मन्त्री आले र सलमान खानबीच भर्चुअल संवाद, आगामी जेठ १४ गते नेपाल आउने।

काठमाडौं:= आगामी जेठ १४ मा काठमाडौंको दशरथ रंगशालामा बलिउड अभिनेता सलमान खानको उपस्थितिमा ‘द ब्याङ रिलोडेड टुर’नामक भव्य कार्यक्रमको आयोजना हुने तयारी छ । त्यसैअनुरूप बुधबार पर्यटनमन्त्री प्रेम आले र अभिनेता सलमानबीच भर्चुअल संवाद भयो । झण्डै १० मिनेटको संवादमा मन्त्री आलेले सलमालनलाई निमन्त्रणासँगै आफू पनि फ्यान रहेको भन्दै खुसी व्यक्त गर्नुभयो ।

मन्त्री आलेले सलमानलाई भिडियोमा स्वागत गर्दै हिन्दी, मराठीदेखि अंग्रेजी मिसाएर संवाद गर्नुभयो । आफू एक चलचित्र सुटिङको लागि नेपाल आएको, तर त्यो चलचित्रको छायांकन हुन नसकेपछि फर्किएको किस्सा सलमानले सुनाउनुभयो । तर यसपटक आउने मेसो मिलेकाले सम्पूर्ण टिम खुसी भएको सलमानले बताउनुभएको छ । सलमानले भन्नुभएको छ, ‘धेरै समय भयो नेपाल नआएको । सोही समयमा मलाई लाग्छ, ‘खुदा गवाह’को सुटिङ पनि चलिरहेको थियो त्यहाँ । त्यसपछि नेपाल आउने समय मिलेन,’ सलमानले सम्झिनुभयो’, ‘यसपटक भने हामी उत्साहित छौँ ।’

यस्तै, मन्त्री आलेले पनि सलमानको थुप्रै चलचित्र हेरेको भन्दै चलचित्रको नामसमेत लिनुभयो । ‘मैले तपाईंको प्रायः फिल्म हेरेको छु । ‘मैंने प्यार किया’, ‘बिवी हो तो ऐसी’ जस्ता फिल्म हलमै गएर हेरेको छु,’ मन्त्री आलेले भन्नुभयो । जवाफमा सलमान खानले ठट्यौली शैलीमा ‘बिवी हो तो ऐसी’ कमै मानिसले हेरेको भए पनि यही चलचित्रबाट आफू इण्डष्ट्रीमा आएको बताउनुभयो ।

संवादमा मन्त्री आलेले सलमानका चलचित्र र सिरिज नेपालमा छायांकन गर्न सरकारले सघाउने वचनसमेत दिनुभयो । जवाफमा सलमानले नेपालमा चलचित्र सुटिङ गर्ने इच्छा व्यक्त गर्नुभयो । मन्त्री आलेले सगरमाथा आरोहणको निम्तोसमेत दिँदै सलमानलाई सगरमाथाको पर्वतीय उडानमा लैजान इच्छुक रहेको र ब्रेकफाष्ट सँगै लिने इच्छा व्यक्त गर्नुभयो । जवाफमा सलमानले ‘डन’ भन्दै मन्त्री आलेको आग्रहलाई स्वीकार्नुभयो । मन्त्री आलेले कीर्तिमानी आरोही निर्मल पूर्जा र उहाँको चर्चित नेटफ्लिक्स डकुमेन्ट्री ‘फोर्टिन पिक्स’को विषय पनि निकाल्नुभयो । यसबारे आफू पहिल्यै जानकार भएको सलमानले बताउनुभयो ।

सलमानसँगको कुराकानीपछि मन्त्री आलेले ‘द ब्याङ टुर’लाई लिएर मिडियासँग आफ्ना भनाइ राख्नुभयो । सलमानको कन्सर्टमा जान प्रधानमन्त्री शेरबहादुर देउवा पनि इच्छुक रहेको मन्त्री आलेले बताउनुभएको थियो ।

३० हजार दर्शक सहभागी हुने अपेक्षा 

बलिउड अभिनेता सलमानको काठमाडौंमा तय भएको कार्यक्रममा ३० हजार दर्शक सहभागी हुने अपेक्षा आयोजकले गरेको छ । कार्यक्रमका लागि ४ थरिको टिकट बिक्री गर्ने जानकारी दिइयो । जसअनुसार ५ हजार, १० हजार, १५ हजार र २५ हजार दरको टिकट बिक्री हुनेछन् ।

यी टिकट चाँडै नै स्वदेश तथा विदेशका दर्शकको सहजताका लागि डिजिटल वालेटमार्फत बिक्री खुला गरिनेछ । कार्यक्रममा बलिउड कलाकार खानअघि नेपाली कलाकारको लाइनअप प्रस्तुति रहनेछ । एक दर्जन हाराहारीका नेपाली कलाकारको करिब डेढ घण्टा प्रस्तुति रहनेछ

यो सांगीतिक कन्सर्टका लागि सलमानसहित ज्याकलिन फर्नान्डेज, सोनाक्षी सिन्हा, आयुष शर्मा, प्रभु देवा काठमाडौं आउने कार्यक्रम छ । आयोजक संस्था ओडिसीका प्रबन्ध निर्देशक सीमान्त गुरुङका अनुसार कार्यक्रमकै लागि अप्रिल १३ मा सलमानका भाइ तथा अभिनेता सोहेल खान काठमाडौं आइपुग्ने र पत्रकार सम्मेलन आयोजना गर्ने कार्यक्रम छ ।