काठमाण्डौँ := प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालकै दोस्रो ठूलो खिम्ती पावर सब–स्टेसनको उद्घाटन गरेका छन् । आज रामेछापको मन्थली नगरपालिका–१३ स्थित देविटारमा निर्मित सब–स्टेसनको उद्घाटन भएको हो । खिम्ती सब–स्टेसन २२०-१३२ केभी क्षमताको केन्द्रीय विद्युत् प्रणालीमा जोडिएको ठूलो सब–स्टेसन हो ।
स्वदेशी लगानीमा निर्माण गरिएको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको लट चार अन्तर्गतको २२० केभीको प्रसारण लाइन र २२०-१३२ केभीको सब–स्टेसन निर्माणको काम पूरा भएको हो ।
सो सब–स्टेसनले गोंगरबाट आएको २२० केभी लाइनलाई खिम्ती हुँदै ढल्केबरसम्म जोड्नेछ भने सोही लाइनलाई २२०–१३२ केभी, १०० एमभिएको ट्रान्सफर्मर भई १३२ केभी प्रसारण लाइनबाट काठमाडौं पनि जोड्नेछ ।
न्यू खिम्ती सब–स्टेशनमा ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बिजुली जोडिएको छ । यस्तै ५२ दशमलव ४ मेगावाट क्षमताको लिखु दोस्रो र २४ दशमलव १ मेगावाट क्षमताको लिखु ए जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली जोडिएको छ ।
राष्ट्रिय गौरवको आयोजनाको रुपमा परिचित माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको अवलोकन तथा सबस्टेसनको उद्घाटन कार्यक्रममा ऊर्जामन्त्री पम्फा भुसाल, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतको टोली पनि सहभागी छ ।





















