काठमाडौं:= लामो विवाद र बहसपछि सत्तारूढ पाँच दलीय गठबन्धनले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि महानगरको नेतृत्वको भागबण्डा टुंगो लगाएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको गठबन्धनका शीर्ष नेतासहित स्थानीय तह निर्वाचन तयारी, परिचालन र अनुगमन समितिको बैठकले ६ वटा महानगरमध्ये कांग्रेसलाई तीन, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीलाई एक/एक महानगरको नेतृत्व दिएर भागबण्डाको टुंगो लगाएको हो ।
गठबन्धनको नेतृत्वकर्ता दल नेपाली कांग्रेस कास्कीको पोखरा महानगरको दाबीबाट पछि हटेपछि सत्ता गठबन्धनमा ६ वटै महानगरको टुंगो लागेको हो । गठबन्धनमा भएको सहमतिअनुसार नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरको नेतृत्व पाएको छ ।
माओवादी केन्द्रले चितवनको भरतपुर, नेकपा एकीकृत समाजवादीले कास्कीको पोखरा र जनता समाजवादी पार्टीले पर्साको वीरगञ्ज महानगरको नेतृत्व पाएको छ । यसअघि सोमबार गठबन्धनबीच भागबण्डालाई लिएर दिनभरि छलफल भए पनि पोखरा महानगरमा कांग्रेस र नेकपा एकीकृत समाजवादीले दाबी नछोडेपछि महानगरको भागबण्डा टुंगो लाग्न सकेको थिएन ।
पोखरा महानगरका कारण गठबन्धन नै टुट्ने अवस्था आएपछि प्रधानमन्त्रीसमेत रहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार कास्की कांग्रेसका नेताहरूलाई बोलाएर गठबन्धनको बाध्यताले पोखराको नेतृत्वको दाबी छोड्नुपर्ने अवस्था आएको बताउनुभएको थियो ।

उपप्रमुखमा पनि सहमति
पाँचदलीय गठबन्धनले ६ वटै महानगरपालिकाको उपप्रमुख पनि टुंगो लगाएको छ । मंगलबार राति बसेको शीर्ष नेतासहितको स्थानीय निर्वाचन तयारी तथा अनुगमन समिति बैठकले ६ वटै महानगरपालिकाको उपप्रमुखको टुंगो लगाएको हो ।
सहमति अनुसार नेपाली कांग्रेसले बीरगञ्ज, चितवनको भरतपुर र पोखरा महानगरपालिकाको उपप्रमुख पाएको छ । यस्तै, माओवादी केन्द्रले ललितपुर महानगरपालिकाको उपप्रमुख पाएको छ । नेकपा (एकीकृत समाजवादी)ले काठमाडौं र जनता समाजवादी पार्टी (जसपा)ले विराटनगर महानगरपालिकाको उपप्रमुख पाएको छ ।
निर्णय बदल्न चितवन कांग्रेसलाई देउवाको आग्रह
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुर महानगरको नेतृत्व माओवादी केन्द्रलाई दिनुपर्ने भएकाले जिल्ला तहको निर्णय बदल्न नेपाली कांग्रेस चितवनका सभापतिलाई आग्रह गर्नुभएको छ ।
नेपाली कांग्रेस चितवनका जिल्ला सभापति राजेश्वर खनाललाई प्रधानमन्त्री निवास बालुवाटरमै बोलाएर प्रधानमन्त्रीसमेत रहनुभएका सभापति देउवाले काठमाडौं र विराटनगरमध्ये एक माओवादीलाई दिनैपर्ने भएकाले यहाँबाट गर्ने निर्णय मान्न देउवाले आग्रह गर्नुभएको थियो ।
जिल्ला सभापति खनालले भने जिल्लाको निर्णय सच्याउन नसक्ने दाबी गर्दै केन्द्रबाटै निर्णय गर्न स्वतन्त्र रहेको तर जिल्लाले विद्रोह गर्न सक्ने चेतावनी दिँदै भन्नुभयो, ‘माथिल्लो निकायले निर्णय गरेपछि तल्लो निकायको स्वतः खारेज हुन्छ, तपाईंहरूले यहीँबाट जे निर्णय गर्ने हो गर्नुहोस्, चितवनबाट हुँदैन भनिदिएँ ।
केन्द्रीय समितिको निर्णय मान्ने मेरो दायित्व हो मैले मान्छु । तर, जिल्ला सभापतिको रूपमा एक्लै जिल्लामा थाम्न सक्ने अवस्था छैन भनेर भनेँ ।’ नेपाली कांग्रेस चितवनले भरतपुर महानगरमा आफ्नै उमेदवार अघि सार्ने निर्णय गर्दै उम्मेदवारहरूको नामावली पनि सिफारिस गरिसकेको छ ।
पोखरामा विवाद नगर्न र गठबन्धनका उम्मेदवारलाई जिताउन देउवाको निर्देशन
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कास्कीका पार्टी नेतालाई काठमाडौं बोलाएर पोखरा महानगरपालिकाको मेयरका विषयमा विवाद नगर्न र गठबन्धनका उम्मेदवारलाई जिताउन निर्देशन दिनुभएको छ ।
सभापति देउवाले बोलाएपछि मंगलबार काठमाडौं आउनुभएका कांग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, कास्की जिल्ला सभापति किशोरदत्त बराल र नेता यज्ञबहादुर थापालाई जसले टिकट पाए पनि विवाद नगरी जिताएर पठाउन निर्देशन दिनुभएको हो ।
पोखरा महानगरको नेतृत्वको लागि कांग्रेस र नेकपा एकीकृत समाजवादीको अडानका कारण गठबन्धन नै संकटमा पर्ने देखिएपछि प्रधानमन्त्रीसमेत रहनुभएका कांग्रेस सभापति देउवाले आकस्मिक रूपले मंगलबार गण्डकी प्रदेशका सभापतिसहित कास्कीका नेताहरूलाई काठमाडौं बोलाउनुभएको थियो ।
छलफलका लागि कास्कीका जिल्ला सभापति किशोरदत्त बराल, गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा र पूर्वमन्त्री कानुनमन्त्री यज्ञ थापा मंगलबार काठमाडौं आएर पोखराको समग्र अवस्थाका विषयमा सभापति देउवालाई ब्रिफिङ गर्नुभएको थियो । तर, सभापति देउवाले भागबण्डाका क्रममा समाजवादीलाई पोखरा दिनुपर्ने बाध्यता सुनाउनुभएको थियो ।
सभापति देउवासँगको छलफलपछि गण्डकी प्रदेश नेपाली कांग्रेसका सभापति शुक्रराज शर्माले पोखरामा कांग्रेसबाहेक अर्को पार्टीको उम्मेदवारले मेयर जित्न नसक्ने अवस्थाबारे प्रष्ट पारेको जानकारी दिँदै भन्नुभयो, ‘गठबन्धन हुँदा सबैको दाबी हुनु स्वाभाविक हो ।
तर, चुनावमा जित महŒवपूर्ण हुन्छ । हामीले पोखराको यथार्थ राखेका छौँ, यथार्थमा पोखरामा कांग्रेसबाहेक दलको मेयर उम्मेदवारले गठबन्धन गरे पनि एमालेलाई जित्न सक्ने अवस्था छैन ।’ पोखरा महानगरपालिकामा गत निर्वाचनमा पनि नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धन थियो ।
तर, नेकपा एमालेका मानबहादुर जिसीले भारी मतान्तरसहित चुनाव जित्नुभएको थियो । जिसीले ६० हजार ४२३ मत ल्याउनुभएको थियो भने गठबन्धनबाट कांग्रेसका उम्मेदवार रामजी कुँवरले ४६ हजार ४१६ मत मात्रै पाउनुभएको थियो । तर, एमाले फुटेर बनेको एकीकृत समाजवादीले आफ्नो उम्मेदवार भए एमालेको भोट काटिने र गठबन्धनले जित्ने दाबी गर्दै आएको छ ।




















