चौधौं संस्करणको ‘मिस तामाङ २०२२’ को उपाधि रञ्जनाले जितिन्।

काठमाडौं:= चौधौं संस्करणको ‘मिस तामाङ २०२२’ को उपाधि सोलुखुम्बुकी रञ्जना स्याङ्बो तामाङले जित्नु भएको छ । एमडी ग्रुपको प्रस्तुति र मम्स इन्टरनेसनल नेपालले आयोजना गरेको प्रतियोगितामा १६ प्रतिस्पर्धीलाई पछि पार्दै रञ्जनाले उपाधि हात पार्नुभएको हो ।

राष्ट्रिय सभागृहमा भएको फिनालेमा ‘मिस तामाङ २०२२’ रञ्जनालाई ‘मिस तामाङ २०२१’की विजेता सफलता तामाङले ताज पहिराई दिनुभएको थियो । रञ्जनाले उपाधिसँगै एक लाख नगद तथा गिफ्ट हृयाम्पर पाउनु भयो । प्रतियोगितामा काभ्रेकी पूजा तामाङ ‘फष्ट रनर अप’ बन्दै ५० हजार नगद पुरस्कार हात पार्दा डिजी लोप्चन ‘सेकेण्ड रनर अप’ र दोलखाकी प्रकृति पाख्रिन ‘थर्ड रनर अप’ हुनुभयो । कार्यक्रममा तामाङ शैक्षिक परामर्श संघका अध्यक्ष केडी मोक्तान, डा.दिलबहादुर थोकर, ‘मिस तामाङ २०१७’की पिंकी घिसिङ, ‘मिस नेपाल २०१९’की अनुश्का श्रेष्ठ र निर्देशक राजकिङ वाइबा निर्णायक हुनुहुन्थ्यो ।

कार्यक्रमको प्रमुख अतिथि अनेरास्ववियुका पूर्वअध्यक्ष तथा सभासद नवीना लामा हुनु हुन्थ्यो । मम्स इन्टरनेसनल नेपालका अध्यक्ष रञ्जिता लामाले तामाङ भाषा, धर्म, कला संस्कृति, भेषभूषाको संरक्षण तथा प्रबद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । कार्यक्रममा गायक तथा सडक विभागका सहसचिव देवकुमार तामाङ, नेपाल सरकारका पूर्वसचिव धनबहादुर तामाङ, फ्याफुल्जी डिजिटल मिडियाका अध्यक्ष तथा फिल्म निर्देशक विनय दोङ तामाङलगायतको उपस्थिति थियो ।

कोरियोग्राफर रोजिन शाक्य र सिर्जना पाख्रिनले सञ्चालन गर्नुभएको कार्यक्रममा अभिनेता अमिर दोङ र सुश्मा मोक्तानले नृत्य प्रस्तुत गर्दा सञ्जोक योञ्जन र कुन्साङ वाइबाले गीत गाउनुभएको थियो ।