[ चिसाङ शेर्पा ]
खोटाङ := खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेको सिमाना साप्सुखोलास्थित बाटोफेदीमा मोटरेबल पुल निर्माण भएपछि खोलामा गाडी कुदाउनुपर्ने बाध्यता हटेको छ ।
सो गाउँपालिकाले खाल्लेको आहालेबाट साप्सुखोला हुँदै याम्खासम्म विस्तार गरेको सवैभन्दा छोटो दुरीको सडक खोलेपछि साप्सुखोलामा सोही गाउँपालिकाले पुल बनाएको हो। पुलको ७ चैत्रमा प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको थियो ।
४० मिटर लम्बाई, ६ मिटर चौडाईको प्रिस्ट्रेल बिम मोटरेबल पुलका लागि गाउँपालिकाले भ्याटसहित ५ करोड ६० लाख १० हजार ५४५ रुपैयाँ वजेट खर्चेको हो । छोटो दुरीको सडक विस्तार गरिए पनि हिउँदमा जोखिम मोलेर साप्सुखोलाबाटै यातायातका साधन सञ्चालन गर्दा दुर्घट्ना हुने र बर्खामा यातायात ठप्प हुने भएपछि पुल निर्माण गरिएको दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताउनुभयो ।
साप्सुखोलामा मोटरेबल पुल सञ्चालन भएपछि उक्त गाउँपालिकासहित खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका र बराहपोखरी गाउँपालिकालाई बिकासे काम गर्न सहज हुने भएको छ । मोटरेबल पुल नहुंदा बर्खामा बस तथा ढुवानी गर्ने गाडीहरु बन्द हुने गर्दथ्यो । मोटरसाईकल नजिकैको झोलुङगे पुलबाट तारिने गरिएको थियो ।
तस्वीर: साप्सुखोलाको नवनिर्मित पुलको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री शेरबहादुर देउवा ।




















