नेकपा एसको पोलिटब्युरो बैठक: केन्द्रीय कमिटीका एजेण्डा तय।

काठमाडौं:= नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक पार्टी अध्यक्ष माधवकुमार नेपालले पेश गर्नुभएको राजनीतिक प्रतिवेदन पारित गर्दै सम्पन्न भएको छ । गठन भएपछि पहिलोपटक बसेको पोलिटब्युरो बैठकमा अध्यक्ष नेपालले पेश गर्नुभएको पार्टीको संगठनात्मक अवस्था, एमसिसी पारित गर्नुका कारण, घटनाक्रम र विवरणहरू समेटिएको प्रतिवेदन बैठकमा पेश गर्नुभएको थियो ।

प्रतिवेदनमाथि ३७ जना पोलिटब्युरो सदस्यले आफ्नो धारणा राख्नुभएको थियो । प्रतिवेदनमाथि आएका सुझावहरूसहित २५ गतेबाट सुरु हुने केन्द्रीय कमिटी बैठकमा पेश गरिने नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभएको छ ।

पोलिटब्युरोको बैठकले केन्द्रीय कमिटीमा प्रस्तुत हुने एजेण्डा अनुमोदन गरेको जानकारी दिँदै खतिवडाले भन्नुभयो, ‘पार्टी अब आसन्न स्थानीय तहको निर्वाचनमा केन्द्रित हुन्छ ।’ यस्तै, बैठकमा आगामी स्थानीय तह निर्वाचनमा गठबन्धनबाटै चुनाव लड्ने र संगठनात्मक तयारीका विषयमा पनि छलफल भएको प्रवक्ता खतिवडाले जानकारी दिनुभयो । प्रवक्ता खतिवडाले कार्यकर्ताहरूलाई एकतावद्ध बनाएर आसन्न स्थानीय तहको निर्वाचनमा परिचालन गर्नु नै पार्टीको अहिलेको मुख्य काम भएको बताउनुभयो ।

यसैबीच अध्यक्ष नेपालले आसन्न स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले ठूलो सफलता प्राप्त गर्ने दाबी गर्नुभएको छ । उहाँले सोमबार रामेछाप जिल्लाबाट विभिन्न पार्टी परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गर्नेहरूलाई काठमाडौंमा स्वागत गर्दै यस्तो दाबी गर्नुभएको हो । पार्टीले आगामी चुनावमा केन्द्रीत भएर टोल-टोलमा संगठन विस्तार र परिचालनमा लागेको पनि उहाँले बताउनुभयो ।

अध्यक्ष नेपालले भन्नुभयो, ‘हामी आगामी चुनावको तयारीलाई फोकस गरेर, केन्द्रबिन्दूमा राखेर त्यसको निम्ति प्रत्येक पालिका-पालिकामा राम्रो तयारीको काममा जुट्दै, कमिटी बनाउँदै, वडा, टोलटोलमा पनि पार्टीको कमिटीहरूको विस्तार गर्दै चुनाव सम्बन्धी परिचालन कमिटी पनि हामी बनाउँदै जानेछौँ । जो जोसँग हाम्रो तालमेल मिल्नेछ, तालमेल मिलेर हामी चुनावमा अत्याधिक ठूलो सफलता हासिल गर्ने विश्वासका साथ जुटिरहेका छौँ ।’