काठमाडौं:= रुस-युक्रेन द्वन्द्वबाट प्रभावित पाँच सय ६२ जना नेपालीहरू सुरक्षित स्थानमा पुगेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले रुस-युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माका अनुसार युक्रेनबाट नेपालीहरू सुरक्षित स्थानको खोजी गर्दै पोल्यान्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावालगायत देशमा पुगेका छन् । हालसम्म पोल्यान्डमा चार सय ४३, स्लोभाकिया ७८, रोमानियामा २४, हंगेरीमा १३ र चारजना माल्दावामा पुगेको एनआरएनएले जनाएको छ ।
युक्रेन युद्धबाट विस्थापित भई विभिन्न देशका सीमाबाट निस्किएका नेपालीहरू सुरक्षित बसोबास र भविष्यका लागि तेस्रो मुलुकतिर लागेको बताइएको छ । तीमध्ये करिब चार दर्जन नेपाली एनआरएनए पोर्चुगलको सम्पर्कमा पुगेको संघका महासचिव राजकुमार थापाले जनाकारी दिनुभयो । थापाका अनुसार ती नेपालीहरूलाई एनआरएन पोर्चुगलले आवश्यक कानुनी तथा व्यावहारिक विषयमा सुझाव र सहयोग प्रदान गर्दै आएको छ ।
यसैबीच युक्रेनको खारकिभ शहरमा अलपत्र कमल पोखरेलसहित छजनाको समूह सुरक्षितरूपमा पोल्यान्डको सीमा क्षेत्रमा पुगेको उच्चस्तरीय समितिका सदस्य–सचिव डा. चिरञ्जीवी खड्काले जानकारी दिनुभयो । यसअघि उद्धार र राहत कार्यमा समन्वय गर्न जर्मनीस्थित नेपाली राजदूत रामकाजी खड्काको अध्यक्षतामा र एनआरएनएका उपाध्यक्ष डा. बद्री केसीको संयोजकत्वमा गठित एक उच्चस्तरीय समिति सक्रिय रहेको छ । युद्धबाट विस्थापित नेपालीहरूको उद्धारका लागि राजदूत खड्का, एनआरएनए अध्यक्ष कुमार पन्त सीमा क्षेत्रमा आफैँ खटिनुभएको थियो ।
युक्रेनबाट विस्थापितलाई नेपाली समुदायकै सहयोगमा विभिन्न स्थानमा खान, बस्न र सामान्य उपचारको बन्दोबस्तसमेत गरिएको बर्लिनस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासले युक्रेनबाट निस्केका नेपाली नागरिकलाई भारत सरकारबाट सञ्चालित उडानमार्फत् नेपाल पठाउन आवश्यक पहलसमेत भइरहेको जनाएको छ ।




















