नेपालले अब ३६४ मेगावाट बिजुली भारतमा बेच्न पाउने।

काठमाडौं:= भारतले नेपालबाट थप ३२५ मेगावाट बिजुली निर्यात गर्न स्वीकृति दिएको छ । ऊर्जा मन्त्री पम्फा भुसालले बुधबार पत्रकार सम्मेलन गर्दै थप बिजुली निर्यात गर्न स्वीकृत मिलेको जानकारी दिनुभयो । यसअघि भारतले ३९ मेगावाट बिजुली निर्यात गर्न स्वीकृति दिएको थियो । नेपालले थप बिजुली लैजान भारतलाई आग्रह गरेको थियो । योसँगै अब नेपालले ३६४ मेगावाट बिजुली निर्यात गर्न पाउने भएको छ ।

गत शनिबार नयाँदिल्लीमा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको वार्तामा थप बिजुली निर्यात गर्ने विषयमा कुरा भएको थियो । सोहीअनुसार भारतले थप बिजुली निर्यात गर्न स्वीकृति दिएको हो । मन्त्रालयका सचिव देवेन्द्र कार्कीले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा दुई देशबीच ऊर्जा क्षेत्रमा सहकार्यका लागि संयुक्त प्रतिबद्धता व्यक्त भएको जानकारी दिनुभयो । उक्त प्रतिबद्धतामा विद्युत्को उत्पादन, प्रसारण र व्यापारलाई प्राथमिकतामा राखिएको उहाँले बताउनुभयो । सो दस्तावेजमा दुवै देशको संयुक्त लगानीमा जलविद्युत्को उत्पादन गर्ने, ठूला जलाशययुक्त आयोजनामा दुई देशले लगानी गर्ने, प्रसारण लाइनलाई एक-अर्का देशको हितका लागि प्रयोग गर्ने, भारतपछि बंगलादेशसम्म लैजान प्रसारण लाइनको प्रयोग गर्ने र दुवै देशलाई लाभ हुने गरी विद्युत्को व्यापार गर्ने उल्लेख छ ।

प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले थप बिजुली निर्यात गर्न स्वीकृति दिएको कुरा बुधबार मात्रै जानकारीमा आएको बताउनुभयो । अहिले नेपालले भारतबाट बिजुली किनिरहेको छ । बर्खामा नेपालमा उत्पादित बढी भएको बिजुली भारतको खुला बजारमा बिक्री हुनेछ ।

यसैबीच प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले कुनै पनि उद्योगमा लोडसेडिङको समस्या नरहेको प्रष्ट पार्नुभयो । केही दिनअघि विद्युत्को व्यवस्थापनमा असहज अवस्था आउँदा एक÷दुई दिन थोरै समय लाइन काटिने अवस्था आएको भए पनि अहिले उक्त समस्या समाधान भइसकेको उहाँले जानकारी दिनुभयो ।