मासिँदो क्रममा रहेको सिमसार जोगाउन कोशी टप्पु क्षेत्रको ४५ हेक्टर क्षेत्र हराभरा पारिँदै।

सुनसरी := मासिँदो क्रममा रहेको सिमसार जोगाउन कोशी टप्पु वन्यजन्तु आरक्षअन्तर्गत रहेको मध्यवर्ती क्षेत्रको ४५ हेक्टर क्षेत्र सफाइको काम थालिएको छ । सिमसार मासिँदा लोप हुन थालेका माछा र चरासहितका सरिसृप प्रजाति जोगाउने उद्देश्यले आरक्ष हातासँगै मध्यवर्ती क्षेत्रमा पर्ने सिमसार क्षेत्र संरक्षणको काम अघि बढाइएको हो ।

संरक्षणअन्तर्गतको काममा सिमसारमा आश्रित समुदायलाई रोजगारी प्रदान गरिएको छ । जीविकोपार्जन सहयोगका रूपमा स्थानीय जनशक्ति परिचालन गरी सिमसारबाट जलकुम्भीका साथै मिचाहा प्रजातिका झारपात हटाउने कार्यलाई अघि बढाइएको छ ।  सिमसार सफाइ थालेसँगै स्थानीयले परिवर्तनको आभाससमेत गर्न थालेका छन् । हराउँदै गएका माछा र चराको विचरण बढ्न थालेको उनीहरू बताउँछन् ।

संरक्षित क्षेत्रका रूपमा रहेको कोशी टप्पुको सिमसार क्षेत्र पछिल्लो समय भने जलकुम्भी र मिचाहा प्रजातिका कारण मासिँदो क्रममा छ । सफाइका क्रममा सिमसार क्षेत्रबाट निकालिएको जलकुम्भीलाई कम्पोष्ट मल बनाउने गरी तयारीसमेत गरिएको छ ।

मानव र वन्यजन्तुबीचको द्वन्द्व अन्त्य गर्दै चरा र वन्यजन्तुको संरक्षणको उद्देश्य साथ कोशी टप्पु टु कन्चनजंगा बेल्ट परियोजनाअन्तर्गत कोशी टप्पुमा संरक्षणका काम अघि बढाइँदै आइएको हो । परियोजनाअन्तर्गत सिमसार क्षेत्र बढाउन ४५ हेक्टर जग्गा खरिदसमेत गरिसकिएको छ ।

थप जग्गा खरिदको क्रमसमेत अघि बढाइएको छ । सिमसार तथा सिमसारमा आश्रित जलचर र जीवजन्तुको संरक्षण गर्नु बेल्टको प्रमुख उद्देश्य रहेको छ । बेल्टअन्तर्गत सुनसरीतर्फको सिमसार संरक्षण तथा त्यसको प्रवद्र्धनको जिम्मेवारीको काम भने कोशी टप्पु लर्निङ ग्राउन्डले हेर्दै आएको छ ।

क्षेत्र विस्तारसँगै सिमसारलाई २०६५ मा कोशी बाँँध फुट्नुपूर्वको अवस्थामा फर्काउन केटीके बेल्ट र भर्टिकल बायोडाइभर्सिटी फन्डले सो क्षेत्रमा ठूलो धनराशि खर्च गर्दैछ ।वातावरणीय परिवर्तन र जैविक विविधताको संरक्षणमा वैज्ञानिक विधि अवलम्बन गर्दै अघि बढ्ने लक्ष्य लिएको परियोजनाले सिमसार सफाइ, क्षेत्र विस्तार र अध्ययन अनुसन्धानको काम अघि बढाउँदै लगेको छ ।

त्यसका साथै माछा तथा चरासँगै सिमसारमा आश्रित जीवजन्तुको बासस्थान पहिल्याउँदै दिगो संरक्षणमा जोड दिन नेपाल र भारत दुई देश सम्मिलित विज्ञ टोलीले अध्ययन तथा अनुसन्धानको काम थाल्ने गरी तयारीसमेत थालेको कोशी टप्पु लर्निङ ग्राउन्डले जनाएको छ ।