मतपत्रको रङ हरियो बनाउने निर्वाचन आयोगको निर्णयप्रति केपी ओलीले जनाए आपत्ति।

काठमाडौं;= पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले निर्वाचन आयोगले मतपत्रमा निर्वाचन चिन्ह हरियो राख्न किन खोजेको हो भन्दै प्रश्न गर्नुभएको छ  । निर्वाचन आयोगले सोमबार पत्रकार सम्मेलन गरी मतपत्रमा निर्वाचन चिह्न हरियो रङको हुने बताएको थियो । ओलीले मंगलबार नेपाल महिला संघले बसन्तपुरमा आयोजना गरेको कार्यक्रममा निर्वाचन आयोगले के कारणले त्यस्तो चिन्ह राख्न खोजेको भन्दै त्रुटि सच्याउन माग गर्नुभएको छ ।

‘निर्वाचन आयोगको मतपत्रका चिन्हहरूमा हरियो राख्ने भयो अरे । हरियो चिन्ह किन राख्ने ? के कारणले राख्ने ? निर्वाचन आयोगले बताउनुप¥यो । हो कि होइन उहाँहरूलाई सोध्न भ्याएको छैन । म व्यस्त  छु । यदि हो भने के कारणले हो ? धार्मिक हिसाबले राख्ने हो ? कसैको हरियो देखिने चिन्ह छ भनेर हो कि ? केका लागि राख्ने?,’ ओलीले प्रश्न गर्नुभयोे, ‘सबैतिर जनता नै आँखा नदेख्ने, कमजोर आँखा भएकाले हरियो रूखैरूख देखोस् भनेर हरियो राख्ने हो कि ?

यदि होइन भने लेख्ने सञ्चार माध्यमले त्रुटि सच्याउनुपर्छ । आयोगले गरेको भए यस्तो त्रुटि सच्याउनुपर्छ ।’ सोमबार आयोगले आगामी स्थानीय निर्वाचनको तयारीबारे पत्रकार सम्मेलन गर्दा हरियो चिन्ह प्रयोग गर्ने बताएपछि एमाले अध्यक्ष ओली आक्रोशित बन्नुभएको हो । अहिले आयोगले निर्वाचनसम्बन्धी छपाइ सामग्री, निर्वाचन प्रचारप्रसार सामग्री, निर्देशिका, फारम आदि छपाइका लागि छापाखाना, सामग्री ढुवानी व्यवस्थापनका लागि हेलिकप्टर, ट्रक तथा कुरियर सेवा लिन सम्बन्धित फर्म संस्थाहरू सूचीकृतका लागि सार्वजनिक सूचना जारी गरेको छ ।

अध्यक्ष ओलीले बढ्ता भाग्यमानीले मात्रै छोरी पाउने बताउनुभयो । उहाँले छोरी पाउनेहरूले बुढेसकालमा सहारा दिने उल्लेख गर्दै छोरीलाई स्वतन्त्र चेतनाका साथ बाच्न पाउने, उचित शिक्षा, दिक्षा दिनेतर्फ अभिभावकले सोच्नुपर्ने बताउनुभयो । अध्यक्ष ओलीले छोरीहरूका लागि सबै तहका सरकारले नीति निर्माण गर्दा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले अबका दिनमा छोरीहरूले रोजगारीका अवसर छोडे भने छोराहरूले पाउने स्थिति बन्दै जाने अवस्था सिर्जना भइरहेको पनि बताउनुभयो ।

अध्यक्ष ओलीले अहिले हरेक राज्यका अंगहरूमा नेकपा एमालेको विरुद्ध प्रयोग भइरहेको बताउनुभयो । उहाँले सभामुखको अहिलेको भुमिकाप्रति असन्तुष्टि व्यक्त गर्दै सभामुखले नियम, कानूनको पालना नगरेको आरोप लगाउनुभयो । अध्यक्ष ओलीले अब जनादेशको लागि तयारी गर्ने भूमिकामा लाग्न अखिल नेपाल महिला संघसहित सम्पूर्ण महिलाहरूलाई अनुरोध गर्नुभयो ।