गठबन्धनका पाँच दल एक/एक किलोका स्यानो ढक हुन्, एमाले एक्लै क्विन्टल हो: ओली।

काठमाडौं:= नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय सत्ता गठबन्धनलाई एक÷एक किलोका ढकको संज्ञा दिनुभएको छ । बुधबार भक्तपुरमा व्यवसायी दुर्गा प्रसाईंले सञ्चालनमा ल्याएको तरकारी बजार उद्घाटन गर्दै अध्यक्ष ओलीले एमालेचाहिँ सिंगै एक क्विन्टलको ढक रहेको दाबी गर्नुभयो । ‘कतिपय साथीहरूलाई लाग्न सक्छ गठबन्धन गरेका छन् । अप्ठेरो पर्न सक्ला भनेर,’ ओलीले भन्नुभयो, ‘मैले भन्ने गरेको छु यदि एउटा तराजुमा एक/एक किलोका पाँचवटा ढक एकातिर राख्नुभयो र क्विन्टलको ढक अर्कातिर राख्नुभयो भने के हुन्छ ? नेकपा एमाले क्विन्टलको ढक हो । पाँचवटा भनेका एक/एक किलोका ढक हुन् ।’ ओलीले अब कुनै पनि पार्टीले एक्लै एमालेसँग लड्छु भन्ने कुरा नचिताए र नसोचे हुने दाबी गर्नुभयो ।

‘त्यसैले गठबन्धन गर्न जरुरी छ । एमालेसँग लड्न सकिँदैन भनेको ठिक छ । गठबन्धन गरेरै आउनुपर्छ । साह्रै बच्चा भयो भने गाह्रो हुन्छ । निहुरेर लडाइँ गर्नुपर्छ । कुम-कुममा खुट्टा राखेर पाँचजना आए त निहुरिन परेन,’ उहाँले भन्नुभयो, ‘लोभी पापीहरूको गठबन्धन कति गाह्रो होला ?’ उहाँले गठबन्धनमा विवाद हुन्छ भनेर एकैदिनमा उम्मेदवारी गर्न सकिँदैन भनी निर्वाचन आयोग गुहारिरहेको बताउनुभयो । गठबन्धनले दुई दिनसम्म मनोनयनको दिन राख्नुपर्ने भनिरहेको ओलीले बताउनुभयो । ‘कहिल्यै भएको थियो दुई दिनसम्म मनोनयनको समय राखेको ?,’ ओलीले भन्नुभयोे, ‘उहाँहरूले गठबन्धनबिना लड्न सकिँदैन भनेको ठिक छ । गठबन्धन गरेर पनि एमालेसँग सकिँदैन भन्ने बुझ्न बाँकी छ ।’

दुई अर्बमा तरकारी बजार

झापाका मेडिकल व्यवसायी तथा नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंले भक्तपुरमा सञ्चालनमा ल्याएको तरकारी पसलको ओलीले बुधबार उद्घाटन गर्नुभयो । बजारको नाम ‘सूर्यविनायक हरित तथा कृषि थोक बजार’ रहेको छ । सूर्यविनायक नगरपालिका-८ को ५० रोपनी जग्गामा प्रसाईंले तरकारी बजार सञ्चालनमा ल्याउनुभएको हो ।

उद्घाटनपछि ओलीले प्रसाईंले जुन सोच अगाडि सारेर तरकारी बजार खोल्नुभयो उहाँ धन्यवादको पात्र रहेको बताउनुभयो । उहाँले कृषिको आधुनिकीकरण, व्यावसायीकरण, कृषिको शुद्धीकरण सुरु भएको बताउनुभयो । प्रसाईंले दुई अर्ब रुपैयाँभन्दा बढी लगानी गरेर तरकारी बजार सञ्चालनमा ल्याउनुभएको छ । तरकारी पसलमा ४४ सय जनाले प्रत्यक्ष रोजगारी पाउने र दुई हजार दुई सय स्टल राखिएको प्रसाईंले बताउनुभयो । तरकारी पसलको जग्गा प्रसाईं आफैंले खरिद गर्नुभएको छ । तरकारीमा बिचौलियाको अन्त्य गरी किसानलाई राहत दिन आफूले तरकारी बजार सञ्चालनमा ल्याएको प्रसाईंले बताउनुभयो । तरकारी बजारको निर्माण २०७५ सालबाट सुरु गरिएको थियो । कोरोना महामारीका कारण काममा बाधा परेकाले सञ्चालनमा ल्याउन केही ढिलो भएको उहाँले बताउनुभयो ।

६ महिनाअघि माओवादी केन्द्र छोडेर नेकपा एमालेमा आउनुभएका उहाँलाई ओलीले केन्द्रीय समितिमा मनोनीत गर्नुभएको थियो । उहाँ एमालेको उद्योग विभागका उपप्रमुख हुनुहुन्छ । कार्यक्रम उद्घाटनमा मन्तव्य राख्दै प्रसाईंले स्थानीय उत्पादनलाई प्रोत्साहित र बजारीकरण गर्न आफूले कृषि बजार स्थापना गरेको बताउनुभयो । कृषिजन्य उत्पादनमा बिचौलियाहरूले राज गरिरहेको भन्दै प्रसाईंले यो बजारबाट बिचौलियाको अन्त्य हुने दाबी गर्नुभयो । व्यावसायिक रूपमा केही गर्न चाहने व्यक्तिले सधैँ आगोमा हाम्फाल्नु परिरहेको भन्दै प्रसाईंले आफूले कैयन चुनौतीका पहाड सामना गरेको बताउनुभयो ।