वैदेशिक रोजगार विभागमा उजुरी दिने पीडितहरुको भिड।

[ रिता बस्नेत ] 

काठमाडौं:= ‘साउदीबाट नेपाल आएको १३ दिन भयो । गौशाला नजिकै रहेको एक होटलमा बसिराखेका छाँै रोजगारी भिसामा गएका थियौँ, धेरै दुःख पाएर बल्लबल्ल फर्किएर आयौँ। दुई हप्ता क्वारेन्टिनमा राखेर काम लगाउने भन्यो तर कम्पनीले एउटा कोठामा लगेर राख्यो मात्रै, काममा लगाउने, पैसा दिने, खाना दिने केही गरेन । हामी त्यहाँ बसुन्जेल नेपालबाट परिवारसँग पैसा मगाएर खाना किनेर खायौँ ।

म्यानपावरले विदेश जाँदा हामीले बुझाएको पैसाको बिलसमेत दिएको थिएन तर हामीसँग पैसा दिँदै गरेको भिडियो भएकाले त्यो प्रमाण लिएर आज यहाँ निवेदन दिन आएको’, यो गुनासो हो वैदेशिक रोजगार विभागमा पर्ने पीडितहरूको उजुरी सम्बन्धमा सल्लाह, सुझावका साथै निवेदन लेखिदिने कार्य गर्दै आएको पिपुल फोरममा भेटिएका तीनजना युवाको ।

पैसा फिर्ता पाउने आशाका साथ उजुरी दिन विभाग पुगेका ती पीडित युवाका अनुसार विमानस्थलस्थित एक म्यानपावरबाट सातजना युवा काम गर्ने सिलसिलामा साउदी अरेबिया ६ महिना अगाडि एकैदिन उडेका रहेछन् । तर, सो कम्पनीले उनीहरू सबैलाई रिसिभ गरेर त लग्यो न काम, न खाना, न पैसा केही पनि नदिई एक कोठामा विजोग बनाएर राखेछ ।

एउटै म्यानपावरबाट र एउटै प्रकृतिको ठगीमा परेका उनीहरूमध्ये तीन जनाको धनुषा र चार जनाको सर्लाही घर रहेछ । उजुरी लेखाउन आएका तीनजना पीडितले जनही एक लाख ५० हजार, एक लाख ८० हजार, एक लाख ५५ हजार सो म्यानपावरलाई बुझाएका रहेछन् ।

श्रममन्त्रीसँग सम्बन्धित व्यक्तिको चिनजान भएकाले उहाँकै सल्लाहनुसार विभाग आएको सुनाउँदै पीडितहरू भन्दै थिए, ‘हाम्रो अरू चारजना साथीहरूले उजुरी दिइसके, आज चाहिँ हामी तीनजना आएको । म्यानपावरलाई फोन गरेको उठाएन अनि मन्त्रीको स्वकीय सचिव हाम्रो चिनजानको दाइको साथी भएकाले म्यानपावरसँग पैसा माग्न नगई हामी यता (विभाग) उजुरी लेखाउन आएका हौँ ।’

करिब ६ महिना साउदीमा धेरै दुःख पाएर बसेका उनीहरूले त्यहाँ धेरै बिजोग भएपछि अनलाइन समाचारमा सम्पर्क गरेको सुनाउँदै भन्नुभयो, ‘न्यूजमा आएको थाहा पाएपछि कम्पनीले कोठाबाट निकालिदियो । त्यसपछि एक हप्ता बाहिर रोडमै बस्यौं र बल्लबल्ल यता (नेपाल) आयौँ ।’ साउदीको एक वायर हाउसमा काम गर्न गएको बताउने उनीहरू साउदीस्थित दूतावाससँग सम्पर्क गरी नेपालबाट परिवारसँग पैसा झिकाएर टिकट काटेर बल्लबल्ल नेपाल आएको सुनाउँछन् ।

गुनासो गर्दै पीडितहरू भन्छन्, ‘सरकारले म्यानपावरको घाँटी समाएर तह लगाए त हुन्थ्यो नि तर म्यानपावरलाई केही गर्दैन । हामीहरू तह लगाउन गयो भने, म्यानपावरले गुण्डा पालेका हुन्छन् । फसेको पैसा लिन गयो भने उल्टै हामीलाई पिटेर पठाउँछन्, यस्तो छ हाम्रो देशको अवस्था । यस्तो छ अवस्था, अनि कहाँ छ सरकार ?’

त्यसैगरी, पिपुल्स फोरममा भेटिनुएका सिन्धुली घर भएको बताउने अर्का एक युवा कतारबाट अघिल्लो दिन मात्रै काठमाडौं आइपुगेका रहेछन् । पैसा फिर्ता पाउने आशाका साथ निवेदन लेखाउन पुगेका उनी पनि चिनजानको छिमेकी एजेन्टमार्फत रोजगारीको सिलसिलामा तीन महिनाअघि कतार पुगेका रहेछन् उनी गुनासो गर्दै भन्छन्, ‘मलाई भने अनुसारको काम नदिएर अर्कै काम लगाएको र पैसा पनि कम दिएकाले घरायसी समस्या देखाएर नेपाल फर्केको हो ।

यताबाट म्यानपावर र उता कम्पनीलाई भन्दासमेत नेपाल नपठाएपछि त्यहाँको दूतावासलाई फोन गरेर सल्लाह गरेँ अनि फर्केको । हुन त श्रीमती पनि बिरामी नै थिइन् । त्यही रिपोर्ट देखाएर साथीभाइहरूसँग आर्थिक सहयोग मागेर आएको ।’ कतारस्थित कम्पनीले भने अनुसारको काम नदिएको, पैसा कम दिएको र काम परिवर्तन गरी माग्दासमेत वास्ता नगरेकाले स्वदेश फर्किएको बताउने उनले म्यानपावरलाई दुई लाख बुुझाएर विदेश उडेको गुनासो गरे ।

म्यानपावरसँग पैसा माग्दा उल्टै तेरै गल्ती छ भन्दै झपार्ने गरेको बताउने उनी अँध्यारो अनुहार, सुकेको ओठ र मलिन स्वर पार्दै भन्छन्, ‘अहिले म्यानपावरले तेरै गल्ती छ भन्छ । उसले कम्पनीबाट ननिकालेपछि अनेक प्रोसेस गरेर आएको । क्वारेन्टिनमा दुई हप्ता बसेको पैसा दिन्छ भन्थ्यो त्यो पनि दिएनन् । काम मात्रै गर्नुपथ्र्याे, भनेअनुसार खाना, ओभरटाइम काम केही पनि दिएन ।

गुजारा चलाउने काम मात्रै थियो ।’ विदेशमा फसेको दुःख सम्झिँदा अब त विदेश जाने कुरै सुन्न मन लाग्दैन भन्दै उनी चावहिल साथीकोमा गएर विभाग खोज्दै निवदेन दिन आएको बताए । उनी भन्छन्, ‘विभाग कति टाढा छ भनेर थाहा पनि थिएन, सोध्दै गाडी चढेर आएँ । खल्तीमा भएको एक सय रुपैयाँ पनि सकियो अब जाँदा हिँड्दै जान्छु ।’

पीडित उनले म्यानपावरलाई एक लाख आइएमई गरेर र एक लाख भने म्यानपावर व्यवसायीलाई हातमै लगेर दिएको सुनाए । र, नेपाल फर्कंदा थप दुई लाख ५७ हजार रुपैयाँ जति खर्च भएको रहेछ । जाँदा बुझाएको र आउँदा साथीभाइसँग उठाएर खर्च भएको पैसा क्षतिपूर्तिसहित उनी सम्बन्धित म्यानपावरविरुद्ध निवेदन बुझाउन विभाग पुगेका रहेछन् ।

एता, विभागमा उजुुरी दिन आउनेको भिडलाई सम्बोधन गर्दै वैदेशिक रोजगार विभागको महानिर्देशक शेषनारायण पौडेल उजुरी र गुनासोको सम्बोधनको व्यवस्थापनलाई प्राथमिकतामा राखेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘अहिले भएका धेरै कर्मचारीहरूलाई हामीले उजुरी, गुनासो, मुद्दा मामिलातिर लगाएका छौँ ।

प्रहरी पनि डिएसपीको कमाण्डमा विभाग आएर बसेको छ । प्रहरीले पनि धेरै उजुरीहरू हेरेको छ । गुनासो सम्बोधन हुँदैन, निवेदन दिए पनि उजुरी सम्बोधन ढिला हुन्छ भन्नेहरू पनि अहिले त्यो सोचाई लिनुभएको अवस्था छैन । हामीले उजुरीलाई गम्भीर रूपले लिएर कारबाही गरेको हुनाले पनि उजुरी बढेको अर्थात् पीडितको आशा पालाएको हो ।’

उहाँका अनुसार एक महिनामा विभागमा भएको प्रहरी शाखाले मात्रै एक करोड २२ लाख रुपैयाँ पीडितको फिर्ता गरिसक्यो । र, दुई करोड ८० लाख फिर्ता गर्ने प्रक्रियामा छ । विभागका अन्य मुद्दा शाखा, राहत उद्धार शाखा लगायतले गर्ने काम त छँदै छ तर विभागमा प्रहरी सहायता केन्द्र बसेको एक महिनामै धेरै पीडितले राहत पाएको उहाँको भनाइ छ ।

महानिर्देशक पौडेलले हालसम्म म्यानपावर व्यवसायीहरूलाई कानुनअनुसार सजाय नभइराखेको जानकारी गराउनुभएको छ । उहाँले भन्नुभयो, ‘म्यानपावर व्यवसायीहरूलाई वैदेशिक रोजगारी विभागका ठगीउपर जुन दफाहरू लगाउनुपर्ने हो अर्थात् जुन दण्ड सजायको महललाई अक्षरशः पालना गर्नुपर्ने हो, त्योभन्दा अर्कै दफाहरू लगाइराखेको रहेछौँ ।

म्यानपावर व्यवसायीहरूले श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारमा पठाउन पाउँछ । त्योबाहेक साइप्रस लगायतका देशहरू पठाउने वा भिजिट भिसामा पठाउनेलाई वैदेशिक रोजगारी ऐनको दफा ४४ लाग्छ । यो भनेको कम्तिमा तीनदेखि सात वर्षसम्म कैद, म्यानपावर कम्पनी रद्द र जति पैसा लिएको छ त्यसको ५० प्रतिशत थपेर क्षतिपूर्ति र तीन लाखदेखि पाँच लाखसम्म जरिवाना हुने हो ।

जुन, हामीले अनुसन्धान गरेर वैदेशिक रोजगार न्यायधीकरणले फैसला गर्ने हो । यो ४४ दफा हामीले नलगाएर आजसम्म ५१ दफा लगाइराखेका रहेछौँ । त्यो भनेको कमजोर दफा हो अर्थात् श्रम स्वीकृति लिएर जादाखेरि समस्यामा पर्ने ५१ दफा हो ।’ विभागमा आएका धेरैजसो श्रम स्वीकृति लिएर जानेभन्दा बाहिर (अमेरिका, युरोप आदि) जान खोजेर फसेकाहरू धेरै आउने गरेको उहाँले बताउनुभयो ।

उहाँले भिजिट भिसामा पठाइदिन्छु भनेर पैसा लिएका मुद्दाहरू पनि धेरै विभागमा दर्ता भएको जानकारी गराउनुभयो । गत माघ अन्तिमतिर विभागमा नियुक्त हुनुभएका महानिर्देशक पौडेलले कुनै पनि म्यानपावर व्यवसायीले अमेरिका, युरोप अथवा श्रम स्वीकृति नलिईकन विदेश पठाउँछु भन्छ भने उसलाई दफा ४४ लाग्ने बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, ‘हामीले अनुसन्धान अधिकृत तोकेर दफा ४४ को प्रक्रिया अगाडि बढाइसकेपछि अहिले पीडितको पैसा उठ्ने दर निकै बढेर गएको छ । जो ठगी गरिराखेका छन्, उनीहरू अब हामी मुद्दा मामलामा जाने भयौ, जेल बस्नुपर्ने भयो भन्ने डरले मिलापत्र गर्छौं, लगेको पैसा दिन्छौँ भन्ने किसिमले मेलमिलापमा आइराख्नु भएको छ । त्यही भएर तपाईंहरूले बाहिर भिड देख्नुभएको पनि आशा पलाएर आउनुभएका पीडितहरूको भिड हो, जुन सकारात्मक कुरा हो ।’

‘फ्री भिसा फ्री टिकट’को व्यवस्था हटाउन सक्दिनँ : मन्त्री किसान

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले ‘फ्री भिसा फ्री टिकट’को व्यवस्था हटाउन नसक्ने बताउनुभएको छ । मन्त्रालय सम्हालेको १७२ दिन पूरा भएको दिन सोमबार पत्रकार सम्मेलनमार्फत मन्त्री किसानले यस्तो बताउनुभएको हो ।

वैदेशिक रोजगारीको लागि मलेसियालगायत खाडी मुलुक जाने युवाहरूको लागि मात्र १० हजार शुल्क लाग्ने व्यवस्था छ । तर, सो नियम व्यवहारमा भने लागू भएको देखिँदैन अर्थात् म्यानपावर व्यवसायीहरूले १० हजारको सट्टा ८० हजारदेखि दुई लाख ५० हजारसम्म असुल्दै आएका छन् ।

सोही विषयलाई लिएर म्यानपावर व्यवसायी मारमा परेको आशय व्यक्त गर्दै मन्त्री किसान भन्नुहुन्छ, ‘वैदेशिक रोजगारीमा जाने श्रमिकको लागि १० हजार लागत तोकिएको छ, जुन मेरो पालामा तोकिएको होइन । यसमा अहिलेको नेतृत्व सन्तुष्ट छैन, म सन्तुष्ट छैन । चुनाव लड्नुपर्ने मान्छे, यस्तो राम्रो नारा किसान मन्त्रीले हटाइदियो भनेर मलाई बसिखानु हुँदैन । त्यसैले, अहिले चुनाव आउन लागेको बेलामा यो ‘फ्री भिसा फ्री टिकट’ म हटाउन सक्दिनँ ।’

मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले आजसम्म गरेका काम, कारबाही तथा हासिल गरेका उपलब्धिहरू, मन्त्री किसानको नेतृत्वमा प्रतिनिधि मण्डल संयुक्त अरब इमिरेट्स, सिसेल्स तथा कतार भ्रमणको लागि गएको प्रतिनिधि मण्डलले गरेका महत्वपूर्ण भेटघाट, भेटघाटका क्रममा उठाइएका विषयवस्तुहरू तथा हासिल गरेको उपलब्धिहरू र आगामी दिनमा सेवा प्रवाह, नियमन तथा कल्याणकारी कामको क्षेत्रमा केही थप प्रभावकारी कामहरू गर्नेबारे जानकारी गराइएको थियो ।