[ डम्मर बुढा मगर ]
बागलुङ:= पूर्व-पश्चिम मध्यपहाडी लोकमार्गले बागलुङका ग्रामीण क्षेत्रको मुहार फेरि दिएको छ । लोकमार्गले पूर्व मालढुंगादेखि पश्चिम पातिहाल्नेसम्म जोडेको छ । यस बीचमा करिब एक दर्जन बढी क्षेत्रमा बजार विस्तार हुन थालेको छ । सुगम मानिने बागलुङ सदरमुकामदेखि सबैभन्दा विकट मानिने निसीखोलाको भल्कोट हुँदै पूर्वी रुकुम लोकमार्गले जोडिएपछि अब जिल्लाका विकट क्षेत्र पनि सुगममा परिणत भएका छन् ।
अहिले जताततै बजार विस्तार हुँदै गएका छन् । आम नागरिकले सेवा सुविधा पनि पाउन थालेका छन् । सामान्य समान किनमेलका लागि घण्टौँ समय लगाएर बजार धाउनु पर्ने बाध्यतामा रहेका स्थानीय अहिले घरै अगाडि सबै सामान किनमेल गर्न पाउने सुविधामा छन् ।
जिल्ला सदरमुकाम बागलुङ बजारेदेखि पातीहाल्नेसम्म अहिले दर्जनौँ स्थानमा साना–ठूला बजार विस्तार भएका छन् । अझै विकास हुने क्रममा छन् । लोकमार्गले जिल्लाको बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका, गलकोट नगरपालिका, बडिगाड नगरपालिका, ढोरपाटन नगरपालिका हुँदै निसीखोला गाउँपालिकालाई जोडेको छ ।
लोकमार्गले जोडिएका ६ पालिका (काठेखोला गाउँपालिकाको अछेते, गलकोट नगरपालिकाको हटिया, बडिगाड गाउँपालिकाको खर्बाङ, न्वारा, खौलारा, खारा भिमगिठे, ढोरपाटन नगरपालिकको बुर्तिबाङ, निसीखोला गाउँपालिकाको देविस्थान, जुग्जाखोला, ढुवाँखोर, झिवाखोला, कानाबगर, बडावनखोला, निसी र भल्कोट लगायतका स्थान अहिले बजारमा परिणत हुँदैछन् ।
लोकमार्गको १४२ किलोमिटर क्षेत्रफल बागलुङ जिल्लामा पर्छ । सबैभन्दा बढी निसीखोला गाउँपालिका र सबैभन्दा कम बागलुङ नगरपालिकामा पर्छ । अहिले बजार विस्तार हुन लागेका ठाउँहरू लोकमार्गले जोडिनुपूर्व सुनसान थिए । तर, अहिले यहाँ निकै चहलपहल बढेको छ ।
निसीखोलाको भल्कोटदेखि बडिगाड गाउँपालिकाको खर्बाङसम्मका नागरिकहरू सामान ढुवानी गर्न तथा स्वास्थ्य उपचारको लागि पाल्पा, तानसेन, बुटवल लगायतका ठाउँमा जाने गर्थे भने गलकोेट, काठेखोला तथा बागलुङ नगरपालिकाका नागिरकहरू बागलुङ बजार, पोखरा जाने गर्दथे । अहिले गाउँ घरकै नजिक बजार बिस्तार हुँदै गएपछि स्थानीयको त्यो बाध्यता हटेको छ ।
लोकमार्गले धेरै सहजता प्रदान गर्नुको साथै जीवननै परिवर्तन गरिदिएको निसीखोला गाउँपालिका-६ भल्कोटका भाजवीर घर्ती मगरले बताउनुभयो । बाल्यकालबाटै बुटवलबाट नुन चामल बोकेर उपभोग गरेको र अहिले घरै छेउमा पसल खुलेको मगर बताउनुहुन्छ । अहिले बजार बिस्तार भएको भल्कोटमा पहिले गाई, भैँसी र भेडाबाख्रा गोठ रहेकोमा अहिले होटल व्यवसायसहित बजार बस्ने आफूले कल्पनासमेत नगरेको उहाँ बताउनुहुन्छ ।
‘यस्तो बजार हुन थाल्यो यो ठाउँ, पहिले त एक÷दुई वटा काठको घर थिए, अहिले यति ठूला-ठूला घर भए’ घर्तीले भन्नुभयो ‘अहिले यति ठूला घरहरू बने, पसलहरू छन्, पहिला त गाई, भैँसी र भेँडाबाख्राका गोठ हुन्थे, सोँच्दै नसोचको विकास भयो, मैले त हाम्रो पालामा यस्तो विकास होला भन्ने सोँचेको पनि थिएन ।’
उहाँले सडक आएपछि माथि-माथि गाउँबाट मान्छेहरू तल झरेर सडक छेउमा घर बनाउन थालेको भन्दै पहिला सुनसान हुने ठाउँमा अहिले निकै रमाइलो र चहलपहल भएको बताउनुहुन्छ। ‘पहिला–पहिला गाउँ निकै रमाइलो हुन्थ्यो, अहिले यो ठाउँमा यस्तो रमाइलो हुन थाल्यो, हाम्रो पालामा त यहाँ खेतिपाती गर्न र भेँडाबाख्रा चराउन आउँथ्यौँ,’ उहाँले भन्नुभयो ‘अहिले गाउँ सुनसान हुन थाल्यो, गाउँमा मान्छे जति सबै तल–तल झरेर घर बनाउन थाले, बुढापाकाले जमाना उल्टिन्छ भन्थे, साँच्चिकै हो रहेछ ।’
यता, बडिगाड गाउँपालिका-५ को खौलारामा पनि तीव्र रूपमा बजार विस्तार भइरहेको छ । केही वर्ष अगाडिसम्म पहेँलै धान फल्ने खेतहरूमा अहिले साना तथा ठूला घरहरू ठडिएका छन् । स्थानीय रामलाल घिमिरेले लोकमार्ग नआउँदा समथर खेत रहेको यो ठाउँमा अहिले बजार बनेको बताउनुभयो । उहाँले सडक बिस्तार हुँदा स्थानीयले विरोध गरे पनि अहिले त्यतिबेला खेतबारी गुमाउँदाको प्रतिफल धेरैले लिइरहेको बताउनुहुन्छ ।
‘खौलारा बजार भएको ठाउँमा पहिले एउटा पनि घर थिएन, सबै खेतहरू मात्रै थिए, अहिले १०/१२ वर्षमै यस्तो बजार बन्यो, हामी कसैले पनि यस्तो ठाउँमा बजार हुन्छ भन्ने सोचेका पनि थिएनौँ,’ उहाँले भन्नुभयो ‘सुरुमा मोटरबाटो आउँदा बारी मिचिनेहरूले अवरोध गरे, अहिले यतिधेरै विकास हुँदा सबै खुसी भएका छन्, लाख-लाखका घडेरी बनेका छन्, ठूला-ठूला होटल पसल बनेका छन् ।’
उहाँले सडकले गाउँ-ठाउँको विकाससँगै सुगमका ठाउँदेखि दुर्गमका गाउँहरू जोडिएको भन्दै यसले गर्दा स्वास्थ्य, शिक्षालगायत धेरै सेवा सुविधा उपभोग गर्न पाएको बताउनुभयो । स्वास्थ्य उपचारको लागि टाढा-टाढा जाने बाध्यता हटेको भन्दै अहिले नजिकै उपचार पाउन थालेको आचार्य बताउनुहुन्छ ।
‘सडक आयो, बजार बन्दैछ, बजारमा ठूला होटल पसलसँगै अस्पताल पनि बनेका छन्, त्यसले गर्दा अब बिरामी परेर डोलामा बोकेर टाढा जानुपर्ने बाध्यता हटे, नजिकै अस्पताल छ, त्यही गएपछि उपचार हुन्छ,’ उहाँले भन्नुभयो ‘पहिले न मोटरबाटो न अस्पतालनजिक निकै समस्या थियो, अहिले मोटरबाटो पनि आयो बजार पनि बन्यो र अस्पताल पनि बन्यो।’
गलकोट नगरपालिकाको हटियामा पहिलेदेखि नै स-सानो बजार भए पनि लोकमार्ग आएपछि विस्तार भएर ठूलो बनेको छ । लोकमार्ग आउनुभन्दा पहिलो अहिले विस्तार भएको भन्दा केहीमाथि बजार भए पनि अहिले लोकमार्गले गर्दा बजार क्षेत्र ठूलो बन्दै गएको छ । अहिले हटिया बजारमा बढ्दो जनसंख्या र तीव्र रूपमा बजार बिस्तार हुँदा जग्गा जमिनको भाउ निकै आकाशिएको स्थानीय युद्ध भण्डारीले बताउनुभयो ।
उहाँले दिनदिनै घर भवनहरू निर्माण हुँदा खाली ठाउँ नै पाइन छोडेको बताउनुभयो । ‘तीव्र रूपमा बजारमा बस्ती विस्तार हुँदा जग्गा जमिनको भाउ निकै बढेको छ, खाली जमिन पाउन गाह्रो छ, बजारभन्दा नजिकका ठाउँहरूमा पनि धमाधम घरहरू बन्दैछन्,’ उहाँले भन्नुभयो ‘यही हिसाबले दिनदिनै घर बन्दै गए भने त पछिका पुस्ताहरूले जग्गा जमिन पाउनै मुकिस्ल पर्ने देखिन्छ ।’
बागलुङको दोस्रो व्यापारिक केन्द्रको रूपमा स्थापित हुँदै गरेको बुर्तिबाङ बजार मध्यमहाडी लोकमार्गमा त पर्दैन तर पनि लोकमार्गनजिकै हुँदा यसको मुहार पनि पहिलेको तुलनामा निकै फेरिएको छ । एक दशकभन्दा अगाडि साना होटल तथा दोकानहरू मात्रै रहेको बुर्तिबाङ अहिले ठूला ठूला घर भवनले ढाकिएको छ । सरकारले १० नमुना शहरमध्ये बुर्तिबाङलाई पनि सूचीमा राखेर काम अगाडि बढाएको छ । तर, अव्यवस्थित बसोबास र साँघुरो क्षेत्र हुँदा यसलाई नमुना बनाउन केही कठिनाइ देखिएको छ ।




















