भिजिट भिसामा मलेसिया र युएई जान लागेका २३ जनालाई त्रिभुवन विमानस्थलबाटै फर्कायो।

काठमाडौं := त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले नेपालबाट भिजिट भिसामा दुबई र मलेसिया हिँडेका २३ जनालाई ‘शंकास्पद यात्रा’ भन्दै फर्काएको छ। त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयले ‘शंकास्पद यात्रा’ भन्दै उनीहरुलाई प्रस्थान अनुमति दिन अस्वीकार गरेको हो।

अध्यागमनले दुई दिनको अवधिमा (२४ र २५ फागुनमा) २३ जनालाई शंकास्पद यात्रा भन्दै प्रस्थान अनुमति नदिएको अध्यागमनका अधिकारीले बताए। मानव तस्करले जथाभावीरुपमा भिजिट भिसामा सर्वसाधारणहरुलाई लैजान थालेपछि गृहमन्त्रालयले कडाई गर्न थालेको छ।

अध्यागमनका अधिकारीहरुले शंकास्पद कसैलाई पनि प्रस्थान अनुमति दिएका छैनन्।  फिर्ता हुनेहरुमा दुबई हिँडेका काठमाडौंका शैर्थ कोइराला,प्रकाश कोइराला र सात्वीक कोइराला, लमजुङका आशिषनाथ अधिकारी,ठेगाना नखुलेका सबनम खातुन र आयात प्रवीन, ललितपुरकी प्रगति दाहाल, झापाका मनबहादुर पुरी, काठमाडौंकी सितल दाहाल, ओखल ढुंगाकी गीता दाहाल,लमजुङका रविन्द्र श्रेष्ठ,काठमाडौंका सुशान्त चन्द्र धुन्जु श्रेष्ठ र तनहुँका दिपक दराई रहेका छन्।

यस्तै, दुबई जाने तयारीमा रहेका अर्घाखाँचीका सिवालाल पाण्डे, भक्तपुरका डेभेन्द्र खड्का,म्याग्दीका पुर्णबहादुर गरबुजा, अर्का गुरभिन्डर सिंह,बागलुङकागज गजेन्द्र शेरचन,काठमाडौंका सुनिल प्रधान, पाँचथरका गंगा माया बानियाँ, रौतहटका प्रिन्सेस जैसवाल र सुनसरीका रामे सुनवारलाई ‘शंकास्पद यात्रा’ भन्दै प्रस्थान अनुमति नदिएको हो।

उनीहरु धेरैजसोले भिजिट भिसामा दुबई जाने तयारीमा रहेको तर गृहमन्त्रालयको मापदण्डअनुसार कागजात अध्यागमनका अधिकारीसमक्ष पेश गर्न नसकेपछि प्रस्थान अनुमति पाएनन्। केहीले भने गृहमन्त्रालयको मापदण्ड पनि पालना नगरेको, साथमा नाबालक लिएको तर अभिभावकको सहमति खुलाउने कागजात नभएकाले प्रस्थान अनुमति नदिएको अध्यागमनका अधिकारीले बताए।

यस्तै, मलेसिया हिँडेका मोरङका परशुराम चौधरीले पनि अध्यागमनका अधिकारीसमक्ष श्रमस्वीकृति पेश गर्न नसकेपछि प्रस्थान अनुमति नदिएको अध्यागमनले बताएको छ।

साभार : अन्नपुर्ण पोस्ट