[ अनिल क्षेत्री ]
काठमाडौं:= निर्वाचन आयोगले आगामी वैशाख ३० गते तय गरिएको स्थानीय तह निर्वाचनको निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ । देशैभर चुनावको माहोल सुरु भइसकेको छ । राजनीतिक दलहरू आगामी चुनाव लक्षित कार्यक्रम लिएर मतदाताका घरदैलो धाउन थालेका छन् । चुनावको मिति नजिकिँदै जाँदा राजनीतिक दलका नेता तथा
कार्यकर्ता मतदाता आफूतिर तान्न अनेक प्रयास गरिरहेका छन्। मतदातालाई आकर्षित गर्न विगतमा जस्तै यसपटक पनि राजनीतिक दलहरू विभिन्न आश्वासन बाँडिरहेका छन् । ती आश्वासन आमनागरिक तथा मतदाताका दैनिक जीवनका सवाल, आवश्यकता र विकास निर्माणका भन्दा पनि निजी स्वार्थपूर्ति सस्तो लोकप्रियता हुने आश्वासन बढी छन् ।
विगतमा पनि नेपालका राजनीतिक दलहरू ठोस एजेण्डाबिना नै चुनावमा जाने गरेका थिए । यसपटक पनि दलहरूले विगतको परम्परालाई निरन्तरता दिएका छन् । जनजीविकाका सवाल, विकास निर्माण र आर्थिक, सामाजिक उत्थानको ठोस एजेण्डा लिएर जनतामाझ जानुको सट्टा विगतमा जस्तै यसपटक पनि राजनीतिक दलहरू अन्य पार्टीको आलोचना गर्नमै व्यस्त छन् ।
विकास निर्माण, सामाजिक तथा आर्थिक विकासको एजेण्डाको माध्यमबाट नभई राजनीतिक दलहरूले एक-अर्काप्रतिको गालीगलौजलाई मत तान्ने अस्त्रको रूपमा प्रयोग गरिरहेका छन् । त्यसमा कम्युनिष्ट घटकहरू नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एक-अर्काप्रति अग्रपंक्तिमा देखिएका छन् । उनीहरूले एक–अर्काप्रति तल्लोस्तरको गालीगलौजमा उत्रिएका छन् ।
एमाले अध्यक्ष ओलीलाई दाहालको कटाक्ष : अहिले पनि गोरुगाडाको सिद्धान्तमै छन्
सत्तारूढ दलको एक घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले पनि गणतन्त्र र परिवर्तनको विरुद्धमा लागेको आरोप लगाउनुभएको छ । शनिबार सिन्धुलीमा पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले गणतन्त्र र राजनीतिक परिवर्तनको विरुद्धमा भइरहेका गतिविधि रोक्नका लागि माओवादी, कांग्रेस र अन्य वामपन्थी दलहरू एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
एमाले अध्यक्ष ओलीप्रति कटाक्ष गर्दै अध्यक्ष दाहालले भन्नुभयो, ‘लोकतान्त्रिक गणतन्त्रका लागि जनयुद्ध र जनआन्दोलन चलिराखेको थियो । जतिबेला हामी त्यो प्रक्रियामा अगाडि बढिरहेका थियौँ । यो देशमा आफूलाई ठूलो पार्टी ठान्ने केही नेताहरू नेपालमा गणतन्त्र सम्भव छैन, गणतन्त्र आउँछ भन्नु र गोरुगाडा चढेर अमेरिका जान्छु भन्नु एउटै हो भन्थे, ती अहिले पनि गणतन्त्रको विरोधमा छन् । अहिले पनि गोरुगाडाको सिद्धान्तमै छन् ।’
एमाले अध्यक्ष ओलीलाई परिवर्तन पाच्य नभएको र मुलुकमा अस्थिरता ल्याउन खोजेको आरोप लगाउँदै अध्यक्ष दाहालले भन्नुभयो, ‘उनीहरू संविधान उल्ट्याउन चाहन्छन्, गणतन्त्र उल्ट्याउन चाहन्छन् । यो देशलाई धार्मिक अतिवादमा लगेर विदेशीको अगाडि सुम्पिन चाहेका छन्, शान्ति सम्झौतामा हस्ताक्षर गर्ने माओवादी र कांग्रेस लगायतका वामपन्थी एकजुट भएर अगाडि नबढ्ने हो भने कुनै पनि बेला देशमा दुर्घटना हुने खतरा रहेको छ ।’
स्थानीय तहको निर्वाचनलाई सामान्य रूपमा नलिन कार्यकर्ताहरूलाई निर्देशन दिँदै अध्यक्ष दाहालले भन्नुभयो, ‘यो निर्वाचन सामान्य नठान्नुहोला । अरूको लागि सामान्य निर्वाचन हो । माओवादीको लागि त्यो होइन । हामीले हार्यौँ भने संविधान, जनयुद्ध, परिवर्तन, शान्ति प्रक्रिया हार्ने खतरा छ । हाम्रा लागि यो लडाइँ हो । यो जित्नैपर्छ ।’ वर्तमान गठबन्धन बचाउने तर त्यसकै भरमा निर्वाचनमा जान नहुने अध्यक्ष दाहालको भनाइ छ ।
गठबन्धनलाई जनताको आँगनमा पछारिन्छ : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय सत्ता गठबन्धन अदालतले बनाइदिएको हुनाले आगामी चुनावबाट जनताको आँगनमा लगेर पछार्ने चेतावनी दिनुभएको छ । परमादेशी सरकार र गठबन्धनलाई आगामी चुनावमा जनताको आँगनमा पछारिदिने चेतावनी दिँदै अध्यक्ष ओलीले भन्नुभयो, ‘यो गठबन्धन त केही पनि होइन, यो जनताले बनाएको हो र ? यो त अदालतले बनाइदिएको हो ।
यस्तालाई जनताको आँगनमा लगेर पछार्नुपर्छ । मुद्दा जितेर आएको सरकारलाई मुद्दा लड्न जा भन्दिने हो । यिनीहरू झगडिया हुन् । झगडियाको काम मुद्दा लड्ने हो ।’ स्थानीय चुनावबाटै पार्टीले प्रादेशिक र संघीय चुनावको झलक दिने बताउँदै अध्यक्ष ओलीले एमाले अहिले पनि प्रथम पार्टी भएकाले चुनावमा जाँदा राम्रा कामको प्रचार गर्नुपर्ने बताउनुभयो ।
शनिबार काठमाडौंमा भएको पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाली कांग्रेसका सभापति समेत रहनुभएका प्रधानमन्त्री शेरवहादुर देउवाप्रति कटाक्ष गर्दै भन्नुभयो, ‘शेरबहादुर देउवा आफैँ कांग्रेसमा किन छन् भन्दा बूढो भएर पनि कांग्रेसमा शेरबहादुर देउवा किन छन् भन्दा उनलाई चार हजार भत्ता के गर्नु ? छँदैछ ।
त्यसकारण छन् नत्र शेरबहादुर देउवा पनि लौरो टेकेर एमालेमा आउँथे । शेरबहादुरजीलाई म भन्न चाहन्छु, कम से कम ज्येष्ठ नागरिक हो तपाईं लौरो टेकेर भए पनि सूर्य चिन्हमा भोट हाल्नुहोस्, अरूले नदेख्ने गरी भए पनि । कम्तीमा जीवनमा एउटा पुण्य कमाउनुहुन्छ । हामीले राम्रा कामहरू गरेका छौँ, त्यसलाई जनतामाझ लिएर जानुपर्छ ।’
कांग्रेससँग कुनै पनि एजेण्डा नभएकाले आफू नेतृत्वको अघिल्लो सरकारको भण्डाफोर गर्ने नीति भनेर हल्ला गरेको आरोप लगाउँदै अध्यक्ष ओलीले भन्नुभयो, ‘कांग्रेसले अघिल्लो सरकारको भण्डाफोर गर्ने रे । कांग्रेसले जे पायो त्यही बोल्छ उसको यो पुरानो बानी हो । तपाईं हामीले सुनेका छौँ ६० वर्षमाथिका बूढाबूढीलाई कम्युनिष्ट सरकार बन्यो भने गोली हानेर मार्छ भन्थे । अब बूढाबूढीको छेउमा कांग्रेस जाओस् त ।’
एमाले अब रहेन, सूर्यमा ग्रहण लागिसक्यो : नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओली एमालेको अध्यक्ष भएर पार्टीलाई दुरुपयोग गरिरहेको आरोप लगाउनुभएको छ । नेकपा एकीकृत समाजवादीको गोरखामा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेकपा एमाले र माओवादी केन्द्र एकता भएर २०७५ मा गठन भएको नेकपाको निरन्तरता आफ्नो पार्टीले गरिरहेको दाबीसमेत गर्नुभयो । ।
उहाँले भन्नुभयो, ‘मूलधारको पार्टी हाम्रो हो । मूलधारको पार्टी हुनाले अहिले हाम्रो पार्टीको महत्व जनताले बुझिसकेका छन् । हामीले विद्रोह गरेर निर्माण गरेको पार्टी नेकपाको निरन्तरता हो । नेकपा एमाले अब एमाले रहेन । ‘बी’माले, ‘सी’माले भन्नुस् । सूर्यमा ग्रहण लागिसकेको छ ।’
एकीकृत समाजवादी पार्टी मूलधारको पार्टी भएको जिकिर गर्दै अध्यक्ष नेपालले अबको चुनावले एकीकृत समाजवादी जनतामा स्थापित हुने र एमाले विस्थापित हुने दाबी गर्नुभयो । कार्यकर्तालाई उच्च मनोबलका साथ प्रत्येक वडा र पालिकामा संगठन विस्तार गर्न निर्देशन दिँदै अध्यक्ष नेपालले पार्टीलाई देशव्यापी बनाउनका लागि निःस्वार्थ भावनाका साथ लाग्न आग्रह गर्नुभयो ।
केपी ओलीको बाकसमा जिरो मत पर्नुपर्छ : खनाल
यसैबीच, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आगामी निर्वाचनमा एमाले अध्यक्ष केपी ओलीको बाकसमा जिरो मत पर्नुपर्ने बताउनुभएको छ । एकीकृत समाजवादीको गुल्मी सम्पर्क मञ्चको भेलालाई सम्बोधन गर्दै खनालले एमाले अध्यक्ष ओलीले कम्युनिष्ट पार्टीको बहुमत भएको संसद् विघटन गरेकोले आगामी निर्वाचनमा एमालेलाई ठूलो सजाय दिनुपर्ने जिकिर गर्दै भन्नुभयो, ‘आगामी निर्वाचनमा केपी ओलीले सबैभन्दा ठूलो सजाय पाउनुपर्छ, उनको बाकसमा जिरो मत पाउनुपर्छ ।
तब मात्र नेपाली जनताले सही ढंगले संविधानको रक्षा गरेको ठहर हुन्छ ।’ कम्युनिष्टको बहुमत रहेको संसद्बाट जनमुखी ऐन, कानुन, बजेट र कार्यक्रमहरू ल्याउन सकिने भन्दै खनालले त्यस्तो संसद् विघटन गर्नु दक्षिणपन्थी अवसरवाद भएको टिप्पणीसमेत गर्नुभयो ।
कांग्रेसले गठबन्धनभन्दा पनि चुनाव जित्न महत्व दिन्छ : डा.महत
यसैबीच, नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेसले चुनावी गठबन्धन हुन्छ कि हुँदैन भन्नेभन्दा पार्टीलाई कसरी आगामी निर्वाचनमा जिताउने भन्ने विषयलाई केन्द्रमा राखेको बताउनुभएको छ । नेपाल प्रेस युनियन बाँकेले शनिबार नेपालगञ्जमा गरेको पत्रकार सम्मेलनमा प्रवक्ता महतले कांग्रेसले सबैभन्दा बढी सिट कसरी हासिल गर्छ त्यही सोचेर अगाडि बढ्ने नीति अख्तियार गरेको बताउनुभएको हो ।
गठबन्धनका बारेमा कांग्रेसलाई जे गर्दा फाइदा हुन्छ त्यसैअनुसार निर्णय लिने जिकिर गर्दै प्रवक्ता महतले भन्नुभयो, ‘हामीलाई गठबन्धन गर्दा फाइदा हुन्छ कि नगर्दा त्यो विश्लेषण गर्छौं, भावनामा बगेर मात्र भएन, पार्टीलाई फाइदा हुने गरी निर्णय लिन्छौँ ।’ गठबन्धनबारे आगामी केन्द्रीय समितिको बैठकले निर्णय लिने डा. महतको भनाइ छ । प्रवक्ता महतले अघिल्ला निर्वाचन जस्तो अन्तिम समयमा आएर निर्णय लिने काम योपटक नहुने दाबी गर्दै चैतभित्रै उम्मेदवार टुंगो लगाउने जानकारी दिनुभयो ।
यसपटकको चुनावमा जित्ने गरी उम्मेदवार तय हुने बताउँदै महतले भन्नुभयो, ‘यसपटक जित्ने मान्छेलाई मात्र उम्मेदवार बनाइनेछ । मेरो-तेरो या यो गुट-त्यो गुट भन्ने हुँदैन, जसले जित्ने देखिन्छ, उसैलाई पार्टीले उम्मेदवार बनाउँछ ।’




















