श्रीलंकामा भोकमारीका कारण भारतमा आउनेको संख्या बढ्दै।

नयाँदिल्ली:= श्रीलंकामा बढ्दै गएको महँगी र आर्थिक संकटका कारण धेरै मानिसहरू देश छोडेर भारतमा आइरहेको खबर सार्वजनिक भएको छ । मंगलबार १६ जना श्रीलंकाका तामिल नागरिक आफ्नो देश छोडेर भारतको तामिलनाडुको तटमा आएका थिए । यिनीहरूमा चार महिनाको एक नवजात शिशु पनि रहेको थियो ।

श्रीलंकाको जाफ्ना र तलाईमन्नारबाट दुई ग्रुप तामिलनाडुमा पुगेका हुन् । पहिलो ग्रुपमा तीन बच्चासहित ६ जना थिए । यस्तै, अन्य व्यक्तिहरू पनि भारतमा आइरहेको बताइएको छ ।यसैबीच, यही हप्ता कागज अभावमा श्रीलंकाका लाखौँ विद्यार्थीहरूको परीक्षा रद्द भएको थियो । रकम अभावले छाप्ने कागजको आयात रोकिएपछि सरकारले पूर्व-निर्धारित परीक्षाहरू रद्द गरेको हो ।

सोमबारदेखि एक सातासम्म चल्ने आवधिक परीक्षा (टर्म टेष्ट) कागज अभावले अनिश्चित कालका लागि स्थगित गरिएको थियोे । श्रीलंकाले सन् १९४८ मा स्वतन्त्रता प्राप्त गरेपछिकै ठूलो आर्थिक संकट सामना गरिरहेको छ यतिबेला । अत्यावश्यक आयातका लागि विदेशी मुद्रा सञ्चितिको अभावले ल्याएको कमजोर आर्थिक संकटका कारण देशमा खाद्यान्न, इन्धन र औषधिको अभाव देखिएको छ ।