टर्कीका राष्ट्रपतिद्वारा रूस-युक्रेन युद्ध अन्त्य गर्न आग्रह।

इस्तानबुल:= टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इस्तानबुलमा रूसी र युक्रेनी प्रतिनिधिमण्डललाई युद्ध अन्त्य गर्नु आग्रह गर्नुभएको छ । इस्तानबुलको डोल्माबासे दरबारमा आयोजित शान्तिवार्ताले युद्ध अन्त्य गर्ने अपेक्षा गरिएको एजेन्सीले उल्लेख गरका छन् ।

सोमबार टर्की पुगेका दुई देशका प्रतिनिधिमण्डलबीच औपचारिक वार्ता हुनुअघि भएको भेटमा उहाँले अन्तर्राष्ट्रिय समुदायलाई स्वीकार्य समाधानमा पुग्न सम्भव भएको बताउनुभएको हो । ‘यस त्रासदीको अन्त्य गर्ने दुई पक्षमा निर्भर छ’, उहाँलेले जोड दिँदै भन्नुभयो, ‘द्वन्द्वको निरन्तरता कसैको हितमा छैन ।’ यस वार्ताबाट ठोस निचोड निकाल्न उहाँले दुवै पक्षसँग अनुरोध पनि गर्नुभएको छ ।

दुवै देशका नेताहरूको निर्देशन बमोजिम भएको यस वार्ताबाट युद्धविराम गर्दै शान्ति स्थापना गर्न उहाँले जोड दिनुभयो । यसअघि शुक्रबार पत्रकारहरूसँग कुराकानी गर्दै राष्ट्रपति एर्दोगानले ६ मा चारवटा विषयमा सहमति भइसकेको बताउनुभएको थियो ।

युक्रेन नाटोमा सामेल नहुने र युक्रेनमा रूसी भाषाको मान्यतामा सहमति भइसकेको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संविधान संशोधन गर्नुपर्ने विषयमा एक्लेले निर्णय गर्नेभन्दा जनमत संग्रह गर्ने बताउनुभएको थियो ।

टर्कीले मार्च १० मा युक्रेन र रूसी विदेश मन्त्रीहरूबीचको पहिलो बैठक दक्षिणी टर्कीको शहर अन्टाल्यामा एक अन्तर्राष्ट्रिय गोष्ठीपछि आयोजना गरेको थियो । युद्धविरामसँगै अन्य सम्पूर्ण विषयमा सहमति खोज्नुपर्ने युक्रेनका विदेशमन्त्री दिमित्री कुलेबाको भनाइ छ । रूस भने युक्रेनलाई निःशस्त्र बनाई तटस्थ हैसियतमा पुर्‍याएपछि मात्रै हतियार बिसाउने योजनामा छ ।

रूसले युक्रेनमाथि आक्रमण गरेयता ३८ लाखभन्दा बढी युक्रेनी नागरिकले आफ्नो देश छोडेर छिमेकी मुलुकमा शरण लिन पुगेका छन् । गत २४ फेब्रुवरीदेखि रूसले युक्रेनमाथि आक्रमण सुरु गरेको थियो । रूसले युक्रेनका सबै पूर्वाधार र आवासीय भवन रकेट र बम आक्रमणले ध्वस्त पारिदिएको छ ।

रूसी आक्रमणबाट जोगिन युक्रेनी नागरिकहरू आफ्नो देश छोडेर अरु देशमा शरण लिन पुगेका हुन् । युक्रेन छोडेका मध्ये धेरै पोल्याण्डमा शरण लिन पुगेका छन् । युक्रेन छोड्ने ३८ लाख मध्ये २३ लाखले पोल्याण्डमा शरण लिएका छन् भने बाँकी मानिसहरू रोमानिया, मोल्दोभा, हंगेरी तथा स्लोभाकिया जस्ता देशहरूमा शरण लिन पुगेका छन् ।

यता, रूसी अर्बपति रोमन अब्रामोभिचलाई युक्रेनसँगको शान्तिवार्ताका क्रममा विष खुवाइएको दाबी गरिएको छ । युक्रेन-बेलारूस सीमामा रूससँग यही महिनाको सुरुवातमा भएको शान्ति वार्ताका क्रममा उहाँलाई विष खुवाइएको उहाँनिकट स्रोतले जनाएको छ ।

इंग्लिस फुटबल क्लब चेल्सीका मालिकसमेत रहनुभएका अब्रामोभिच अहिले निको भइसकेको जनाइएको छ । उहाँलाई आँखा सुन्निने र छाला खुइलिने लक्षण देखिएको बताइएको छ । साथै दुई जना युक्रेनी मध्यस्थकर्तालाई समेत त्यस्तै लक्षण देखिएको जनाएको छ । वाल स्ट्रिट जर्नलले वार्ता भाँड्न खोज्ने रूसी कट्टरपन्थीहरूले विष मिसाएको हुनसक्ने बताएको छ ।