झापा गोल्डकप: थ्रिस्टारलाई २-० गोलले हराउँदै संकटा सेमिफाइनलमा।

झापा:= थ्रिस्टार क्लब पाँचौँ संस्करणको झापा गोल्डकपको क्वाटरफाइनलबाटै बाहिरिएको छ । उपाधिको दाबेदार मानिएको थ्रिस्टारलाई संकटा क्लबले २-० गोल अन्तरले पराजित गरेको हो । झापा गोल्डकपमा पहिलोपटक सहभागिता जनाएको संकटा भने प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

यसअघिका तीन संस्करणमा सहभागी थ्रिस्टार हरेकपटक सेमिफाइनलसम्म पुगेको थियो । तर, यसपटक संकटाले थ्रिस्टारलाई क्वाटरफाइनलमा रोक्दै उपाधि हात पार्ने लक्ष्यका साथ अघि बढिरहेको छ । प्रतियोगितामा संकटाले विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गरिसकेको छ ।

बिर्तामोड नगरपालिका-३ स्थित डोमालाल राजवंशी रंगशालामा मंगलबार भएको क्वाटरफाइनल खेलमा संकटाको जितका लागि विदेशी खेलाडी यानिक र फोडे फोफोनाले गोल गर्नुभयो । खेलको २५औँ मिनेटमा डिबक्सभित्रबाट यानिकले प्रहार गर्नुभएको गोलले पोस्टको दिशा पायो । पहिलो हाफमा १-० को अग्रता बनाएको संकटाले दोस्रो हाफमा थप एक गोल गर्‍यो।

खेलको ६३औँ मिनेटमा फोडे फोफोनाले अर्को गोल थप्नुभयो । थ्रिस्टारले भने सान्त्वना गोलसमेत फर्काउन सकेन । खेलमा थ्रिस्टारले पाएका अवसर सदुपयोग गर्न सकेन । खेलको दोस्रो मिनेटमा रितिक खड्काले डिबक्सबाट गरेको हेडर विपक्षी गोलरक्षक रोहित कार्कीले सहजै विफल बनाउनुभयो । खेलको ३६औँ मिनेटमा संकटाका सुवास गुरुङको कर्नरमा यानिकले गरेको हेडर बार नजिकैबाट बाहिरियो ।

४६औँ मिनेटमा थ्रिस्टारका रितिक खड्काले डिएरियाबाट गरेको प्रहार विपक्षी गोलरक्षकले बचाउ गर्नुभयो । खेलको ७०औँ मिनेटमा संकटाका उत्तम राईले गरेको प्रहार विपक्षी गोलरक्षक प्रिसोले बचाउ गर्नुभयो । ७५औँ मिनेटमा थ्रिस्टारका सञ्जोक राईले गरेको हेडर विपक्षी गोलरक्षकले सहजै नियन्त्रणमा लिनुभयो । खेलको म्यान अफ दी म्याच संकटाका गोलरक्षक रोहित कार्की हुनुभयो ।

उहाँले नगद नौ हजार ९९९ रुपैयाँ प्राप्त गर्नुभयो । खेलपछि भएको पोस्ट म्याच कन्फ्रेन्समा थ्रिस्टारका प्रशिक्षक रवीन्द्र शिल्पकारले लिगपछि लामो ग्यापमा मैदानमा उत्रिँदा तालमेल हुन नसकेको बताउनुभयो । त्यस्तै, विजयी टोली संकटाका प्रशिक्षक सल्यान खड्गीले खेल निकै प्रतिस्पर्धात्मक भएको बताउनुभयो ।

  • उहाँले संकटाले पहिलो हाफमा गरेको गोल नै ‘टर्निङ प्वाइन्ट’ भएको बताउनुभयो । बुधबार हुने क्वाटरफाइनल खेल विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र भारत दार्जिलिङको एमएफसिबीच हुने आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले जानकारी दिनुभयो ।