एजेन्सी := रुस युक्रेनबीच जारी युद्ध चौथो हप्तामा चलिरहेको छ । यस युद्धका कारण युक्रेनको सैनिक तथा गैर सैनिक संरचनाहरु तहस नहस भएका छन् यस युद्धमा रुसले पनि भारी मात्रामा जनधनको क्षति ब्यहोरेको छ । उ माथि त अझ अमेरीका र युरोपको आर्थिक प्रतिवन्धले खर्बो डलरको नोक्सानी भएको छ ।
यही बीचमा अमेरीका धमाधम पैसा कमाउन लागि परेको छ । उसले युक्रेनलाई नै केही सहयोगमा त केही रिणमा र केही पैसामा क्षेप्यास्त्र सहित ठूलो मात्रामा हात हतियार बेचेर पैसा कमाईरहेको छ । पछिल्लो समय डिफेन्स हार्डवेयरमा रुस पनि अग्रपक्तिमा आँउदै गर्दा युद्धले निम्त्याएको प्रतिवन्धका कारण उ थला पर्दै गएको छ ।
यही बेला अमेरीकाले युरोप, पुर्वी यूरोप र बाल्टिक देशहरुमा लडाकु विमान, क्षेप्यास्त्र, एन्टीएयरक्राफ्ट, मिसाईल सिस्टम आदि ठूलो मात्रामा बिक्री गर्ने तयारी गरेको छ। हतियारको बजार नै त्यस्तो बजार हो जसबाट अमेरीकाले दोस्रो विश्व युद्धपछि अत्याधीक पैसा कमायो र विश्व महाशक्ति बन्यो ।
उसले सिआईए मार्फत संसारभर आन्तरीक विद्रोह गराउने, युद्ध लडाउने वा आफै पनि आक्रमण गर्ने गर्दै आएको छ । पछिल्लो समय अमेरीकी अर्थतन्त्र ठूलो संकटमा परेका बेला उसले अब हतियारको बिक्री उल्लेख्य मात्रामा बढाएको छ । जसले अमेरीकालाई तत्कालका लागि लाभ दिने देखिन्छ। यता दीर्घकालमा भने उसले विस्तारै विश्वव्यापी प्रभाव घटाउने प्रक्षेपण शुरु भएको छ ।
रुसी राष्ट्रपति भ्लादीमीर पुटिनले भनेका छन्, अब पश्चिमा साम्राज्यवादको आर्थिक र राजनीतिक प्रभुत्वको युग समाप्त भयो । दीर्घकालमा भने यस युद्धले विश्वव्यापी रुपमा प्रभाव पारेको अर्थतन्त्रमा चीन र भारत बढी लाभ हात पार्ने अवस्थामा जान सक्ने देखिएको छ । पहिलो कारण रुसमाथि स्वीफ्टको प्रतिवन्धका कारण अमेरीकी डलर साम्राज्यको प्रभावमा कमी आउनेछ ।
कुनै पनि घटनादेखाएर अमेरीकाले लगाउने प्रतिवन्धको पहिलो असर डलरमा जम्मा भएको बैदेशिक सञ्चिति फ्रिज हुने देखिएकाले अहिले रुस, चीन र भारतले पनि डलरको विकल्पमा भुक्तानीको नयाँ प्रणाली खोजी गरीरहेका छन् । जस्तो ईरानमाथि अमेरीकी प्रतिवन्धका कारण भारतले ईरानबाट तेल ल्याउदा भारुमा खरीद गरीरहेको छ ।
अहिले ३० लाख ब्यारेल तेल किन्न रुससँग भारतले भारुमै लेनदेन गर्ने तय भएको छ । यसले भारतीय रुपैयाको मुल्य बढ्ने देखिन्छ । अर्कोतिर रुसबाट सिधै सस्तोमा तेल ल्याउने भएकाले भारतलाई अर्बौ डलर फाईदा पुग्ने निश्चित छ । अमेरीकी प्रतिवन्धको नाममा भारतले आफ्नो एक अर्ब ३० करोड उपभोक्तालाई महंगीको मारमा पार्न चाहँदैन ।
यही कारण अमेरीकाको चेतावनीका बाबजुद भारतले ईरानबाट तेल किनिरहेको छ र अब रुसबाट पनि तेल किन्ने छ त्यो पनि सस्तोमा । डलरको भुक्तानी प्रणालीको विकल्प खोजिनु भविष्यमा अमेरीकी आर्थिक प्रभुत्वको कमी हो । अर्को रुससँग चीनले पनि तेल, ग्यास, गहूँ खरीद गरीरहेको छ । दुई देशको भुक्तानी प्रणाली पनि रुबेल र युआन मुद्रामा भईरहेको छ ।
यूरोपमा तेल ग्यास प्रतिवन्ध लाग्दा अब रुसका लागि विकल्प चीन र भारत नै हुने देखिन्छ । यसले चीनीया मुद्राको अन्तराष्ट्रिय हैसियत बलियो बनाउदै लाने छ । यो पनि डलर साम्राज्यमा एक ठूलो चुनौती हुनेछ । अहिले पनि अन्तराष्ट्रिय मुद्रामा युआन चौथो हैसियतमा छ । चीन पनि एक अर्ब ४५ करोेड जनसंख्यालाई आपुर्ति गर्न तेल, ग्यास र अन्य बस्तु रुसबाट ल्याउनै पर्ने अवस्थामा छ ।
यसले रुसमाथि पश्चिमाहरुको प्रतिवन्धको असर पनि कमी हुनेछ । अर्कोतिर चीनले साउदी अरबबाट पनि तेल खरीद गर्दा युआनमा भुक्तानी दिने बिषयमा गंभीर छलफल गरीरहेको छ । साउदी अरब विश्वमा तेल उत्पादन गर्ने पहिलो राष्ट्र हो ।
युरोपले यदी रुसी तेल र ग्यास नलिने नै हो भने उनीहरुसँग साउदी वा खाडी राष्ट्रबाट मात्र हुने निर्यातले उनीहरुको बजार धान्न सक्दैन ।
यूरोप आफैसँग तेल र ग्यासको ठूलो भण्डार नभएकाले अमेरीकाले पनि लामो समय सम्म आपुर्ति धान्न सक्ने देखिँदैन । धाने पनि त्यो युरोपम्म आईपुग्दा निकै महंगो हुनेछ । यसले युरोपेली अर्थतन्त्र थप संकटमा पर्नेछ । अतः जुनसुकै बेला भए पनि दैनिक ७० लाख ब्यारेल सम्म तेल निर्यात गर्ने रुससँग संसारकै सबै भन्दा धेरै बिशाल प्राकृतिक ग्यासको भण्डार छ जसलाई उपयोग नगरे दीर्घकालमा युरोपमा कठ्याग्रिने चिसो कटाउन मुस्किल हुनेछ ।
यसरी हेर्दा रुस युक्रेन युद्धले तत्काल अमेरीकालाई रक्षा उपकरण बेचेर फाईदा भए पनि भविष्यमा चीन, भारत जस्ता ठूला उपभोग शक्ति र जनशक्ति भएका राष्ट्रहरुले फाईदा लिनेमा दुईमत छैन । यसले चीन र भारतबीच पनि तत्काल युद्ध हैन सहकार्यको बाटो कोरिनेछ । चीनलाई अमेरीकाले लद्धाखमा भारतसँग लडाउने वा ताईवानसँग प्रशान्त महासागरमा लडाउने भन्ने विष्लेषण गरीरहेका छन् ।
अमेरीकाको लागि भारत भन्दा एशिया प्रशान्त क्षेत्रमा ताईवान आफ्नो चंगुलमा बसिरहनु फाईदा हुने हुनाले उसले त्यता तर्फ बढी नजर लगाउन सक्छ । त्यो अवस्थामा चीन र भारत चाँही सीमा विवादलाई थाँती राखेर आर्थिक मोर्चामा सहकार्य गर्न सक्छन् ।



















