तनहुँ := नाबालिकामाथि जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहविरुद्धको मुद्दामा प्रहरीले अनुसन्धान सकेको छ । अनुसन्धान सकेर तनहुँ प्रहरीले रायसहितको प्रतिवेदन हिजो (सोमबार) जिल्ला सरकारी वकिलको कार्यालय, तनहुँमा बुझाएको छ ।
प्रहरीले आफ्नो अनुसन्धान सकेर प्रतिवेदन बुझाएको तनहुँका जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माले जानकारी दिए । उनका अनुसार प्रहरीले अनुसन्धान थालेको २१ दिनपछि प्रतिवेदन बुझाएको हो ।
अभिनेता शाह फागुन १५ गतेदेखि तनहुँ प्रहरीको हिरासतमा रहेका छन् । उनी विरुद्ध पूर्वी नवलपरासीमा पनि जाहेर परेको थियो । त्यसका लागि बयान गराउन शाहलाई गैंडाकोट समेत लगियो । जिल्ला प्रहरी कार्यालय, पूर्वी नवलपरासीले पनि नाबालिक बलात्कार मुद्दामा शाहविरुद्ध अनुसन्धान सकेर अदालतमा मुद्दा दर्ता गरिसकेको छ ।
सरकारी वकिल कार्यालयल नवलपुरले शाह विरुद्ध १५ वर्ष, आठ महिना, ४ दिनकी नाबालिगलाई बलात्कार गरेकोले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ अनुसारको कसुर गरेको दावी गर्दै मुद्दा दायर गरेको थियो।
आरोपित शाह विरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को (३) को (ग) अनुसार सजाय माग गरिएको छ। मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को (३) को (ग) मा १४ देखि १६ वर्षसम्मकी बालिका बलात्कार गरेको प्रमाणित भएमा १२ देखि १४ वर्ष सजाय हुने उल्लेख छ।




















