विनोद चौधरी भारत बाहेक दक्षिण एसियाका एक्ला अर्बपति, चौधरी फोब्सको सूचीमा १९२९ नम्बरमा।

एजेन्सी:= विश्वभरीका धनीहरूको बारेमा सूची प्रकाशन गर्ने फोब्र्सले यो वर्ष पनि विश्वभरीका डलर अर्बपतिहरूको सूची सार्वजनिक गरेको छ । सार्वजनिक सूचीअनुसार दक्षिण एसियामा भारतमा बाहेकका अर्बपति नेपालका विनोद चौधरीमात्र रहनुभएको छ । दक्षिण एसियाका देशहरूमध्ये डलर अर्बपति रहेका देशमा भारत र नेपालमात्र परेका हुन् ।

दक्षिण एसियाका अन्य मुलुकहरू श्रीलंका, भुटान, पाकिस्तान, बंगलादेश, माल्दिप्स र अफगानिस्तानका कुनै पनि व्यवसायी अर्बपतिको सूचीमा परेका छैनन् । नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीको सम्पत्तीमा पनि वृद्धि भएको छ । फोब्र्सका अनुसार उहाँको सम्पत्ती गत वर्ष १.४ अर्व डलर रहेकोमा यो वर्ष दश करोड डलरले वृद्धि भई १.५ अर्ब डलर पुगेको छ । व्यवसायी चौधरी फोब्सको सूचीमा १९२९ नम्बरमा हुनुहुन्छ । चौधरी २०१३ देखि अर्बपतिहरूको सूचीमा निरन्तर रहँदै आउनुभएको छ ।

यस्तै उक्त सूचिका अनुसार दक्षिण एसियाको अर्को मुलुक छिमेकी भारत विश्वका धेरै अर्बपति रहेको मुलुकहरूमध्ये तेस्रो भएको छ । भारतमा १६६ अर्बपति रहेका छन् भने अर्को छिमेकी चीनमा ५३९ अर्बपति छन् । सूचीको सबैभन्दा माथि रहेको अमेरिकामा अर्बपतिको संख्या ७३५ रहेको छ ।

२९०.३ अर्ब डलर सम्पत्ति रहेका एलन मस्क यसवर्ष पनि विश्वको सर्वाधिक धनी व्यक्ति रहनुभएको छ । यस्तै दोस्रो धनी जेफ बेसोजको सम्पत्ति १८९.८ रहनुभएको छ भने बर्नाड र बिल गेट्स क्रमशः तेस्रो र चौथो धनी रहनुभएको छ । भारतका गौतम अदानी र मुकेश अम्बानी पहिलो दशको सूचीमा रहनुभएको छ । अदानी नवौं र अम्बानी दशौं नम्बरमा हुनुहुन्छ ।