[ पार्थ मण्डल ]
झापा := झापाको हल्दीबारीमा विगत दुई महिनादेखि साङ्लोले बाँधिएर राखिएका एक युवकको दुर्गा प्रसाईँको अस्पताल बिएन्डसी अस्पताल बिर्तामोडले उद्धार गरेको छ ।
आर्थिक अभावका कारण उपचार गर्न नसकेर घरको बरन्डामा बाँधेर राखिएका हल्दीबारी गाउँपालिका-५ निवासी चन्द्रप्रसाद ढकालका २३ वर्षीय छोरा गंगाप्रसादको बिएन्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईँसहित चिकित्सकको टोलीले मंगलबार दिउँसो उद्धार गरेको हो ।
मानसिक सन्तुलन बिग्रिएका युवक गंगाप्रसादलाई अस्पतालमै राखेर उपचार गराउनुका साथै सम्पूर्ण उपचार खर्च बिएन्डसी अस्पतालले बेहोर्ने कार्यकारी निर्देशक प्रसाईँले बताउनुभयो । गत पुसमा गंगाप्रसादको मानसिक सन्तुलन बिग्रिएको थियो ।
मानसिक सन्तुलन बिग्रिएका गंगाप्रसादले गाउँ, छिमेकलाई दुःख दिन थालेपछि उहाँका बुबा चन्द्रप्रसाद छोरालाई साङ्लोले बाँधेर राख्न बाध्य हुनुभएको थियो । उहाँको घर हल्दीबारी गाउँपालिकाको नयाँ कार्यालय भवन बन्दै गरेको ठीकअगाडि हो ।
‘श्रीमती पनि नभएको अवस्थामा एक्लो छोरालाई बाँधेर काममा जानुपर्ने अवस्था थियो, त्यत्तिकै छाडेर जाँदा छोराले गाउँघरमा उत्पात मच्चाउँदै आएको गुनासो छिमेकीहरूले सुनाउँथे,’ उहाँका बुबा चन्द्रप्रसादले भन्नुभयो, ‘छोरालाई अस्पताल लगेर उपचार गराउने खर्च पनि थिएन, त्यसैले घरमै बाँधेर राखेका थियौँ ।’
छोराको उद्धार बिएन्डसीले गरिदिएकाले अब छोराले पक्कै पनि नयाँ जीवन पाउनेमा उहाँले खुसी व्यक्त गर्नुभयो । चन्द्रप्रसादको घर पनि हल्दीबारी गाउँपालिकाले बनाइदिएको हो । त्यही घरमा उहाँ छोरासँगै बस्दै आउनुभएको थियो । चुनावको माहोल तातिएको बेलामा पनि गाउँपालिकाको गेट नै अगाडि यस्तो अवस्था हुँदासमेत कसैको ध्यान गएको थिएन ।




















