काठमाडौं:= नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं चौधरी फाउन्डेसनका अध्यक्ष विनोद चौधरीले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका १२ गिरानचौरमा निर्माण भएको नम्डोललिङ एकीकृत बस्तीको उद्घाटन गर्नुभएको छ । गिरानचौरमा आयोजित एक कार्यक्रमबीच उहाँले एकीकृत बस्ती उद्घाटनसँगै निर्माण भएका ६२ घर स्थानीय नम्डोललिङ एकीकृत बस्ती तथा संस्कृति संरक्षण समितिमा आबद्ध परिवारलाई हस्तान्तरण गर्नुभएको हो ।
चौधरी फाउन्डेसनसँग गिरानचौरवासीले सहयोग मागेपछि फाउन्डेसनले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँगको सहकार्यमा उक्त एकीकृत बस्ती निर्माण गरेको हो । नम्डोललिङ एकीकृत बस्ती तथा संस्कृति संरक्षण समिति मातहतका परिवारले श्रमदान र स्थानीयस्तरमा उपलब्ध निर्माण सामग्रीको संकलनमा सहयोग गरेका थिए ।
फाउन्डेसनका अध्यक्ष चौधरीले भूकम्पपीडितलाई सुन्दर बस्ती उपहार दिन पाउँदा सन्तोष लागेको भन्दै भविष्यमा पनि कार्यक्रमलाई सीमान्तकृत वर्गमा पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामीले भवन हस्तान्तरण गर्दैमा मात्र आफ्नो जिम्मेवारी सकिएको ठान्दैनौँ, यहाँका बासिन्दाको जीवनयापन सहज बनाउन पनि लागिपरेका छौँ, ‘एकीकृत बस्तीका बासिन्दालाई आर्थिकरूपले सम्पन्न बनाउने योजना पनि बनाएका छौँ ।’
फाउन्डेसनले स्थानीयवासीलाई सिएसइबी प्रविधिअनुसारका इँटा उत्पादन गर्ने सीप, डकर्मी, काठको काम, भवन निर्माणमा आवश्यक अन्य सीप सिकाएर घर प्राप्तिपछि पनि आफ्नो जीविकोपार्जनका लागि रोजगार हुन सक्ने बनाएको छ । फाउन्डेसनका अध्यक्ष चौधरीले इँटा उत्पादन गर्ने मेसिन नम्डोललिङ एकीकृत बस्तीको स्वामित्वमा रहने गरी हस्तान्तरण गर्र्नुभयो ।
हस्तान्तरित एकीकृत बस्तीमा निर्माण गरिएका घरमा तीन कोठा, शौचालय र करेसाबारी रहेका छन् । घर निर्माणमा प्रयोग भएका करिब दुई लाख इँटा गाउँमै तयार गरिएको हो । जसका लागि आवश्यक उपकरण, तालिम र अन्य सामग्री चौधरी फाउन्डेसनले प्रदान गरेको थियो ।
फाउन्डेसनले बस्ती नजिकको महाकाली माध्यमिक विद्यालयमा डिजिटल क्लासरुमसमेत स्थापना गरेको छ भने स्थानीय स्वास्थ्य चौकीमा उपचारका लागि आवश्यक सामग्री र उपकरण उपलब्ध गराउने भएको छ ।
सो अवसरमा जिल्ला समन्वय समिति अध्यक्ष कृष्णगोपाल तामाङले नम्डोललिङ एकीकृत बस्ती आफ्नो जिल्लाकै गहनाका रूपमा रहने भन्दै निर्माण र स्थानीयवासीको जीवनस्तर उकास्न सहयोग गरेकोमा फाउन्डेसन र प्राधिकरणलाई धन्यवाद दिनुभयो ।
समितिका अध्यक्ष कर्माश्री लामाले नयाँ प्रविधिमा बनेका चिटिक्कका घरमा बस्न पाउँदा वर्षौंको सपना पूरा भएको बताउनुभयो । फाउन्डेसनका उपाध्यक्ष निर्वाण चौधरीको पहलमा विश्वविख्यात ट्युनेसियाका पेन्टर तथा मूर्तिकार एल सिडले गिरानचौर आएर स्थानीय महिलालाई रङरोगन कला पनि सिकाएका थिए ।
बस्तीमा निर्माण भएका घरको रङरोगन एलबाट प्रशिक्षित स्थानीय महिलाले गरेका थिए । उहाँ आफैंले पनि योगमायाको कवितालाई अरबी भाषामा अनुवाद गरेर एकीकृत बस्तीमा ‘मिउरल आर्ट’ बनाउनुभएको थियो, जसलाई पछि दुबई एक्स्पोमा प्रदर्शनीमा राखिएको थियो ।




















