प्रदेश नं १ को नाम “कोशी प्रदेश” राख्न एमाले अध्यक्ष ओलीको सुझाव।

‘प्रचण्डले आफ्नो चिनामै सिद्धिने ग्रह बोकेका छन्, माओवादी अब सकिन्छ’

[ पार्थ मण्डल ] 

झापा:= प्रदेश नम्बर . १ को नाम राख्न सत्ता गठबन्धनलाई सकस भइरहेको बेला नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रदेश १ को नाम ‘कोशी प्रदेश’ राख्न सुझाव दिनुभएको छ । शनिबार झापाको बिर्तामोडमा आयोजित प्रेस चौतारी नेपाल प्रदेश १ को प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उहाँले अहिलेसम्म १ नम्बर प्रदेशको नामकरण गर्न नसक्नु र किन कोशी प्रदेश राख्नुभएन भनेर आश्चर्यसमेत व्यक्त गर्नुभयो।

प्रदेश १ मा बहुमतको सरकार हुँदा तत्कालीन प्रधानमन्त्री ओलीले प्रदेशको नामकरण नदीको नामबाट राख्न निर्देशन दिइसक्नु भएको थियो । बहुमतको सरकार हुँदासमेत प्रदेशले नाम नपाइरहेको अवस्थामा ओलीले फेरि कोशी नदीकै नामबाट प्रदेशको नाम राख्न सुझाउनुभएको हो । उहाँले भन्नुभयो, ‘कोशीभन्दा पुरानो र ऐतिहासिक अरू कुनै सभ्यता छैन, साझा पहिचान झल्काउने यही नाम नै उपयुक्त हो ।’ उहाँले जातीयताको आधारमा नाम नराख्न पनि आग्रह गर्नुभयो ।

‘किरात नाम राख्दा अन्य समुदायमा चोट पुग्नसक्छ वा अन्यको भावना समेटिन नसक्ने भन्दै जातको आधारमा पहिचान खोज्नु हुँदैन,’ उहाँको भनाइ थियो । त्यस्तै, अर्को प्रसंगमा बोल्दै अध्यक्ष ओलीले नेपाली कांग्रेस एमालेसँग लड्ने पाँच घटकमध्ये एक भएको टिप्पणी गर्नुभयो । ओलीले दाबी गर्दै भन्नुभयो, ‘वर्तमान गठबन्धन मध्येका कसैले पनि आगामी चुनावमा एमालेसँग एक्लै मैदानमा भिड्ने आँट गर्न सक्दैन ।’

प्रचण्डप्रति कटाक्ष प्रहार गर्दै ओलीले भन्नुभयो, ‘एमसिसी पास गर्न नहुने हो तर एमालेले सिध्याउने भो भनेर प्रचण्डजीका कुरा सुन्छु । कहाँ एमालेले उहाँलाई सिध्याउनु । उहाँले चिनामै त्यस्तो बोकेर आउनुभयो, म के चाहिँ गर्न सक्छु ।’ यस्ता यस्तै पाराले माओवादी केन्द्र पार्टी अब केही दिनमै सकिने उहाँको दाबी थियो ।

पूर्व-प्रधानमन्त्रीसमेत रहनुभएका ओलीले जनताले भोट हाले पनि नहाले पनि माओवादी पार्टी समाप्त भएर जाने बताउनुभयो । ‘भोट हाल, भोट नहाल । खाल्डोमा सुत या भुइँमा सुत । पक्की घरमा सुत, कच्ची घरमा सुत । छाप्रो बनाएर सुत, कुटीमा बस । तर, माओवादी केन्द्र भन्ने पार्टी सिद्धिन्छ, सिद्धिन्छ । मैले यो कुरा २०५६ सालमै भनेको थिएँ,’ ओलीले भन्नुभयो, ‘१० वर्ष उग्रपन्थ माथि चढ्छ । १० वर्षपछि ओरोलो लाग्छ । १० वर्षमा लगभग सिद्धिन्छ ।’

यता, प्रेस चौतारीको कार्यक्रममा सहभागी हुन पहिला एमाले अध्यक्ष ओलीले अर्जुनधारास्थित सुखानी स्मृति पार्कमा निर्मित झापा विद्रोहका योद्धाहरूको शालिकमा माल्यार्पण गर्नुभएको थियो । ५०औँ सुखानी स्मृति दिवसको अवसरमा ओलीले झापा आन्दोलनका शहीदहरू रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ र वीरेन राजवंशीको शालिकमा माल्यार्पण गर्नुभएको थियो । उहाँले पार्कमा वृक्षारोपणसमेत गर्नुभएको थियो ।

झापा र इलामको सीमामा पर्ने इलामको माई नगरपालिका-४ सुखानी जंगललमा पञ्चायती शासकले इलाम जेल सार्ने बहानामा २०२९ साल फागुन २१ गते उनीहरूको गोली हानी हत्या गरेको थियो । २०२८ देखि २०३० सम्म झापा जिल्लामा युवा कम्युनिष्टको नेतृत्वमा चलेको सशस्त्र आन्दोलन नै ‘झापा विद्रोह’को रूपमा चिनिन्छ । केपी ओली, सिपी मैनालीहरूसँगै उहाँहरू पनि झापा क्रान्तिमा होमिनुभएको थियो । त्यसबेला केपी ओलीलाई रौतहटमा पक्राउ गरी गोलघरमा १४ वर्ष यातनाका साथ जेलमा राखिएको थियो ।

यस्तै, एमाले अध्यक्ष ओलीले कमल गाउँपालिकास्थित खयरबारीमा रतुवा नदीको तटबन्ध शिलान्यास, नेपाल खेलकुद महासंघ प्रदेश १ को प्रथम अधिवेशनको उद्घाटन र झापा गोल्डकपको उद्घाटन कार्यक्रमलाई पनि सम्बोधन गर्नुभयो । ओली शनिबार नै काठमाडौं फर्कनुभएको छ ।