एजेन्सी (पाकिस्तान):= पाकिस्तानमा नवनियुक्त प्रधानमन्त्री शहबाज सरिफको नयाँ मन्त्रीमण्डलको मंगलबार शपथ ग्रहण भएको छ। सरिफको मन्त्रीमण्डलमा ३४ जना मन्त्री रहनेछन् भने तीनजना सल्लाहकार समावेश छन् ।
पाकिस्तानको माथिल्लो सभा (सिनेट)का अध्यक्ष सादिक सन्जरानीले मन्त्रीमण्डलका सदस्यहरूलाई शपथ ग्रहण गराउनुभएको छ । अस्वस्थताका कारण राष्ट्रपति आरिफ अली कार्यक्रम सकिनुअघि नै निस्कनुभएको थियो । सरिफले शपथ गराएका ३४ सदस्यमध्ये ३० जना मन्त्री र चारजना राज्यमन्त्री छन् ।
मन्त्रीमण्डलमा मुस्लिम लिगका १२ सदस्य, पिपीपीका नौ सदस्य र अन्य दलको गठबन्धनका १६ सदस्य छन् । करिब १० दिनअघि पाकिस्तानमा इमरान खानको सरकार ढलेको थियो । गत हप्ता नै सरिफ पाकिस्तानका नयाँ प्रधानमन्त्री बन्नुभएको थियो ।
यसैबीच फेरि चर्चामा आउनुभएको छ हिना रब्बानी खार । हिना रब्बानी खार पाकिस्तानको राजनीतिमा चर्चित अनुहार हुनुहुन्छ। उहाँ पाकिस्तान बाहिर पनि त्यतिकै परिचित हुनुहुन्छ । उहाँलाई पाकिस्तानको नयाँ शाहबाज सरिफ सरकारमा मन्त्री बनाएपछि फेरि चर्चामा रहनुभएको छ ।
यसअघि उहाँ सन् २०११ देखि २०१३ सम्म पाकिस्तानको विदेशमन्त्री हुनुभएको थियो । हिना पाकिस्तानमा यो मन्त्रालय दिइने पहिलो महिला राजनीतिज्ञ हुनुभएको थियो । यतिमात्र होइन, सबैभन्दा कम उमेरमा यो मन्त्री पाउने कीर्तिमान पनि उहाँको नाममा छ । उहाँको लुक्स र फेसनको बारेमा त्यो समयमा धेरै चर्चा भएको थियो ।
हिना रब्बानी राजनीतिमा मात्रै नभएर फेसनको मामिलामा पनि आफ्नो देशका अभिनेत्रीहरूलाई कडा टक्कर दिनुहुन्छ । उहाँलाई पाकिस्तानमा स्टाइल आइकन मानिन्छ । उहाँको शारीरिक भाषादेखि लिएर ड्रेसिङ सेन्ससम्म सबै सुपर क्लासी रहेको देखिन्छ । हिना एक बलियो व्यक्तित्व, प्रतिभाशाली महिला हुनुका साथै सुन्दर र स्टाइलिश राजनीतिज्ञ हुनुहुन्छ ।




















