काठमाडौं := कोरोना भाइरस (कोभिड-१९)को महामारीका कारण अघिल्ला दुई वर्ष हुने नसकेको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षा यस वर्ष भने प्रश्नपत्र छपाइ गरी भौतिक उपस्थितिमा हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष डा.महाश्रम शर्माका अनुसार आगामी वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन हुन लागेको एसइईको नयाँ प्रश्नपत्र छपाइको जिम्मा सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्रले पाइसकेको छ।
बोर्डका अध्यक्ष डा.शर्माले अबको १२ कक्षाको परीक्षा भने अनलाइनबाटै गरिने निर्णय भएको बताउनुभएको छ । उहाँले हिमालय टाइम्सँग भन्नुभयो, ‘यसपटक एसइई दिने पाँच लाखभन्दा बढी विद्यार्थीहरू छन्, उहाँहरूको परीक्षा प्रश्नपत्र नै छपाएर गर्ने कुरा भयो ।
धेरै विद्यार्थी भएकाले र सबै ठाउँमा अनलाइनबाट सम्भव नभएका कारणले यस पटकको एसइई प्रश्नपत्र छपाइ गरेर नै गरिन्छ । एउटै केन्द्रमा धेरै संख्यामा विद्यार्थी भएको हुनाले पनि अनलाइनबाट परीक्षा सम्पन्न गर्न नसकिने भएकाले भौतिक उपस्थितिमा परीक्षा गर्न लागेका हौं र कक्षा १२ को परीक्षा भने अनलाइनबाट गर्ने निर्णय भएको छ।’
कोरोनाका कारण २०७६ र ०७७ सालमा हुन नसकेको एसइई परीक्षाका लागि प्रश्नपत्र भने ती दुवै वर्ष छापिएको थियो । भौतिक उपस्थितिमा परीक्षा हुन नसकेपछि २०७६ सालमा छापिएको प्रश्नपत्र जलाएर नष्ट गरिएको छ भने ०७७ सालको लागि छापिएको प्रश्नपत्र बाँकी छ । आन्तरिक मूल्यांकनबाटै नतिजा प्रकाशित भएपछि अघिल्लो वर्षको प्रश्नपत्र पनि प्रयोगमा आएको थिएन ।
र, सोही प्रश्नपत्रलाई पुनःप्रयोग गर्ने-नगर्ने भन्ने विषयको निर्णय भइसकेको छ । अध्यक्ष डा.शर्मा भन्नुहुन्छ, ‘यसपटक यसअघिको प्रश्नपत्र प्रयोग गर्ने नगर्ने कुराहरू गर्नुभन्दा पनि पुरानो प्रश्नपत्र खोलेर हेर्ने गर्ने कुरा टेक्निकल्ली अप्ठ्यारो हुन्छ । कतिपय पाठ्यक्रम पनि परिवर्तन भएको छ । त्यसैले यसवर्ष नयाँ छाप्ने निर्णय भइसक्यो।’
यसपटक एसइईको लागि नयाँ प्रश्नपत्र छापिने भएपछि गतवर्षको प्रश्नपत्र अब प्रयोगविहीन बनेको छ । कोभिड-१९ का कारण दुई वर्षपछि भौतिक उपस्थितिमा हुन लागेको यसवर्षको एसइई परीक्षामा पाँच हजारभन्दा बढी विद्यार्थीले परीक्षा दिनेछन् भने सबै जिल्लामा दुई हजार परीक्षा केन्द्र तोकिएको बोर्डका अध्यक्ष शर्माले बताउनुभयो । कोरोना भाइरस महामारीकै कारण यसवर्षको एसइईको परीक्षा बोर्डले नियमित समयभन्दा एक महिना ढिलो गर्न लागेको हो ।




















