काठमाडौं := विदेशबाट हवाईमार्ग हुँदै नेपाल आउने यात्रुले अब सीसीएमसीसी अनलाइन फारम भर्नु नपर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले बिहीबार यस्तो निर्णय भएको जानकारी गराए ।
शुक्रबार गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालको २४ औं वार्षिक साधारणसभाका अवसरमा आयोजित कार्यक्रममा सचिव न्यौपानेले यस्तो जानकारी गराएका हुन् । ‘म तपाईंहरुलाई एउटा खुसीको कुरा शेयर गर्न चाहन्छु,’ पर्यटन व्यवसायीहरुसँग उनले भने, ‘व्यवसायीले निकै झन्झट बेहोर्नुपरेको भनि आएको गुनासो सरकारले सम्बोधन गरेको छ।’
सचिव न्यौपानेले विदेशी मुद्रा आर्जन गर्न पर्यटनको ठूलो महत्व हुने भन्दै सरकारले पनि विशेष महत्व दिने बताए । ‘अब पर्यटनका माध्यमबाट गाउँगाउँले लाभ लिनुपर्छ,’ उनले भने, ‘सरकारले पनि यस्तै नीति लिएको छ ।’
कोरोना भाइरसको महामारीसँगै सरकारले नेपाल आउने सबै यात्रुले अनलाइन फारम भर्नुपर्ने नियम ल्याएको थियो । यसले यात्रुको ट्रयाकिङ गर्न सघाउ पुग्ने अपेक्षा गरिएको थियो । तर, कोरोना महामारी फैलिएसँगै ट्रयाकिङ गर्ने काम समेत सफल हुन सकेको थिएन । तर, झन्झट भने कायम रहेको भन्दै व्यवसायीले हटाउन माग गरेका थिए। #अनलाइन खबर





















