श्रीलंकामा १० लाख नयाँ रोजगारीका अवसर सिर्जना गर्ने योजना सार्वजनिक।

कोलोम्बो:= श्रीलंका सरकारले ‘श्रीलंकाका लागि आशा’ नामक कार्यक्रममार्फत् युवाका लागि १० लाख नयाँ रोजगारीका अवसर सिर्जना गर्ने योजना सार्वजनिक गरेको छ । देश कोरोना भाइरस (कोभिड–१९)को महामारीबाट सामान्य अवस्थामा फर्कने विश्वाससहित महामारीबाट प्रभावित अर्थतन्त्रलाई सुधार गर्न र युवाहरूमा आशाको सञ्चार गर्न सरकारले यो कार्यक्रम ल्याउन लागेको खेलकुद तथा युवा, विकास सहजीकरण तथा अनुगमन मन्त्री नमलाल राजपाक्षलाई उद्धृत गरी जनाइएको छ।

‘श्रीलंकाको आशा’ कार्यक्रम मे महिनामा शुभारम्भ गरिने र देशका नौवटै प्रदेशलाई समेट्ने उहाँले बताउनुभएको छ । रोजगारी खोज्ने, उद्यमी, वैदेशिक रोजगार अभिकर्ता, सीप विकास, व्यावसायिक तालिममा सलग्नलाई एक छानामुनि ल्याइने रोजगारीको अभावको दिगो समाधान प्रदान गरी युवालाई अन्य आयआर्जनका अवसरमा परिचित गराई मुलुकको आर्थिक विकासमा योगदान पुर्‍याउने कार्यक्रमको उद्देश्य रहेको बताउनुभयो । सरकारी र निजी दुवै क्षेत्रमा रोजगारीका अतिरिक्त दक्ष कामदारका रूपमा युवालाई विदेश जान वा उद्यमीका रूपमा नयाँ व्यवसाय सुरु गर्न आग्रह गरिने मन्त्री रावापाक्षले बताउनुभयो ।