काठमाडौं:= नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले बक्यौता रकम नतिर्ने एयरलाइन्स कम्पनीलाई कारबाही गर्ने भएको छ । हाल सञ्चालनमा नरहेका तर बाँकी बक्यौता नतिर्ने विभिन्न सात एयरलाइन्सलाई सात दिनभित्र बक्यौता रकम बुझाउन आइतबार आज सार्वजनिक सूचना जारी गरेको छ ।
अन्यथा कारबाही प्रक्रिया थाल्ने चेतावनीसमेत दिएको छ । प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले सात दिनभित्र एयरलाइन्सले बक्यौता रकम नबुझाए कारबाही गरिने बताउनुभएको हो । बक्यौता रकम नबुझाउने सम्बन्धित एयरलाइन्सका सञ्चालकलाई विदेश भ्रमण रोक्नेदेखि बैंक खाता रोक्कासम्मको कारबाही हुने क्यानले जनाएको छ ।
बक्यौता नतिर्ने एयरलाइन्स कम्पनीमा नेकोन एयर, शिवानी एयर, गोरखा एयर, माउन्टेन एयर, कस्मिक एयर, स्काइलाइन एयरवेज र एयर काष्ठमण्डप रहेका छन् । नेकोन एयरको चार करोड ७२ लाख २५ हजार तीन सय ४३, शिवानी एयरको ५५ लाख ५१ हजार ५३, गोरखा एयरको २० लाख ३५ हजार २९ रुपैयाँ बक्यौता रहेको छ ।
त्यस्तै कस्मिक एयरको तीन करोड ४७ लाख ५८ हजार ७०, स्काइलाइन एयरवेजको सात लाख ८० हजार चार सय, एयर काष्ठमण्डपको सात लाख ३८ हजार चार सय ४७ र माउन्टेन एयरले छ लाख १० हजार आठ सय ३४ रुपैयाँ बक्यौता रहेको क्यानले जनाएको छ । ताकेतापछि कर्णाली एयरले बक्यौता तिरेको पनि क्यानले उल्लेख गरेको छ ।
प्राधिकरणको बक्यौता नतिरेमा सरकारी बाँकीसरह असुलउपर गर्ने कानुनअनुसार सञ्चालकको जायजेथाबाट असुलउपर हुन सक्ने प्रावधान रहेको छ । विमानस्थल सेवा शुल्क नियमावलीअनुसार ती सञ्चालक तथा कम्पनीले भविष्यमा हवाई सेवा, विमानस्थल तथा क्यानसँग सम्बन्धित कुनै पनि प्रकारको सेवा लिन नपाउने उल्लेख छ ।




















