देशनअनुसार जिल्ला, स्थानीय तह र वडा तहमै गठबन्धनको संयन्त्र तयार गरिएको जानकारी दिँदै लामाले भन्नुभयो, ‘केन्द्रीय निर्देशनअनुसार हामी अगाडि बढ्नेछौँ । गठबन्धनमा कुनै समस्या हुनेछैन ।’

जसपामा पनि असन्तुष्टि

सत्तारूढ पाँच दलीय गठबन्धनको एक घटक जनता समाजवादी पार्टी (जसपा)भित्र पनि असन्तुष्टि देखिएको छ । गठबन्धनले नेपालगञ्ज उपमहानगरपालिका नेपाली कांग्रेसलाई दिने निर्णय गरेसँगै असन्तुष्ट बनेका जसपाका स्थानीय नेता कार्यकर्ताले पार्टी परित्याग गर्ने तयारी थालेका छन् ।

जसपा बाँके जिल्ला अध्यक्ष तथा नेपालगञ्ज उपमहानगरका मेयरका आकांक्षी कमरुद्दिन राईले पार्टीले केन्द्रबाट मनोमानी ढंगले निर्णय गरेको आरोप लगाउँदै भन्नुभयो, ‘हामी गठबन्धन मान्दैनौँ, चुनाव लड्छौँ ।

पार्टीले मान्दैन भने हामी फरक चुनाव चिन्ह लिएर पूरै बाँके जिल्लामा प्रतिस्पर्धा गर्छौं, जसले पार्टीको तर्फबाट निर्णय गर्नुभएको छ, उहाँहरू आफ्नो तरिकाले अघि बढ्नुहुन्छ होला । हाम्रो जिल्लाका नेता कार्यकर्ता मान्दैनन् । हामी मान्दैनौँ ।’ अध्यक्ष राईले शुक्रबार बिहान जिल्लामा रहेका सबै पालिका अध्यक्ष र वडा अध्यक्षलाई राखेर पत्रकार सम्मेलन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

गठबन्धनविरुद्ध जानेमाथि कडा कारबाही हुने नेता खाँणको चेतावनी

गृहमन्त्रीसमेत रहनुभएका पार्टी सभापति शेरबहादुर देउवाका निकट केन्द्रीय सदस्य बालकृष्ण खाँणले गठबन्धनको निर्णयविपरीत जाने नेता-कार्यकर्तालाई कारबाही गरिने चेतावनी दिनुभएको छ ।

गृहजिल्ला रुपन्देहीस्थित आफ्नै निवासमा बुधबार पत्रकारहरूसँग कुराकानी गर्दै खाँणले कांग्रेस गठबन्धनको निर्णय कार्यान्वयनप्रति प्रतिबद्ध रहेको र उक्त निर्णयविपरीत जाने नेता–कार्यकर्तालाई कारबाही चेतावनी दिँदै भन्नुभयो, ‘गठबन्धनलाई दीर्घकालीन ढंगले लैजाने कांग्रेसको निर्णय हो ।

यसविपरीत जान सकिँदैन, पाइँदैन  निर्णयको विरुद्धमा जाने नेता तथा कार्यकर्तालाई स्थानीय तहमा मात्रै होइन, प्रदेश र प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न नपाउने गरी कारबाही गरिनेछ ।’

गठबन्धनमा भएको भागबण्डाको निर्णयप्रति उपसभापति गुरुङको असन्तुष्टि

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले महानगर र उपमहानगरमा गठबन्धनबीच केन्द्रमा भएको भागबण्डाको सहमतिप्रति चर्को असन्तुष्टि जनाउनुभएको छ । कांग्रेस सत्ता गठबन्धनका अन्य दलहरूको पछि लागेको प्रति असन्तुष्टि व्यक्त गर्दै उपसभापति गुरुङले

आफ्ना सदस्यहरू घरभित्र राखेर खेतमा खनजोत गर्ने खेतालाहरू खोज्न बाहिर भौतारिरहेको टिप्पणी गर्नुभयो । उपसभापति गुरुङले भन्नुभयो, ‘पूरै सदस्य घरभित्र राखेर खेतमा खनजोत गर्ने खेतालाहरू बाहिर खोज्न भौतारिरहेको म कांग्रेस हुँ । यस्तो कांग्रेस भएको छु म आज, घरभित्रै हुर्किएका जवान छोराछोरीहरू, बुहारीहरूलाई घरमै थन्क्याएर बाहिर खेताला खोज्नेको हविगत के हुन्छ, प्रष्टै छ ।’