‘मन्त्र’को गीतमा अल्मोडा र अप्सराको स्वर।

काठमाडौं:=यही वैशाख १६ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको नयाँ नेपाली चलचित्र ‘मन्त्र’ मा समावेश पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘तिम्रै हुँ भन्छ यो मनले’ बोलको गीतमा अल्मोडा राना उप्रेती र अप्सरा घिमिरेको स्वर छ । सार्वजनिक गीतमा सन्तोष सुनारको शब्द तथा संगीत रहेको छ ।

सार्वजनिक गीतको भिडियोमा चलचित्रका मुख्य अभिनेता सौगात मल्ल र मुख्य अभिनेत्री दीया पुनको मायाप्रेम देख्न सकिन्छ । गोरखा सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् प्रालिको व्यानरमा बनेको चलचित्रका निर्देशक खिलबहादुर गुरुङ हुनुहुन्छ । गोरखा सिरानचोक एण्ड लिगलिग कोट फिल्मस्सँगै डिभाइन इन्टरटेन्टमेन्ट र डि.एस प्रोडक्सनको सहकार्य रहेको छ । हिमाली भेगको सुन्दर दृश्यहरू कैद गरिएको चलचित्र एउटा अर्गानिक नेपाली चलचित्र बनेको छ ।

चलचित्र गोरखाको मनास्लु क्षेत्र आसपासको कथावस्तुलाई आधार बनाएर निर्माण गरिएको छ । मनास्लु क्षेत्रमा पहिलो पटक छायांकन गरिएको चलचित्रका दृश्यहरूले दर्शकको मन जित्नेमा निर्माण पक्ष ढुक्क छ । गोरखा जिल्लाको चुमनुब्री सामा गाउँ, वीरेन्द्र ताल र पुंगिन गुम्बालगायत रमणीय दृश्यहरू कैद गरिएको छ ।

हिमालयन लभ स्टोरी ‘मन्त्र’मार्फत सौगात र दियाले पहिलोपटक स्क्रिन शेयर गरेका छन् । चलचित्रमा बुद्दि तमाङ, नमिता घिसिङ, वीरबहादुर लामा, पासाङ टि शेर्पाको पनि मुख्य भूमिका रहेको छ । देवेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको ‘मन्त्र’मा रविराज कार्की, सुरेश कार्की र सुभ श्रेष्ठको लगानी छ । राजेश जंगको सह–निर्देशन रहेको चलचित्रमा सह–निर्माताको रूपमा भिमसेन केसी र विशेष सहयोगी अमृत थापा रहनुभएको छ ।

साम्तेन भुटिया, सुनिल नेउरे, परिच्छेद सेनले लेखेको चलचित्रमा सन्तोष सुनारको संगीत, सञ्जय लामाको छायांकन, मित्र डी गुरुङको सम्पादन, सुजिल कर्माचार्यको पास्र्व संगीत छ । चलचित्रको काठमाडौंबाहिर एफडी कम्पनी र उपत्यकामा काफिया फिल्म्सलाई वितरणको जिम्मा छ ।