तनहुँ := नाबालिग बालिकालाई जबर्जस्तीकरणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय तनहुँ कारागारमा रहेका अभिनेता पल शाहलाई पूर्वी नवलपरासीको गैंडाकोट लगिएको छ। नाबालिग बालिकाले आफूमाथि पूर्वी नवलपरासीमा पनि जबर्जस्तीकरणी गरेको मुद्दा दायर गरेपछि अनुसन्धानका लागि प्रहरीले अभिनेता शाहलाई मंगलबार तनहुँबाट गैंडाकोट लगेको हो ।
मुद्दाको अनुसन्धानका लागि आरोपितलाई तनहुँबाट झिकाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डिएसपी दिलिप गिरीले जानकारी दिनुभयो । बलात्कार मुद्दामा तनहुँ प्रहरीले पनि दोस्रो पटक १२ दिनको म्याद लिएर शाहमाथि अनुसन्धान गरिरहेको छ । बुधबार जिल्ला अदालतबाट हिरासतमा राखि म्याद अनुमति लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइने डिएसपी गिरीले बताउनुभयो ।
१६ फागुनमा ती किशोरीले इलाका प्रहरी कार्यालय गैंडाकोटमा किटानी जाहेरी दिएपछि भरतपुर अस्पतालमा किशोरीको स्वास्थ्य परीक्षण गरिएको थियो । बलात्कार मुद्दामा अनुसन्धान गर्न आरोपित शाहलाई पठाइदिन भन्दै पूर्वी नवलपरासी प्रहरीले गत आइतबार तनहुँ प्रहरीलाई पत्राचार गरेको थियो ।
गैंडाकोटमा गीत छायांकनको क्रममा गत वर्ष ७ चैतमा एक रिसोर्टमा राखेर आफूलाई बलात्कार गरेको किशोरीले किटानी जाहेरी दिएकी थिइन् ।




















