काठमाडौं := काठमाडौं जिल्ला अदालतले पशुपतिस्थित धर्मशालाभित्र बतास समूहले चलाएको धर्मशालाको मूलगेटमा ताला लगाउनुको कारण सोधेको छ । पशुपति क्षेत्र विकास कोषले शुक्रबार ताला लगाएलगत्तै अदालतले निवेदकको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो ?
आदेश जारी हुन नपर्ने कुनै आधार र कारण भए सबुत प्रमाणसहित प्रस्तुत आदेश प्राप्त भएको मितिले बाटाका म्यादबाहेक १५ दिनभित्र आफैँ वा कानुन बमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेश गर्न विपक्षीहरूको नाममा आदेश दिएको छ ।
‘निवेदकले अन्तरकालीन आदेशको समेत माग गरेको सन्दर्भमा विचार गर्दा, लिखित जवाफ परी प्रस्तुत निवेदनको टुंगो नलागेसम्मका लागि निवेदकको व्यवसायमा गैरकानुनी असर पर्ने गरी कुनै पनि कार्य नगर्नू/नगराउनू’ भन्दै विपक्षीको नाममा अन्तरकालीन आदेश जारी भएको हो ।
होटेल आनन्द प्रालिले पशुपति क्षेत्र विकास कोषलाई विपक्षी बनाएर रिट दायर गरेको छ । नेपाल–भारतमैत्री धर्मशालाभित्र सञ्चालित होटेल आनन्दको मूलगेटमा शुक्रबार सरकारले ताला लगाएको थियो । ताला लगाउनुअघि कोषले होटेल खाली गर्न सूचना जारी गरेको थियो ।
तर, बतास समूहले कोषको टोलीलाई मूलगेटमै रोकेर भित्र जान दिएन । होटेलभित्रका सामान हराउने तथा हिनामिना हुने डरले ताला लगाउनुपरेको कोषले जानकारी दिएको छ । कोषले होटेलका सामान नचलाउन बतास समूहलाई अनुरोधसमेत गरेको छ । होटेलका कर्मचारीले कोषका कर्मचारीलाई भित्र प्रवेश गर्न नदिएपछि कोषले बाहिरी गेटमा ताल्चा लगाएर सूचना टाँसी फर्किएको छ ।
अनुगमनका क्रममा पुगेका कोषका पदाधिकारी र होटेलका कर्मचारीबीच शुक्रबार पनि विवाद भएको थियो । यसअघि गत बिहीबार पर्यटनमन्त्री प्रेमबहादुर आले कोषका पदाधिकारीसहित धर्मशाला पुग्नुभएको थियो । त्यसबेला पनि बतास समूहका कर्मचारीले अवरोध गरेका थिए ।




















