लेटाङमा महिला प्रहरी जवानको हत्या प्रकरणः ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु।

मरङ् := मोरङको लेटाङ–५ खेरुवास्थित शिक्षा विकास माविमा आइतबार भएको झडपमा एक जना महिला प्रहरीको मृत्यु भएपछि त्यस क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु जारी छ । हाल घटनामा संलग्न भएकाे आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यद्यपी अनुसन्धान जारी रहेकाले नियन्त्रणमा लिइएकाको नाम सार्वजनिक गरिएको छैन ।

घटना कसरी घटेको  हो , के भएको हो ?

चैत ४ अर्थात तराईको होलीका दिन विद्यालयका शिक्षक ५६ वर्षीय मनोज पौडेल कक्षा ७ मा अध्ययनरत छात्राको घरमा पुगेका थिए । घरमा ती शिक्षकले विद्यार्थीसँग पानी मागेका थिए। तर, पानी ल्याएर दिने क्रममा ती शिक्षकले छात्रामाथि यौन दुर्व्यवहार गरे । त्यसपछि आफैंलाई पढाउने शिक्षकले आफूलाई यौन दुर्व्यवहार गरेको भन्दै १३ वर्षीया किशोरी अभिभावक लिएर आइतबार बिहान विद्यालय प्रशासनमा पुगिन् ।

तर, प्रशासनले आपसी समझदारीमै मिलाउनुपर्ने कुरा निकालेपछि विद्यालयका विद्यार्थी र स्थानीयहरू आरोपित शिक्षक पौडेलविरुद्ध आक्रोशित भए।  शिक्षक पौडेलको ज्यान नै जोखिममा पर्न थालेपछि विद्यालय प्रशासनले सुरक्षाका लागि प्रहरीलाई बोलायो । जुत्ताको माला लगाई कालो मासो दलेर ती शिक्षकलाई लेटाङ बजार घुमाउने आक्रोशित विद्यार्थी र स्थानीयको माग थियो तर, प्रहरीको टोली पुगेर शिक्षक पौडेललाई विद्यालयमै थुनेर सुरक्षा दियो । विद्यार्थी र अभिभावकले दिनभर विद्यालय परिसरमा नाराबाजी गरे । शिक्षक पौडेलको २७ प १९२१ नम्बरको मोटरसाइकलसमेत जलाइदिए ।

तर, शिक्षकले यौन दुर्व्यवहार गरेपछि उनलाई प्रकाउ गर्न छाडेर उल्टै सुरक्षा दिएको भन्दै आक्रोशित विद्यार्थी र स्थानीय प्रहरीमाथि जाइलागे । विद्यालयभित्रै लुकेर बसेका आरोपित शिक्षक पौडेललाई प्रहरीले बेलुका निकाल्ने क्रममा आक्रोशित भीडले स्थिति नाजुक बनेको थियो। अवस्था नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गर्न थाल्यो। त्यही बेला झडप भएको प्रहरीले जनाएको छ।

आक्रोशित भिडको आक्रमणमा परी एक जना प्रहरीको मृत्यु भएको छ भने २५ जना प्रहरी घाइते भएका छन् । ७ जना सर्वसाधारण पनि घाइते भएका छन् । घाइतेमध्ये १४ जना प्रहरीहरूको सामान्य उपचार गरिएको छ र बाँकी १ जना प्रहरीको विराटनगरस्थित न्यूरो अस्पतालमा र अरूको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

ज्यान गुमाउनेमा महिला प्रहरी उर्मिला श्रेष्ठ रहेकी छन् । भिडले उनको घाँटी र छातीमा छुरा प्रहार गरेको थियो। उनलाई तत्कालै लेटाङ बजारस्थित मनकामना अस्पताल पुर्याइयो, तर चिकित्सकले उनको मृत्यु भइसकेको घोषणा गरे । आइतबार बिहान १० बजेदेखि तनावग्रस्त लेटाङ–५ खेरुवास्थित शिक्षा विकास मावि परिसर राति ९ बजे मात्र शान्त भएको थियो।

थप घटना घट्न सक्ने अवस्था भएपछि आज बिहान ७ बजेबाट जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङको वडा ३ र ४ को पश्चिम एरिया गंगे चोक र कमलपुर क्षेत्र, ५ नम्बर वडाको सबै क्षेत्र, उत्तरमा लेटाङको ६ नम्बर वडा कार्यालय क्षेत्र, पूर्वमा मोरंङे खोला क्षेत्र, पश्चिममा चिसाङ खोला क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ ।