अबको निर्वाचनमा नेपाली कांग्रेसलाई १३ सिटमा झारिदिने हो: एमाले अध्यक्ष ओली।

काठमाडौ:= प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसलाई आगामी निर्वाचनमा १३ सिटमा झारिदिने चेतावनी दिनु भएको छ । अध्यक्ष ओलीले देशलाई बर्बाद पार्ने गठबन्धन सरकारको नेतृत्व गरिरहेको काँग्रेसलाई आगामी निर्वाचनमा १३ सिटमा सिमित हुने गरी चुनावी अभियानमा लाग्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनु भयो ।

पार्टीको सम्पर्क समन्वय कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले ६० वर्ष नाघेका कुनै पनि ज्येष्ठ नागरिकहरुले काँग्रेसलाई भोट नहाल्ने दावी गर्नु भयो । काँग्रेस, माओवादी केन्द्रलगायतका सत्तारुढ दलहरुले चेताईसकेको हुनाले युवाहरुले पनि ती पार्टीहरुलाई मत नदिने उहाँको तर्क थियो ।

अध्यक्ष ओलीले माओवादी केन्द्रलाई गत संसदीय निर्वाचनमा आफूहरुले जोगाई दिएको र माधव नेपालहरु अवको निर्वाचन पछि समाप्त हुने बताउनु भयो । उहाँले भन्नु भयो, ‘एमालेलाई चौंथो पार्टी बनाउछु भन्छ कोही । अहिले चौंथो पार्टी हो एमाले संसदमा ? संसदमा एमालेसँग ९८ सिट छ । अरुको धेरै भएकाको पनि ६१ सिट छ । कोही हामीले बनाइदिएको ४८ सिटा लिएर हामीले टाँसी दिएको जुँगामा ताउ लाउछ ।

त्यसकारण म साथीहरुलाई भन्न चाहन्छु–यो गठबन्धन केही होईन । बुढो काँग्रेस पाँच वर्ष अघि २३ सिटमा झरेको होईन ? काँग्रेसलाई १३ सिटमा झारिदिनु पर्छ अहिले, लाग्नुस तपाईहरु। बुढाबुढी, ज्येष्ठ नागरिकहरुले साठी वर्ष माथिका ज्येष्ठ नागरिकहरुले काँग्रेसलाई भोट हाल्दैनन् । अनि युवाहरु काँग्रेस, माओवादीबाट चेतिसकेका छन । उनीहरुले पनि काँग्रेसलाई भोट हाल्दैनन् ।’

अध्यक्ष ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले विजयी हासिल गर्नुपर्ने भएकाले उत्साहका साथ जनताको बीचमा जान पनि पार्टीका नेता, कार्यकर्तालाई पटकपटक सचेत गराउनु भयो। उहाँले सत्तारुढ दलहरुको निदहराम हुनेगरी स्थानीय तह निर्वाचनको तयारीमा आफ्नो पार्टी लागिपर्ने बताउनु भयो ।

सत्तारुढ गठबन्धन केही नभएको उल्लेख गर्दै अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनको परिणामले उनीहरुलाई भोक हराम, निदहराम बनाउनुपर्ने बताउनु भयो । अदालतबाट बनेको वर्तमान सरकारलाई जनताको मटबाट हराउने उहाँले दोहो¥याउनु भयो । अध्यक्ष ओलीले भन्नु भयो,  ‘अव हामीले निर्वाचनको प्रतिक्षा गर्नुछ । र, निर्वाचनमा विजय हासिल गर्नुछ।

हामीले यस निर्वाचनबाट पछिल्लो प्रादेशिक र संसदीय निर्वाचनहरुको झलक दिनुछ, ताकि यिनीहरुको मनमा अहिल्यैदेखि ढ्याङ्ग्रो ठोकियोस् । अहिल्यैदेखि निन्द्रा लाग्न छोडोस् । यिनलाई अहिल्यैदेखि निन्द्रा लाग्न छोडोस । यो गर्ने भनेको स्थानीय तह निर्वाचनमा हो । म यहीँ उत्साह बोकेर जान आग्रह गर्दछु ।

यो गठबन्धन केही पनि होईन । अदालतले बनाइ दिएको हो । अदालतले बनाएका काँचो सिसाको गठबन्धन, अदालतले बनाई दिएको सरकार, मुद्धा जितेर आएको सरकार, मुद्धा लडन जा भन्ने, जनताको बीचमा हामी जाने । जनताको मत हामीले लिने, उनीहरुलाई हराउने । हामी जनताको मत लिएर सरकारमा जान्छौं ।

काँग्रेसले अघिल्लो सरकारको भण्डाफोर गरेर निर्वाचनमा जान्छ रे । उसले जे पायो त्यही बोल्छ ।’ अध्यक्ष ओलीले विभिन्न जालझेल, तिकडम र षडयन्त्र गरेर आफ्नो पार्टीलाई सरकारबाट हटाउने काम गरेको भन्दै अव फेरी हटनुनपर्ने गरी पार्टीले आगामी निर्वाचनमा जित हासिल गर्नुपर्ने बताउनु भयो ।