क्वालालम्पुर (मलेसिया):= मलेसियामा कार्यरत स्वदेशी तथा विदेशी श्रमिकलाई जबर्जस्ती श्रम गराउने, श्रम शोषन गर्ने रोजगारदाता, कम्पनी विरुद्ध श्रम विभागको छापा हानेको छ। बिहीबार श्रम विभाग मलेसिया (जेटीकेएसएम) ले मलेसियाको समुन्द्री द्वीप लाबुवान लगायतका स्थानमा पुगेर छापा हानेको हो ।
मलेसियाले जबर्जस्ती श्रम र मानव बेचबिखन विरुद्ध ‘अप्स ब्यान्टेरास’ नामक राष्ट्रव्यापी मेगा अपरेशन सुरु गरेको छ । उक्त अप्स ब्यान्टेरास अपरेसन अन्तर्गत बिहीबार विभिन्न कम्पनीमा छापा हानेर रोजगारदाता विरुद्ध मुद्दा चलाउन लागिएको स्थानीय सञ्चार संस्था बरनामाले उल्लेख गरेको छ ।
जेटीकेएसएमका उपमहानिर्देशक मोहम्मद अस्री अब्द वहाब अनुसार क्वालालम्पुरमा आसपास छापा हानिएको थियोे । जसअनुसार बिहान ६ बजे वाङ्सा माजुमा निर्माण स्थल र चेरासको बन्दर टुन रजाकमा रहेको खुद्रा आउटलेटमा बिहान ९:३० बजे छापा मारेको उनलेे बताए।
दुवै परिसरमा १ सय ३४ जनाकामदार रहेकोमा १२४ जना विदेशी र १० जना स्थानीय कामदार रहेको उनले बताए । उनका अनुसार रोजगार ऐन १९५५ विपरीत कामदारहरुलाई काममा लगाएको, उचित आवास तथा अन्य सुविधाको समेत कम्पनीले व्यवस्था नगरेको पाईएको छ ।
न्युनतम मापदण्ड पनि पालना नगरेका ती कम्पनी विरुद्ध जरिवानासहितको कारबाही प्रक्रिया अगाडि बढाईएको समेत उल्लेख गरिएको छ । Source : Bernama



















