काठमाडौं:= सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले चुनावी गठबन्धनलगायत विषयमा आज निर्णय गर्ने भएको छ । शुक्रबारदेखि जारी केन्द्रीय समितिको बैठकमा पदाधिकारी, प्रदेशसभापति, केन्द्रीय सदस्य र एकमहिने अभियानका लागि खटिएका केन्द्रीय प्रतिनिधिले धारणा राख्नेक्रम सोमबार सकिएसँगै आज निर्णय सार्वजनिक गरिने भएको हो । बैठकमा गाउँ गएका नेताहरूले पार्टीको अवस्थाबारे विवरण पेश गरेका थिए । कतिपयले गठबन्धनका पक्षमा त कतिले एक्लै चुनाव जितिने विवरण बैठकमा पेश गरेका छन् । तर, अधिकांश केन्द्रीय प्रतिनिधि र केन्द्रीय सदस्यहरू गठबन्धनको पक्षमा देखिएका छन् ।
मंगलबार ३ बजे बस्ने बैठकले पार्टीलाई स्थानीय चुनावमा कसरी प्रस्तुत गर्नेलगायत विषयमा निर्णय गर्ने जानकारी दिँदै पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले भन्नुभयो, ‘केन्द्रीय समितिमा गठबन्धनलाई कायमै राख्ने कुरा भएको छ । तालमेल गरेर जाँदा नै पार्टीले धेरै सिट जित्ने अधिकांश साथीहरूले बताउनुभयो । एक्लै गएर परीक्षणमा राख्नुपर्छ भन्ने मत पनि आएका छन् । तर, अधिकांशहरूको मत गठबन्धन कहाँ गर्ने र कहाँ नगर्ने निक्र्योल गर्नुपर्ने सुझाव आएको छ । गठबन्धन गर्दा पार्टीको उक्त स्थानको अवस्थासमेत हेर्नुपर्ने सुझाव आएको छ । बैठकमा आएको सुझावअनुसार निर्णय लिनका लागि एउटा प्रस्ताव तयार गर्ने अनि त्यसलाई नै केन्द्रीय समिति बैठकबाट पारित गरिनेछ ।’
प्रवक्ता महतले विशिष्ट परिस्थितिमा बनेको गठबन्धन भएको र एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको असंवैधानिक कार्यको विरोधमा गठबन्धन भएकाले यसलाई निरन्तरता दिनुपर्ने आवाज धेरै आएको दाबी गर्नुभयो ।
देउवा र कोइरालाबीच सवालजवाफ
केन्द्रीय समितिको सोमबार बसेको बैठकमा गठबन्धनको पक्षमा रहनुभएका पार्टी सभापति शेरबहादुर देउवा र विपक्षमा रहनुभएका केन्द्रीय सदस्य डा. शेखर कोइरालाबीच गठबन्धनबारे सवालजवाफ भएको छ । बैठकमा धारणा राख्दै पार्टीभित्र संस्थापनइतर समूहको नेतृत्वसमेत गरिरहनुभएका डा. कोइरालाले आसन्न निर्वाचनमा गठबन्धन गर्ने/नगर्ने निर्णय केन्द्रले गर्न नमिल्ने जिकिर गर्नुभयो ।
डा. कोइरालाले केन्द्रले गठबन्धन गर्ने निर्णय गर्दा तलको कार्यकर्ताले मानेनन् भने के हुन्छ ? भन्दै प्रश्नसमेत गर्नुभयो । गठबन्धन गरेर चुनाव जित्छु भन्ने आशाभन्दा पार्टीभित्रै सबै गुट उपगुटबीचको एकतामा जोड दिँदै कोइरालाले भन्नुभयो, ‘गठबन्धन कोसँग, किन, केका लागि गर्ने हो ? किन आवश्यक हो ? अरू पार्टीसँग गठबन्धन गर्नुभन्दा आफ्नै पार्टीभित्रको एकतामा किन जोड नदिने ? त्यसतर्फ ध्यान दिँदा के हुन्छ ?’
केन्द्रबाट गठबन्धन गर्छु भनेर निर्णय गर्दा तल्ला तहका कार्यकर्ताबीच भावनात्मक एकता हुन नसक्ने र त्यसले नतिजा प्रभावित हुने जिकिर गर्दै कोइरालाले भन्नुभयो, ‘गठबन्धन गर्ने भनेर यहाँबाट निर्णय गर्दा तलका कार्यकर्ताबीच एकता हुन सकेन भने के हुन्छ ? त्यसपछिको अवस्थाबारे कसले जिम्मेवारी लिन्छ ? हामीले त्यता ध्यान दिन जरुरी छ । यसरी केन्द्रबाट गठबन्धन गर्ने भन्ने निर्णय गरेर लाद्ने काम नगरौँ ।’
गठबन्धनको विपक्षमा धारणा राख्नुभएका डा. कोइरालालाई लक्षित गर्दै सभापति देउवाले भन्नुभयो, ‘गठबन्धन नहुँदा मैले नै बालबाल जितेको हुँ । गठबन्धन नगरेर के गर्ने त ? गठबन्धन गरेर जाने हो भने अहिले हामी सबै सिट जित्छौँ, पहिले धेरै साथीहरू हार्नुभएकै हो । जित्नका लागि गठबन्धन नगरे अर्को के उपाय छ ?’ बैठकमा डा. कोइरालाको प्रश्न थियो, ‘गठबन्धन किन गर्ने ? रुष्ट कार्यकर्तालाई सम्बोधन नगरी कसरी अघि बढ्नुहुन्छ ? सभापतिले नै एमाले बलियो छ भनेपछि कार्यकर्ताको मनोबल कसरी माथि उठाउन सकिन्छ ? कांग्रेसको नीति र सिद्धान्तलाई तिलाञ्जली दिएर कसरी माओवादीलाई बोक्न सकिन्छ ?’
डा. कोइरालाले राखेको प्रश्नको जवाफ दिँदै सभापति देउवाले भन्नुभयो, ‘म कांग्रेसको सिद्धान्त कसरी तोड्छु ? माओवादीलाई मैले ल्याएको हो ? हिजो गरिजाबाबुलाई प्रश्न गर्न सक्नुभयो ?’ अहिले माओवादीलाई बोक्यो भन्ने ? हिजो गठबन्धन नगर्दा तपाईंहरू पनि हार्नुभएको हैन ? साथीहरू, मेरो आइडियोलोजीमा शंका नगर्नुहोस् । म धेरै लडेको मान्छे हुँ, म अब पार्टी सभापति हुने पनि होइन, तपाईंहरू जो–जो हुने हो, मिलेर अघि बढ्नुस् ।’
सभापति देउवाले द्वन्द्वकालमा माओवादीले सबैलाई दुःख दिएको भए पनि अहिले ती कुरा सम्झिएर मात्र नहुने सुनाउँदै भन्नुभयो, ‘मलाई पनि माओवादीले पहिले गोली हानेकै हुन् । तर, अब पुराना कुरा सम्झिएर केही हुँदैन, सबैको सल्लाहमै गठबन्धन भएको हो । त्यसकारण आगामी चुनावमा पनि गठबन्धन गरेर जाऔँ ।’
डा. शेखरलाई लक्षित गर्दै सभापति देउवाले अघिल्लो निर्वाचनमा पनि यसरी नै बोलेका कारण गठबन्धन नभएको आरोप लगाउँदै भन्नुभयो, ‘हिजो पनि तपाईंहरूले यसरी नै बोलेर गठबन्धन बन्न नसकेको होइन ? कांग्रेसको नीति सिद्धान्तका बारेमा मलाई नसिकाउनुहोस् । म कांग्रेसका लागि जीवन काटेको मान्छे हुँ ।’
चुनावी तालमेलबारे पहिले नै सहमति भइसकेकोे थियो : खाँण
गठबन्धनबारे केन्द्रीय समिति बैठकमा पक्ष÷विपक्षमा बहस भइरहँदा गृहमन्त्रीसमेत रहनुभएका केन्द्रीय सदस्य बालकृण खाँणले भने चुनावी गठबन्धन गर्ने सहमति गठबन्धन सरकार बनाउने बेला नै भएको खुलासा गर्नुभएको छ । केन्द्रीय समिति बैठकमा गठबन्धनको विपक्षमा धारणा राख्नुभएका डा. शेखर कोइरालापछि बोल्नुभएका खाँणले भन्नुभयो, ‘चुनावी गठबन्धनको मोडालिटीमा भने छलफल हुनु जरुरी छ । सरकार बनाउने बेला नै तीनै तहका निर्वाचनमा गठबन्धन गरेर जाने सहमति थियो । अहिले तोड्न हुँदैन ।’ गठबन्धनका नाममा आफ्नो संगठन अलग-अलग पार्न भने नहुने खाँणको भनाइ थियो ।
ओलीलाई बलियो बन्न नदिन गठबन्धन जरुरी छ : पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आसन्न स्थानीय तह निर्वाचनमा गठबन्धन गर्नुपर्नेमा जोड दिनुभएको छ । सोमबार पार्टीको केन्द्रीय समिति बैठकमा नेता पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बलियो बन्न दिन नहुने भन्दै गठबन्धन जरुरी रहेको जिकिर गर्नुभयो । माओवादी केन्द्र र एकीकृत समाजवादीलाई साथमा राखेर भए पनि ओलीलाई साइजमा राख्नुपर्नेमा नेता पौडेलको भनाइ थियो । उहाँले भन्नुभयो, ‘गठबन्धन नगरी जाँदा नेकपा एमालेलाई फाइदा हुन्छ, त्यो काम कांग्रेसले गर्न हुँदैन । ओलीलाई थप बलियो बनाउने कार्य कांग्रेसले गर्नुहुन्न । बरु प्रचण्ड-माधवलाई अलिअलि मत थप्ने काम गरेर कांग्रेसले सहयोग गर्नुपर्छ ।’
कांग्रेस महामन्त्री गठबन्धनको पक्ष र विपक्षमा विभाजित
नेपाली कांग्रेसका महामन्त्री गठबन्धनको पक्ष र विपक्षमा उभिनुभएका हुनुहुन्छ । महामन्त्री गगन थापा गठबन्धन गर्न नहुने पक्षमा उभिनुभएको छ भने अर्का महामन्त्री विश्वप्रकाश शर्मा गठबन्धनको पक्षमा देखिनुभएको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकमा महामन्त्री थापाले गठबन्धनलाई सैद्धान्तिक हिसाबले पुष्टि गर्न नसकिने भन्दै आफू गठबन्धनको पक्षमा नरहेको बताउनुभएको हो । पहिलोपटक मत हाल्ने मतदातालाई योपटक रूखबाहेक अन्यन्त्रै भोट हाल्न लगाइने हो भने पछिल्ला चुनावमा रूखमा मत माग्न नसकिने भन्दै थापाले भन्नुभयो, ‘देशभरमा लाखौँ नयाँ मतदाता छन्, उनीहरूलाई पहिलोपटक नै रूखमा भोट हाल्न लगाउने हो । अहिले रूख बाहेकमा भोट हाल्न लगाउने हो भने उनीहरूले भविष्यमा रूखमै भोट हाल्छन् भन्ने के ग्यारेन्टी ? अहिले हसियाँ हथौडा र कलममा भोट हालेको मतदाताले अर्को चुनावमा रूखमै भोट हाल्ला त ?’ महामन्त्री थापाले हिजो संविधान र लोकतन्त्रका लागि हतियार उठाएका कम्युनिष्ट पार्टीलाई शान्तिपूर्ण राजनीतिमा ल्याइएको भन्दै अहिले उनीहरूलाई मिल्न नदिँदैमा संविधान र लोकतन्त्र जोगिन्छ भन्ने नभएको जिकिर गर्नुभयो ।
यता, बैठकमा महामन्त्री शर्माले स्थानीय तहको निर्वाचनमा आवश्यकता हेरेर मात्रै गठबन्धन सम्बन्धमा निर्णय गर्नुपर्ने धारणा राख्नुभएको छ । अघिल्लो चुनावमा कांग्रेसले ल्याएको मत र अरू पार्टीले ल्याएकोमा के फरक छ ? भन्ने बारेमा स्पष्ट पार्दै महामन्त्री शर्माले भन्नुभयो, ‘कुनै ठाउँमा एमाले हामीभन्दा सात हजार मतले अगाडि छ । अहिले हामीले भोट घटाएर तीन हजारले हार्नुभन्दा चार हजार मत भएको माओवादीलाई मिलाउँदा फाइदा हुन्छ । गठबन्धन गर्न हुँदैन भन्ने होइन । आवश्यकताका आधारमा गठबन्धन गर्नुपर्छ ।’
स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन दलबीच चुनावी तालमेल गर्ने मत बलियो भए पनि कांग्रेसभित्र त्यसको संयन्त्रबारे प्रश्न उठेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच तालमेलका लागि स्थानीय तहसम्म संयन्त्र बनाउन छलफल भइरहेका बेला केन्द्रीय कार्यसमिति बैठकमा संयन्त्रबारे प्रश्न उठेको हो । चुनावी अभियानमा जिल्ला पुगेर आएका नेताहरूले केन्द्रीय कार्यसमितिको जारी बैठकमा पार्टीभित्र एकता र विश्वासको वातावरण मिलाएर तालमेल गर्नुपर्ने धारणा राखेका छन् । उनीहरूले चुनावी तालमेल भए साझा उम्मेदवारलाई गठबन्धनको मतदान हुने गरी संयन्त्र बनाउन भने कठिन हुनसक्ने जिकिर गरेका छन् ।
बैठकमा धारणा राख्दै केन्द्रीय सदस्य एनपी साउदले मतदाताको भोट अर्को दललाई ट्रान्सफर गर्ने संयन्त्र भरपर्दो बनाउनुपर्ने बताउँदै भन्नुभयो, ‘सत्तारूढ दलबीच तालमेल भएमा चुनाव जित्न सहज हुने भन्दै कार्यकर्तामा उत्साह देखिएको छ, तर गठबन्धनलाई सुदृढ बनाएर विश्वासको वातावरण निर्माण गर्न सकिएन भने नसोचेको परिणाम आउन सक्छ ।’ विगतको चुनावी तालमेल सफल नभएको भन्दै केन्द्रीय सदस्यहरूले विगतको अवस्था आउन नदिन समयमै तालमेल कसिलो पार्ने संयन्त्र बनाउनुपर्नेमा जोड दिएका थिए ।
बैठकमा अर्का केन्द्रीय सदस्य रमेश लेखकले सत्ता गठबन्धनमा प्रभाव नपर्ने केन्द्रीय समितिबाट निर्णय हुनुपर्ने बताउनुभएको छ । बैठकमा धारणा राख्दै नेता लेखकले भन्नुभयो, ‘हामी गठबन्धन सरकारको नेतृत्व गरिरहेका छौँ । सरकारमा प्रभाव पर्ने गरी पार्टीले निर्णय लिनुहुँदैन भन्ने मेरो मत छ । कांग्रेस गठबन्धनको पक्षमा उभिनुपर्छ । तर, स्थानीय तह निर्वाचनमा गठबन्धन गर्दा तल्लो तहका नेता कार्यकर्ताको मनोविज्ञान ख्याल गर्नुपर्छ । केन्द्रले गठबन्धन गर्दा तल्लो तहमा निराशा पैदा हुने अवस्था हुन दिनुहुन्न । तल्लो तहको भावना र स्थानीय आवश्यकताअनुसार गठबन्धन गर्नुपर्छ ।’




















