झापामा बंगुर पालक किसान बढ्दै, मनग्ये आम्दानीको साथ।

झापा:= झापामा विगतमा बंगुर पालक किसान कमै भेटिन्थे । तर, पछिल्लो समय बंगुर पालक किसानको संख्या बढ्दैछ । पूर्वपश्चिम राजमार्गअन्तर्गत केरखा आसपासमा त बंगुरपालनमात्र हैन, यसलाई बजारीकरण गर्न होटलसम्म खुलेका छन् ।

संघीयतापछि प्रदेश र स्थानीय सरकारले अनुदानको कार्यक्रम दिन थालेपछि पनि बंगुर पालक किसान बढेका छन् । यस्तै, कोरोना महामारीले विभिन्न ठाउँमा रोजगारी गर्दै गरेका युवा गाउँ फर्किएर पनि बंगुरपालनमा लागेका छन् ।

प्रदेश सरकारले नश्ल सुधारदेखि बंगुरको खोर निर्माणसमेतमा अनुदान उपलब्ध गराएपछि झापामा बंगुरपालन गर्ने किसानहरूको संख्या बढ्दै गएको हो । झापामा केही वर्षअघिसम्म बंगुरपालन गर्ने किसानहरू सीमित संख्यामा मात्र थिए । तर, तीन वर्षयता जिल्लामा बंगुर पालक किसानको संख्या बढेर पाँच सयभन्दा धेरै पुगेका छन् ।

प्रदेश सरकारले खोर निर्माणदेखि नश्ल सुधारमा समेत सहयोग गर्न थालेपछि बंगुर पालक किसानको संख्या बढ्न थालेको बंगुर व्यवसायी संघ प्रदेश-१ का अध्यक्ष सञ्जीव कुलुङ राईले बताउनुभयो । ‘सरकारले पनि सहयोग गर्दै आएको छ । त्यसकारण बंगुर पालक किसानको संख्या बढ्यो,’ उहाँ भन्नुहुन्छ, ‘तर, अहिले दानाको मूल्य आकाशिएको छ । बजारमा माग पनि घटेको छ ।’

बंगुरपालनमा आकर्षण बढेपछि पछिल्लो आर्थिक मन्दी र दानाको मूल्यवृद्धिले साना बंगुर पालक किसानमा भने समस्या आउन थालेको छ । बंगुर उत्पादनमा वृद्धि भए पनि उचित बजार नहुँदा समस्या हुन थालेको किसानले बताएका छन् । झापामा यसपटक पनि प्रदेश सरकारले बंगुर पालक किसानका लागि भनेर विभिन्न कार्यक्रमहरू गर्दै आएको छ ।

सरकारको सहयोग पाउन थालेपछि बंगुरपालनमा किसानको आकर्षण बढ्दै गएको पशु सेवा विज्ञ केन्द्र झापाका प्रमुख डा. विनय श्रेष्ठले बताउनुभयो । ‘यस वर्ष पनि बंगुर पालक किसानका लागि अनुदानका कार्यक्रमहरू छन् । यस्ता कार्यक्रमले किसानलाई प्रोत्साहन मिलेको छ । जसका कारण बंगुर पालक किसानको संख्या दिनानुदिन बढ्दैछ,’ उहाँले भन्नुभयो ।

प्रदेश–१ को कृषि मन्त्रालयका अनुसार प्रदेश-१ बंगुरको मासु उत्पादनका लागि आत्मनिर्भर प्रदेश हो । नेपालभर पालिने र मासुका लागि प्रयोग हुने बंगुरमध्ये ६० प्रतिशत बंगुर प्रदेश-१ मै पालिने गरेको मन्त्रालयका सूचना अधिकारी कुमारसिंह खत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रदेश–१ मा सबैभन्दा धेरै झापामा बंगुर पालिने गरिएको छ । ‘मासुका लागि बंगुर पालिन्छ । नेपालमा पालिने बंगुरको ६० प्रतिशत हिस्साचाहिँ प्रदेश-१ ले धानेको छ । उहाँले भन्नुभयो, ‘यहाँबाट काठमाडौं र पश्चिमका जिल्लामा पनि निर्यात हुन्छ । भारतका विभिन्न ठाउँसँगै भुटानसम्म पनि पुग्छ ।’

प्रदेश–१ मा बंगुर पालनको सम्भावना देखेर प्रदेश-१ सरकारले बंगुर प्रवद्र्धन कार्यक्रमसमेत दिएको थियो । त्यो कार्यक्रममार्फत् ११८ जना किसानलाई अनुदान दिइएको खत्रीले बताउनुभयो । अनुदानबाट खोर निर्माणलगायत काम भएको उहाँको भनाइ छ

तर, पछिल्लो समय बजार पाउन मुस्किल भएको उहाँ बताउनुहुन्छ । ‘बंगुरको पाठा बिक्री गर्न बजार अभाव भएको किसानबाट गुनासो आएको छ । उत्पादन धेरै भएपछि बजार पाउनै मुस्किल भयो,’ उहाँले भन्नुभयो ।