विदेशमा हण्डर खाएर फर्किएका युवा प्रेरणाका पात्र बन्दै।

बागलुङ:= विदेश गई हण्डर खाएर फर्किएका युवाहरू बागलुङमा सयौँ छन् । ती युवामध्ये केहीले नयाँ इलम सुरु गरेका छन् भने केही अझै पनि बेरोजगार छन् । केही रोजगारका लागि भांैतारिएका छन् भने केहीले विदेशमा सिकेको सीप र क्षमतालाई स्वदेशमै प्रयोग गरी व्यवसायी बनेका छन् । उनीहरू अन्य युवाहरूको प्रेरणाका स्रोत बनेका छन् ।

त्यसमध्ये जिल्लाको निसीखोला गाउँपालिका-५ कारिगाउँका धर्मराम पोखरेल पनि एक हुनुहुन्छ । दुई दशक बढी समय भारत तथा खाडी मुलुकमा बिताउनुभएका ४७ वर्षीय पोखरेलले १० वर्षदेखि आफ्नै बारीमा व्यावसायिक कृषि गर्दै आउनुभएको छ । खासगरी उहाँले फलफूल तथा मौरीपालनलाई बढी जोड दिनुभएको छ ।

उहाँले तरकारी, फलफूलसँगै मौरी र कुखुरापालन पनि सँगसँगै अगाडि बढाउनुभएको छ । पोखरेलको घरको कौसीमा १० घारभन्दा बढी मौरी छन् । यसबाट पनि उहाँले राम्रो आम्दानी गर्दै आउनुभएको छ । पोखरेलले सुरुमा कुखुरापालनबाट व्यावसायिक यात्रा सुरु गर्नुभएको हो । अहिले उहाँले खोरमा बाख्रा, कुखरा तथा बारीमा विभिन्न प्रजातिका फलफूल, खाद्यबालीहरू लगाउँदै आउनुभएको छ ।

उहाँको घरवरपर जताततै पहाडी क्षेत्रमा फल्ने सुन्तला, कागती, मौसम, अमिलो, हलुवाबेदलगायत १५÷२० प्रजातिका फलफूल छन् । विभिन्न सिजनमा फल्ने फलहरूबाट पोखरेलले लाखौँ आम्दानी गर्दै आउनुभएको छ । पछिल्लो समय उहाँले टिमुर र कागती उत्पादनलाई बढी प्राथमिकता दिनुभएको छ । उहाँको बारीमा अहिले ४० बोट टिमुरका बिरुवा छन् । जसमध्ये १० बिरुवाले फल दिन थालेका छन् । उहाँले घरवरपर सबै बाँझो बारीमा कागतीका बोट लगाउनुभएको छ ।

धर्मराजका बारीमा अहिले तीन सयवटा कागतीका बोट छन् । जसमध्ये २५ बोटले फल दिन थालेका छन् । पोखरेल निसीखोलाको सबैभन्दा अगुवा कृषकका रूपमा परिचित हुनुहुन्छ । २० वर्ष भारतका विभिन्न स्थान र दुई वर्ष खाडी मुलुक कतारमा दुःख गरेको नमिठो अनुभव साँच्नुभएका पोखरेल अहिले आफ्नै परिवारसँग बसेर आफ्नै बारीमा कृषि कर्म गर्दा आनन्द र सन्तुष्टि मिलेको बताउनुहुन्छ ।

‘मैले विदेशमा धेरै पसिना बगाएँ, दुःख पाएँ, कतारमा पनि पुगँे तर अहिलेको जस्तो खुसी र सुखी त्यहाँ हुन सकिनँ,’ पोखरेलले भन्नुभयो, ‘अहिले आफ्नै बारीमा काम गरेको छु, परिवारसँगै मिठोमसिनो खाएको छु, दुःखकष्ट सबै परिवारसँगै साटासाट भएको छ, अहिले म निकै खुसी छु ।’

श्रीमती, चार छोरा र दुई छोरी रहेका पोखरेलको परिवारमा एक छोरीको विवाह भइसकेको छ । परिवारका सबै सदस्यले आफूलाई सघाउने गरेको उहाँको भनाइ छ । बेरोजगार भएको धेरै गुनासो सुनिने गाउँमा अहिले कामदार खोज्दा पनि नपाइने गरेको पोखरेलको गुनासो छ । उहाँले अहिले दुईजनालाई राम्रै तलब दिएर कामदारका रूपमा राख्नुभएको छ ।

उहाँले बारीमै काम गरेर वार्षिक १२ लाखभन्दा बढी आम्दानी गर्दै आएको बताउनुहुन्छ । आफूले उत्पादन गरेका वस्तुहरूका लागि बजारको समस्यासमेत नभएको उहाँको भनाइ छ । ‘उत्पादन गर्नुपर्छ, जति पनि यही बजारमा बिक्री हुन्छ, धेरैजसो मान्छे घरमै आएर सामान लैजाने गर्दछन्,’ उहाँले भन्नुभयो, ‘मागअनुसारको उत्पादन गर्न सकिएको छैन, काम गर्ने कामदार पाइँदैनन्, एक्लै धेरै उत्पादन गर्न समस्या हुने रहेछ ।’

धर्मराजजस्तै निसीखोला गाउँपालिका–४ झिम्पाका रेमबहादुर क्षेत्री पनि युवाहरूका लागि प्रेरणाका पात्र बन्नुभएको छ । ३८ वर्षीय क्षेत्री पनि १५ वर्ष विदेशमा पसिना बगाएर अहिले गाउँमै व्यावसायिक कृषि पेशामा लाग्नुभएको छ । डेढ दशक बढी विदेशी भूमिमा रगतपसिना बगाउनुभएका रेमबहादुरले धेरै हण्डरठक्कर खाएपछि अहिले परिवारसँगै गाउँमा व्यवसाय गर्दा खुसी र सन्तृष्टि मिलेको बताउनुभयो ।

एक वर्ष भारत र १४ वर्ष कतारको मरुभूमिमा पसिना बगाउनुभएका केसीले विदेशमा सफलता प्राप्त गर्न नसकेपछि स्वदेश फर्केर कृषि पेशामा लाग्नुभएको हो । विदेशबाट फर्किएपछि १० वर्षअगाडि ५० हजार रुपैयाँको लगानीबाट तीन रोपनी क्षेत्रफलमा उहाँले फलफूल लगाउन सुरु गर्नुभएको थियो। अहिले लगानी र उत्पादन क्षेत्र बढाउनुभएको छ । क्षेत्रीले हालसम्म सात लाख बढी लगानी गरिसक्नुभएको छ ।

उहाँले १५ रोपनी जग्गामा फलफूल लगाउनुभएको छ । उहाँले अमिलो जातका फलफूललाई विशेष प्राथमिकता दिनुभएको छ। उहाँले पाँच रोपनी जग्गामा दुई सयवटा कागतीका बिरुवा, एक रोपनीमा २० ओखरका बिरुवा लगाउनुभएको छ भने अन्य ठाउँमा सुन्तला, मौसम, किबी, ओखर, अम्बा, टिमुरलगायत फलफूत तथा तरकारीका बिरुवाहरू लगाउनुभएको छ ।

हाल १५ रोपनी जग्गामा फलफूल खेती गरेको भन्दै क्षेत्रीले अब २५ रोपनी क्षेत्रफल विस्तार गर्ने बताउनुभयो। एक छोरा, एक छोरी र श्रीमतीसहित चारजनाको परिवार यही व्यवसायबाट चलेको उहाँको भनाइ छ । यो व्यवसायबाट परिवार सन्तुष्ट रहेको क्षेत्रीले बताउनुभयो । ‘जागिर खान सकिएन, विदेश गएर पनि राम्रो कमाइ गर्न सकिएन, अहिले गाउँ आएर कृषि गरेको छु, यो पेशाबाट सबै सन्तुष्ट छौँ,’ उहाँले भन्नुभयो ।

उहाँले फलफूलसँगै मौरीपालनमा पनि जोड दिनुभएको छ । अहिले उहाँको घरमा करिब १० घार मौरी छन् । फलफूल हुने ठाउँमा मौरीपालनका लागि उपयुक्त वातावरण हुने भएको हुुँदा मौरीपालन पनि जोडेको रेमबहादुर बताउनुहुन्छ । आफूले उत्पादन गरेका फलफूहरूले राम्रो बजार पाएको भन्दै गाउँमा सडक आएपछि थप सहजता थपिएको बताउनुभयो ।

उहाँले उत्पादन गरेको फलफूल कानाबजार, झिवाखोला, निसी, भल्कोट, देवीस्थान, बुर्तिबाङलगायत ठाउँमा पुग्ने गरेको छ । व्यवसायमा थप लगानी गरिरहेको भन्दै वार्षिक ४० लाख आम्दानी गर्ने लक्ष्य उहाँको छ । अहिले लगानी गरिरहेकै चरणमा भएको हुँदा आम्दानी भएको अधिकांश उत्पादनमै लगानी गरेको उहाँको भनाइ छ । उहाँले युवालाई स्वरोजगार बनाउने उद्देश्यसहित व्यवसाय गरिरहेको बताउनुभयो ।