एजेन्सी अडिस अबाबा:= संयुक्त राष्ट्र संघका अनुसार इथियोपियामा खडेरीका कारण ठूलो संख्यामा नागरिक विस्थापित भएका छन् भने लाखौं पशु चौपाया मरेका छन् । राष्ट्र संघले आठ लाख ४५ हजार मानिस विस्थापित भएको जनाएको छ । उनीहरू खडेरीका कारण खाद्यान्न खोज्ने क्रममा विस्थापित हुन पुगेको राष्ट्रसंघले जनाएको हो ।
राष्ट्र संघीय प्रवक्ता स्टेफान डुजारिकले इथियोपिया सरकारले यसका लागि काम गरिरहेको भए तापनि नागरिकहरू विस्थापित हुने र त्यहाँबाट खाद्यान्न र आश्रयका लागि अन्यत्र जान क्रम बढेको बताउनुभयो ।
उहाँले १५ लाखभन्दा बढी पशु चौपाया पनि मरेको जानकारी दिनुभयो । संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी एजेन्सीले काम गरिरहेको तर आवश्यक मात्रामा उनीहरूलाई सहयोग पु¥याउन नसकिएको पनि जनाएको छ । इथियोपियाका अधिकांश क्षेत्रमा खडेरीको प्रभाव परिरहेको भन्दै ४० लाखभन्दा बढी नागरिक प्रभावित भएको बताएको छ।




















