[ डिबी शर्मा ]
काठमाडौं:= गायक तथा संगीतकार प्रकाश सपुतले हालै सार्वजनिक गरेको गीतलाई लिएर व्यापक टिका-टिप्पणी भइरहेको छ । सपुतको ‘पिर’ शीर्षकको गीतको समर्थन र विरोधमा सामाजिक सञ्जाल रंगिएको छ ।
तत्कालीन माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र युद्धको कथा समेटिएको गीतले युद्धले ल्याएको परिवर्तनलाई सम्मान गरेको छ । युद्धमा योगदान गरेकाहरूको पीडामा केन्द्रित गीतले उनीहरूले भोग्नुपरेको वर्तमानको पीडा दर्शाउन खोजेको छ । तर, सपुतको पिरले केहीलाई पिरोलेको छ । खासगरी माओवादी पृष्ठभूमिका कमरेडहरूलाई बढी पीर परेको छ ।
समर्थन गर्नेहरूको संख्या धेरै देखिए पनि माओवादी केन्द्रका नेता-कार्यकर्ता र माओवादी पृष्ठभूमिका कतिपयले चर्को विरोध गरिरहेका छन् । उनीहरूलाई सपुतको पिर गीतले निकै पिरोलेको छ । उसो त पूरै गीतमा उनीहरूको विरोध छैन । गीतको एउटा दृश्यप्रति माओवादी पृष्ठभूमिकाहरूको आपत्ति छ ।
१६ मिनेटको गीतमा ९ मिनेटदेखि १० मिनेटसम्मको भिडियोमा जनयुद्धमा होमिएकी महिला देहव्यापारमा लागेको देखाइएको छ । त्यसैमा माओवादीहरूले विरोध गरेका हुन् । एउटी महिला छापामारले अभावमा देहव्यापारमा लागेको जसरी चित्र गरिएको छ, त्यसले समग्र जनयुद्ध लडेका महिलाहरूको अपमान भएको माओवादी कार्यकर्ताहरूको बुझाइ छ ।
कलाले कल्पना गर्छ । समाजका चित्र देखाउँछ । तर, कलासँग कमरेडहरू तर्सेका छन् । यो पहिलो पटक होइन । यसअघि पनि केही गीतलाई लिएर केहीलाई यस्तै पिरलो परेको थियो ।
युट्युबबाट हटाएर माफी माग्न चेतावनी
माओवादीका कार्यकर्ताले मात्र होइन नेताहरूले पनि गीतप्रति आक्रोश पोखेका छन् । गीत नै हटाउन चेतावनी दिएका छन् । माओवादी केन्द्रनिकट चार संगठनले तत्काल युट्युबबाट हटाएर माफी माग्न सपुतलाई चेतावनी दिएका छन् । भिडियोमा माओवादीका पूर्व-लडाकुलाई आफ्नो जीवन धान्नका लागि देह व्यापार र परस्त्रीगमनमा लागेको भ्रमपूर्ण दृश्य देखाइएको भन्दै उनीहरूले आपत्ति जनाएका हुन् ।
जनक्रान्तिका घाइते तथा अपांग योद्धा संघका इञ्चार्ज दीपेन्द्रकुमार पुन, अखिल नेपाल महिला संघ (क्रान्तिकारी)का अध्यक्ष अमृता थापामगर, जनसांस्कृतिक महासंघका अध्यक्ष मातृका पोखरेल र प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटाले संयुक्त विज्ञप्ति जारी गर्दै गीत हटाएर माफी माग्न चेतावनी दिनुभएको छ ।
चार संगठनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जनमुक्ति सेनाले गरेको योगदानप्रति अपमान गर्दै जनयुद्ध नै विदु्रपीकरण गर्न खोजिएको उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको घटनाप्रति हामी घोर आपत्ति प्रकट गर्दै तत्काल युट्युब च्यानलबाट हटाउन जोडदार माग गर्दछौँ ।’ उनीहरूले सपुतलाई कानुनी कारबाही गर्नसमेत सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
गीतले जनयुद्धको विरोध गरेको नभई अपूर्ण क्रान्तिको पीडा दर्शाएको छ : भट्टराई
माओवादी पृष्ठभूमिका पूर्व-प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गीतको समर्थन गर्नुभएको छ । हाल जसपाका संघीय परिषद् अध्यक्ष रहनुभएका पूर्व–माओवादी नेता भट्टराईले गीतले जनयुद्धको विरोध गरेको नभई अपूर्ण क्रान्तिको पीडा दर्शाएको बताउनुभएको छ । गीतका सर्जकलाई धम्काउनुभन्दा क्रान्तिलाई नयाँ ढंगले अगाडि बढाउनुपर्ने उहाँको भनाइ छ ।
‘म पनि जनयुद्धको एक अगुवा हुनुको नाताले प्रकाश सपुतको गीतमा टिप्पणी गर्ने अधिकार राख्छु र भन्छु त्यसमा आपत्ति मान्नुपर्ने कुरा छैन,’ उहाँको भनाइ छ, ‘गीतले जनयुद्धको विरोध गरेको छैन । अपूर्ण क्रान्तिका पीडा दर्शाएको छ । त्यसका निम्ति क्रान्तिलाई नयाँ ढंगले अगाडि बढाउने पो हो । गीतका सर्जकलाई किन धम्काउने ?’
तर्क बितर्क हुन्छन्, कोही उत्तेजित हुनु पर्दैन : प्रचण्ड
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गीतलाई लिएर कोही उत्तेजित हुनु आवश्यक नभएको प्रतिक्रिया दिनुभएको छ । सोमबार धनगढीमा सञ्चारकर्मीसँग पूरै गीत भने आफूले नहेरेको बताउँदै अध्यक्ष प्रचण्डले आलोचनालाई स्वाभाविक रूपमा लिनुपर्ने बताउनुभयो ।
‘महिलाले जनयुद्धको बेला वीरता र कीर्तिमान कायम गरेका कुरा पनि छन् । राज्य पक्षबाट भएका दमन र अत्याचार पनि छन्,’ दाहालले भन्नुभयो, ‘यो विषयमा उत्तेजित कोही हुनुपर्ने छैन । तर्क बितर्क हुन्छन् त्यसलाई सहज र स्वाभाविक रूपमा लिनुपर्छ । अहिले मात्र होइन सयौँ वर्षपछि पनि हुनेवाला छ ।
उहाँले आफू खाडी मुलुक जाँदा दुःखपूर्ण जीवन बिताएका लडाकुहरूलाई भेटेको समेत स्मरण गर्नुभयो । पूर्व–लडाकुहरू देशको निम्ति शान्ति प्रक्रियामा आइयो भनेर गर्व गर्ने र कत्रो सपना देखेको थिएँ माओवादीले बर्बाद पारे भन्ने दुवै रहेको उहाँले बताउनुभयो ।

प्रकाशको प्रष्टीकरण : ‘पिर’ राजनीतिक पूर्वाग्रहबाट अभिप्रेरित छैन, कसैलाई असर परे आत्मालोचना गर्छु
गायक तथा संगीतकार प्रकाश सपुतले पिर गीत राजनीतिक पूर्वाग्रहबाट अभिप्रेरित नरहेको स्पष्टीकरण दिनुभएको छ । सोमबार लामो प्रष्टीकरण दिँदै सपुतले पीरमा कुनै राजनीतिक पूर्वाग्रह, नियत र उद्देश्य नराखेको स्पष्ट पार्नुभएको छ ।
उहाँले गीतमा राखिएको दृश्यबाट कसैलाई असर पुगेको कुरामा आत्मालोचना गर्नेसमेत बताउनुभएको छ । आफूले दोहोरी साँझमा काम गर्दा थुप्रै पूर्व–लडाकुहरू भेटेको उल्लेख गर्दै सपुतले उनीहरूले गर्ने चरम निराशावादी कुरालाई आफूले डायरीमा नोट गरेको र त्यसलाई नै गीतको रूप दिएको बताउनुभएको छ ।
पिरबाट युद्धकै जग र बलमा व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नभएको कथा भन्न खोजेको उहाँको भनाइ छ। ‘आम मानिसका भोगाइ र संवेदनाहरू बुनेर भिडियो बनाएँ । प्रतीकात्मक रूपमा दृश्यहरू निर्माण गरेर बनाएको एउटा कमरेडको कथा हो पिर,’ सपुतको भनाइ छ, ‘एउटै गीतमा सबै दृष्टिकोण अटाउन सकिँदैन । पूरै बुझाइ आउँदैन ।
प्रतीकात्मक रूपमा राखिएका यस्ता दृश्यहरूले कसैको आत्मसम्मानमा असर पुग्न गएको छ भने म फेरि आत्मालोचना गर्छु ।’ भिडियो हटाउन आइरहेको दबाबमाथि उहाँले यसो गर्दा स्वतन्त्रताको अपमान हुने त होइन ? भन्दै प्रश्न गर्नुभएको छ । ‘नयाँ व्यवस्थामा मैले यति धेरै फाइदा उठाएको छु भने उनीहरूको अवस्थाको गीत किन नगाउने भन्ने हो ¤’ सपुतले भन्नुभएको छ, ‘अब भिडियो नै हटाउँदा पो युद्ध र आन्दोलन र गणतन्त्र र स्वतन्त्रताको अपमान हुने हो कि ?’
सपुतले गीत र भिडियोलाई कलाकारको कलाको दृष्टिकोणले हेर्न आग्रह गर्नुभएको छ । कसैले नियतवश उक्साएर वा कसैले निरन्तर निरुत्साहित गरेर एउटा सर्जकलाई द्विविधा नपार्न र न अल्झाउन उहाँले आग्रह गर्नुभएको छ ।




















