जितु र साम्राज्ञीको अभिनय रहेको ‘ह्यारी कि प्यारी’को छायांकन सम्पन्न।

काठमाडौं:= दन्त चिकित्साको क्षेत्रमा लोकप्रियता कमाउनु भएका डा. कपिल रिजालको निर्देशनमा निर्माणाधीन रोमान्टिक कमेडी फिल्म ‘ह्यारी कि प्यारी’ को छायांकन सकिएको छ ।

कोरोना कहरका समयमा खोप लगाएका कलाकार र प्राविधिकलाई मात्र युनिटमा सहभागी गराई, सबै कलाकार तथा प्राविधिकको पिसिआर परीक्षण गरेर स्वास्थ्य मापदण्ड अपनाउँदै पर्वतबाट सुटिङ सुुरु गरिएको चलचित्रको करिब डेढ महिना लगाएर सुटिङ पूरा गरिएको निर्देशक डा. रिजालले जानकारी गराउनु भएको छ ।

डा. रिजालले लण्डन र नेपालबाट विभिन्न छोटो फिल्मका साथ म्युजिक भिडियो निर्देशन गर्दै आउनु भएको थियो । डा. रिजालका अनुसार काठमाडौं, पोखरा, पर्वत, चितवनलगायत स्थानमा फिल्मको सुटिङ पूरा गरिएको छ भने सुटिङ कार्य सोचअनुरूप सरल ढंगले सही रूपमा सफल भएको छ ।

उहाँले चलचित्र पूरै परिवार बसेर हेर्न मिल्ने सिचुएसनल कमेडीमा निर्माण गरिएको जानकारी गराउनुभयो । निर्माता तथा गायक एवं गीतकार डा. भोला रिजालको बिआर प्रोडक्सनको ब्यानरमा दुई दशक लामो अन्तरालपछि निर्माणाधीन चलचित्रका निर्देशक डा. कपिल रिजाल डा. भोला रिजालका पुत्र हुनुहुन्छ ।

डा. कपिलले लण्डनमै बसेर अंग्रेजी भाषाका सर्ट फिल्महरू गिल्ट, साइलेन्स र कर्मा बनाइसक्नु भएको छ भने नेपाल र लण्डनमा गरी एक दर्जन म्युजिक भिडियो निर्देशन गरिसक्नु भएको छ । फिचर फिल्म भने ह्यारिकी प्यारी उहाँको डेब्यु चलचित्र हो ।

चलचित्रमा जितु नेपाल र साम्राज्ञी राज्य लक्ष्मी शाह शीर्ष भूमिकामा हुनुहुन्छ । चलचित्रमा जितुलाई ह्यारी र साम्राज्ञीलाई उहाँको प्यारीका रूपमा देख्न पाइनेछ । चलचित्रमा जितु र साम्राज्ञीका साथमा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनाल लगायतका कलाकारले अभिनय गर्नुभएको छ ।

डा. कपिल रिजालको प्रस्तुति र निर्देशन रहेको चलचित्रमा कथा निर्देशक डा. कपिल रिजाल, पटकथा र संवाद सुदीप बराल, गिरिराज घिमिरे, डा. कपिल रिजाल र अभिमन्यू निरवी, गीत डा. भोला रिजाल, संगीत शिखर सन्तोष र युग भुसाल, गायन सपनकुमार राई, सौभर दास, थोम्सन एण्ड्रयुज, मीना निरौला र देवाञ्जली जोशी, कोरियाग्राफी कविराज गहतराज, छायांकन निर्देशन सुदीप बराल र सम्पादन अर्जुन जिसीको रहनेछ ।