नेपालका प्रधानमन्त्री देउवा शुक्रबार भारत भ्रमणमा जाँदै।

काठमाडौं := प्रधानमन्त्री शेरबहादुर देउवा चैत १८ गते शुक्रबार भारत भ्रमणमा जानुहुने भएको छ । तीनदिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री देउवा नेपाली प्रतिनिधिमण्डलसहित शुक्रबार भारत प्रस्थान गर्ने नेपाल र भारतको विदेश मन्त्रालयले सोमबार छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै औपचारिक जानकारी गराएका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा पत्नी आरजू राणासहित प्रधानमन्त्री देउवा भारत जानुुहुने भएको हो ।

भारत भ्रमणको क्रममा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी मोदीसँग शनिबार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भ्रमणको क्रममा दुई देशको सम्बन्ध विस्तार र सहकार्य थप मजबुत बनाउनेबारे छलफल हुने जनाइएको छ । परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार चैत १९ गते भारतीय प्रधानमन्त्री मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ।

साथै, भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवासहितको प्रतिनिधिमण्डलको सम्मानमा दिवा भोजको आयोजना गर्नुहुनेछ । पाँचौँपटक प्रधानमन्त्री भएपछि देउवाले गर्न लागेको यो पहिलो द्विपक्षीय विदेश भ्रमण हो । त्यसैगरी, प्रधानमन्त्री देउवासँग भारतीय विदेशमन्त्री तथा भारत सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकारले भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ । त्यस्तै, प्रधानमन्त्री देउवाले भारत भ्रमणको अवसरमा नयाँदिल्लीमा व्यापारीको भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री देउवाले नयाँदिल्लीमा कार्यक्रमहरू सकेपछि उत्तर प्रदेशको वराणासी भ्रमण गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री देउवा चैत २० गते आइतबार स्वदेश फर्कने कार्यक्रम छ । ‘भारत र नेपालबीच सदियौँ पुरानो र विशेष मित्रता र सहयोगको सम्बन्ध रहेको छ ।

हालका वर्षहरूमा सहयोगका क्षेत्रमा साझेदारी उल्लेखनीय वृद्धि भएको छ । आगामी भ्रमणले दुई पक्षलाई यो व्यापक साझेदारीको समीक्षा गर्ने र दुई देशका जनताको हितमा अघि बढ्न अवसर प्रदान गर्नेछ,’ भारतको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ । नेपालमा चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले तीनदिने भ्रमण गरेलगत्तै देउवा भारत भ्रमणमा निस्कन लाग्नुभएको हो । फाइल फोटो ।