काठमाडौं := एक नाबालिक गायीकामाथी यौन उत्पीडन गरेको आरोप लागेका र प्रहरीको फरार सूचीमा रहेका नेपाली सिने जगतका अभिनेता,कलाकार पल शाहले आज प्रहरीमा आफैं उपस्थित भएर आत्मसमर्पण गर्ने भएका छन् ।
पलले आफ्नो स्वास्थ्य स्थिती बिग्रेको , घर व्यवहार मिलाउनु परेको र आफ्नो फिल्म ‘म यस्तो गीत गाउँछु’ २ रिलिज हुने बेलामा फिल्मलाई नकारात्मक असर नपरोस् भनी आफू केही दिन प्रहरीसामु उपस्थित हुन नसकेको भन्दै यसको लागि माफी पनि मागेका छन् । पलले आफ्नो भेरिफाइड फेसबुक पेजमार्फत यस्तो बताएका हुन् ।
पलले फेसबुकमा लेखेका छन् ‘नमस्कार सबैमा, मेरो आफ्नो स्वास्थ्य स्थिती बिग्रीएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म “म यस्तो गित गाउछु २” गत शुक्रबार देखी नेपाल भर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस भनि म प्रहरि सामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु । नेपालको कानुनलाई सम्मान गर्दै आज आइतबार नेपाल प्रहरि सामु म आफै उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु धन्यबाद ।
शाहविरुद्ध ती नाबालिक गायिकाले गत बुधबार तनहुँ स्थित प्रहरी चौकीमा जाहेरी दिएकी थिइन् । शाहविरुद्ध अभियोग पुष्टि भएमा १० देखि १२ वर्षसम्म जेय सजाय हुनेछ ।




















